Apr 1, 2011

निरुत्तर उत्तर

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


मैनाका श्रीमान रोजगारको सिलसिलामा बिगत २-३ बर्षदेखि बिदेशमा छन्। एउटा छोरो छ, जो भर्खरै स्कुल जान शुरु गरेकोछ। घरमा बृद्ध सासु ससुरा पनि छन्। नजिकै जेठाजु-जेठानीको घर पनि छ तर संबन्ध राम्रो छैन। सम्पत्ती अंशबण्डामा फुटेको उनीहरुको मन कैले जोडिएन। मौका मिल्ना साथ मैनाको बिरुद्धमा उत्रिहाल्छन्।

गाऊँमा एक शिक्षक छन- देव कुमार। मैनाको छोरो सोही स्कुलमा पढ्छ। छोरालाई स्कुल पुर्याउन लिन जाने क्रममा शिक्षकसंग मैनाको चिनाजान हुन्छ। मैनाको घरको बाटो हिंड्दा बोलाएर जाने गर्छन्। कहिलेकाँही मैनाले चिया खाएर जान गरेको आग्रह स्विकार पनि गर्छन्। तर देव कुमार सर आएको चालपाए पछि जेठानीले चियोचर्चो गर्न गरेको मैनालाई थाहा हुन्छ तर उनी वास्ता गर्दिनन्। नबिराउनु नडराउनू भनेर।


एक दिन मैनाको घरमा केही युवाहरु देखा पर्छन्। “हामीहरु नया सत्ताका मानिसहरु हौ। देशलाई सामन्तवाद, शोषण र अत्याचारबाट मुक्त गर्न यूद्ध लडिरहेकाछौं। हाम्रो थप परिचय दिन नपर्ला। हामीले सुन्यौ तपाँइका श्रीमान वैदेशिक रोजगारमा हुनुहुन्छ र राम्रो कमाइ गर्नु हुन्छ रे। निश्चतरुपमा तपाँईहरु हामीलाई सहयोग गर्ने हैसियतमा हुनुहुन्छ”।

यिनीहरु को हुन् भनेर मैनाले चिनिहालिन्। भित्र भित्र डर पनि लाग्यो। “हामी के सहयोग गर्न सक्छौं र। बिदेश जांदा ऊहाँले लिनु भएको ऋण आधा पनि तिरी सकिएको छैन।काम पनि राम्रो मिलेको छैन रे”। मैनाले असमर्थता ब्यक्त गरिन्।

“जनयूद्धलाई तपाँईहरुले जसरी पनि सहयोग गर्न पर्छ। तपाँईहरु जस्ताकै सहयोगले हाम्रो यूद्धले यो उचाइ हासिल गरेको हो। हामी दुई हप्ता पछि आउनेछौं। तपाँईको श्रीमानलाई सम्पर्क गर्न पर्छ भने गर्नूस्। तर पचास हजार रुपियाँ तयार पारेर राख्नूहोला” ।

ती युवाहरु त गए तर मैनाको लागी प्रशस्त डर र चिन्ता छोडेर गए। ऊनीहरुलाई चन्दा नदिंदा के के गर्न सक्छन भन्ने कुरो मैनाले सुनेकी थिईन्। यो कुरा मैनाले देव कुमार सरलाई समेत भनिन् र सल्लाह मागिन्।

“यस्ता कुराहरुको डटेर सामना गर्नु पर्छ। जनयूद्धको नाममा जनताहरुलाई दू:ख दिनेहरुको बिरोध गर्न पर्छ”। देवकुमार सरको स्वरमा प्रतिरोध थियो। उनले मैनालाई चिन्ता नलिन सल्लाह दिए। तर चिन्ता नलिनू कसरी। दुई घण्टाको बाटो पैदल हिंडेर गई श्रीमानलाई खबर गरिन्। उताबाट श्रीमानको लाचार जवाफ आयो। पहिलेको जागीर छुटेर बेरोजगार पो भएका रहेछन्।

ठिक दुई हप्ता पछि ती जनयद्धवालाहरु आए। कता कता देवकुमार सर पनि ठ्याक्क त्यँहा आईपुगेछन्। देवकुमार सरको ऊनीहरुसंग ठूलो वादविवाद चल्यो। मैनाले धेरै कुराहरु बुझिनन् तर तिनीहरु चेतावनी दिएर गए। “हामीलाई सहयोग नगर्ने, गर्न नचाहनेहरुलाई हामीले प्रतिगामी कित्तामा राख्नेछौ र प्रतिगामीहरुले नराम्रो परिणाम भोग्न पर्नेछ”।

केहि महिना बित्यो। खास त्यस्तो केही घटना घटेन। तर जेठानी दिदीले देव कुमार सरसंगको मैनाको हिमचिम बढेको कुरो फुक्दै हिंड्न थालेकीथिईन्। अंशबण्डा देखिको रीस छंदैथियो र कसरी हुन्छ, कुनै निहूँमा मैनाको हुर्मत लिनु थियो। त्यस्ताको मुख के लाग्नु भनेर मैनाले कुनै प्रतिकार गरिनन् बरु चुपचाप सहेर बसिन्।

एक दिन मैनाको छोरो सिकिस्त बिरामी भयो। गाउमा धामीझाँक्रीले बिसो पार्न सकेनन्। देव कुमार सरले छोरालाई सदरमुकामको अस्पतालमा लिएर जाने सल्लाह दिए। “सासु ससुरा बृद्ध, म एक्ली महिलाले कसरी छोरालाई सदरमुकाम लिएर जाने होला”। मैनाले चिन्ता ब्यक्त गरिन्।

“मैना, मेरो पनि शिक्षा कार्यालयमा केही काम छ। त्यसैले सदरमुकाम जानु पर्नेछ। म पनि तपाँईसंगै जाऊँला। चिन्ता नमान्नूहोला”।

‘उसै त जेठानी दिदीले देव कुमार सरसंगको संबन्धको हल्ला फिंजाएकीछिन्। अव उनैसित सदरमुकाम जाने हो भने त के होला। गाऊँ फर्केर न आए पनि हुन्छ। तर छोराको स्वाश्थ्यको कुरा छ। आ जे त होला, कुरा काट्नेको मुख थुन्न सकिदैन’। देवकुमार सरसंग सदरमुकाम जाने निधो गर्छिन्।

दुई दिन जति छोरालाई अस्पताल राखेपछि डाक्टरले डिस्चार्ज गरिदिन्छ। मैना घर आईपुग्दा आँगनमा ठूलो कचहरी चलिरहेकोहुन्छ। आँगनमा जेठाजु-जेठानी, सासु-ससुरा, गाँउ सरकारका मान्छेहरु र पहिले जनयूद्धका लागि भनेर चन्दा माग्न आउनेहरु सबै थिए।

छोराको उपचारको बहाना बनाएर मैना र देव कुमार मास्टर मोजमस्ती गर्न गएका आरोप लगाईन्छ। “यिनीहरुको पहिले देखिकै लसपस मेरो आँखाले देखिरहेको थिंए, तर आफ्नो आङको छारो आफैं के ऊडाउनु भनेर चुप लागकी थिँए।“ जेठानी दिदीले मच्ची मच्ची आरोप लगाउछिन्। मैनालाई चरित्रहिन, समाजको कलंक भएको आरोप लगाईन्छ।

जन सरकारका मान्छेहरुले फैसला गर्छन। "मैना र देवकुमारबिच अनैतिक सम्बंध रहेको कुरो हाम्रो जनसरकारमा पहिले नै उजूरी परेको थियो र हामीले निगरानी गरिराखेका थियौं। अहिले छोराको उपचारको निहूँमा एउटी बिबाहित महिला परपुरुषसंग एक्लै शहर जानुले त्यो पुष्टी गर्छ र यसलाई हाम्रो पार्टी घोर बिकृति र अपराध ठान्दछ। समाजका यस्ता बिकृति, बिसंगति र चरित्रहिनता बिरुद्ध लड्ने हाम्रो पार्टीको निति अनुसार मैना र देवकुमारलाई श्रीमान र श्रीमतिको रुपमा रहन हाम्रो जनसरकार आदेश दिन्छ।हामीले मैनाको श्रीमानलाई खबर गरिसकेकाछौ।"

मैना आफ्ना बृद्ध सासु ससुरा तिर सहयोगको याचनाले हेर्छिन् तर उनीहरुले अर्कैतिर मुन्टो बटार्छन्। मैना अकस्मात पर्न आएको बिपत्तीले बिचलित हुन्छिन्। आफू मुनिको जमीन भा्स्सिएको महसुस हुन्छ। अकास पनि फनफनी घुमेको जस्तो लाग्छ।

“यो गलत हो। मैना र म बिच त्यस्तो कुनै अनैतिक संबन्ध छैन” देवकुमार चिच्याउँछ। देवकुमारसंग पहिला वादविवाद गर्ने ती क्रान्तिकारीहरु देवकुमार माथि खनिन्छन्। “साले प्रतिगमनकारी, सरकारी सुरागीवाला, तैंले हाम्रो महान जनयूद्ध बिरुद्ध षडयन्त्र गर्ने, मानिसहरुलाई हाम्रो बिरुद्ध भड्काउने?” आरोपसंगै लठ्ठी, लात, घूसा बर्सिन्छ।

मैनाको बिरामी छोरो डरले मैनासंग लपक्क टाँसिन्छ। तर जेठानी दिदीले छोरो खोसेर लैजान्छे। मैनालाई भुत्ल्याएर लछारपछार गरिन्छ। देवकुमार र मैनालाई जबर्जस्ती एउटा कागजमा सही गराईन्छ जसमा उनीहरु बिच अनैतिक सम्बन्ध भएको कुरा स्विकार गरी श्रीमान श्रीमतिको रुपमा बस्न मञ्जुर भएको कुरा लेखिएको हुन्छ।

मैना गाँउको प्रहरीमा उजुरी गर्न जान्छिन्। “जनसरकारवालाहरुले गरेको काममा हामी केही गर्न सक्दैनौ”। प्रहरीले लाचारी ब्यक्त गर्छ। श्रीमानलाई पनि फोन गर्छिन्। जेठानी र जनसरकारवालाहरुले पहिले नै उसको कान भरिदिईसकेको हुन्छ। मैनाले केही भन्न नपाउँदै उताबाट फोन राखिदिन्छ। मैनासंग अब निराशता बाहेक केही बाँकि रहन्न। ईज्जत, परिवार, सबै गुम्यो। अव म किन बाँचू। आत्महत्या बाहेक अरु केही बाटो देख्दिनन्। सेतीको खोंचमा हाम फाल्न मात्र के ठिक परेकी हुन्छिन्, पछाडिबाट कुनै पुरुष हातले मैनालाई च्याप्प समात्छ। त्यो देवकुमार नै हुन्छ। मैना देवकुमारको छातीमा टाँसिएर भक्कानो फुट्ने गरी रुन्छे।

“मसंगको सम्बंधले तिमीलाई बदनामी त दियो मैना, तर तिमीलाई मर्न चाँहि दिन सक्दिन। मैले तिमीलाई कहिले त्यस्तो नजरले हेरिन तर तिमी मलाई आफु योग्य ठान्छौ भने तिमीलाई जीवन भर साथ दिन तयार छु”।

मैनाबाट केही उत्तर आऊदैन। एकतमाससंग देवकुमारको छातीमा टांसिएर रोई मात्र रहन्छिन्। तर देवकुमारले मैनाको निरुत्तर रुवाइमा नै उत्तर पाईसकेको हुन्छ। तल खोंचमा सेती एक तमाससंग सुसाइरहेको हुन्छ।

6 comments :

Anonymous said...

Perfect story! It characterizes Nepalese society, present political situation and rising problems of many many house holds. Good Job Postak jee!

klmn said...

Katha lamao bhaya pai yethartha bokeko rayacha... A good piece of writing !

sapanasansar said...

उत्कृष्ठ प्रस्तुती ! जीउ नै सिरिङ्ग पो बनायो तपाईको यो कथाले ! कथा काल्पनिक भए पनि यथार्थता अंगालेको छ । नेपाली सामाजिक परिवेश सुहाउदो यो कथा ले नेपाल मा रहेको केहि नकारात्मक सामाजिक रितिरिवाज तथा चालचलन चिरफार गर्न सफल भएको छ ।
धन्यबाद तपाईको यो उत्कृष्ठ प्रस्तुती को लागी !

Anonymous said...

Good article ! You have a great power of imagination ! Keep writing.

पोस्तक श्रेष्ठ said...

प्रतिकृया ब्यक्त गर्नु हुने सबैलाई मेरो हार्दिक धन्यवाद। तपांईहरुको दुई शब्द मेरो लागि प्रोत्साहनको भकारी हुनेछ।

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP