Mar 14, 2009

मेरो एउटा सपना

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


सन् २००२ तिरको कुरो हो। अमेरिका जान भिजिटर भिजा लगाएर बसेको थिंए। उड्न केही दिन मात्र बाँकी थियो। कसैले भनिदियो, आजकल अमेरिकी अध्यागमनले प्रहरी रिपोर्ट खोज्छ, नत्र छिर्न दिंदैन भनेर। त्यो कागज चाहिने भए, अमेरिकी दूतावासले पहिले नै माग्न पर्ने हो, तर मागेको थिएन। अमेरिकाको भिजा लाग्नु भनेको ठूलो कुरो पो हो त, त्यत्रो टाढा पुगिसकेपछि पनि छिर्न दिएन भने बर्बाद भएन भने जस्तो लाग्यो। यसको वास्तविक्ता के हो बुझ्नतिर नलागी, लागें, त्यो कागज जुटाउनतिर।


पहिला आफ्नो जिल्ला प्रहरी कार्यालयबाट असल चाल-चरित्रको सिफारिश लिएर आएपछि प्रहरी प्रधान कार्यलय, नक्सालले त्यो कागज् बनाईदिने रहेछ। फेरी जिल्ला प्रहरी कार्यालयले त्यो सिफारिश सिधै बनाउने होईन रहेछ। पहिला गाऊँको प्रहरी कार्यालयले अनुसन्धान गरेर सिफारिश रिपोर्ट दिन पर्ने रे! कति पक्का हाम्रो निती-नियमहरु!

मसंग समय कम थियो। पहिला सिधै आफ्नो गाविस (बछौली, चितवन) को प्रहरी कार्यालयमा गएं। त्यहाँको इन्चार्ज असई तहका रहेछन्। ऊनी चौकीमा भेटिएनन्। खोज्दै जाँदा एउटा चिया पसलमा भेटिए। उनले सिधै सिफारिश बनाउन नमिल्ने, पहिला जिप्रकाबाट पत्र आउनु पर्ने, त्यस्को आधारमा अनुसंधान गरेर मात्र उनले गर्ने नियम सुनाए। त्यसपछि म हानिएं, जिप्रका भरतपुर। चितवन जस्तो सुगम ठाउँ भएकोले हप्तौं लगाएर हिंड्न पर्ने थिएन। जिप्रका, भरतपुरको चाल-चलन फाँटका असई सापले मेरो निवेदन, पासपोर्ट सबै हेरे। यो भन्दा अघि म यूरोप, चीन समेत गैसकेको थिएँ। उनले ती सबै गहिरिएर हेरे र सोधे, “ बिदेश पहिले पनि जानु भएको रहेछ, के काम गर्नु हुन्छ,?”। आफु पर्यटन ब्यबसायी भएको र पर्यटन मेला, प्रदर्शनीहरुमा बेलाबखत जाने गरेको सुनाएँ। सायद उनलाई लाग्यो, एउटा “मूर्गा” भेटियो।

त्यसपछि उनले प्रकिया बताउन थाले। “ल श्रेष्ठजी, तपाईको निवेदन दर्ता भएकोछ। हामी अव तपाईको गाबिसको प्रहरी कार्यालयलाई पत्र काट्छौ। त्यहाँबाट तपाईको चालचलनबारे अनुसंधान गरेर पत्र आएपछि सोही मुताबिक यहाँबाट हेड क्वार्टरमा पत्र जान्छ। तपाई जानुभए हुन्छ।“

मसंग समय धेरै छैन। मेरो गाबिस प्रहरीकार्यलयलाई पत्र काट्दिनूस्, मै लिएर जान्छु र त्यहाँबाट कागज बनाएर ल्याउछु, भनें। उनले पत्र हुलाकबाट जानु पर्ने, जस्को चालचलनको अनुसंधान भैरहेको हो, उसैले पत्र बोकेर हिंड्न नमिल्ने कुरो गरे। मलाई लाग्यो, यो सबै प्रक्रिया पुरा गर्नतिर लाग्ने हो भने त महिनौं लाग्न सक्छ, जबकी मेरो उड्ने दिन नजिकै आइसकेको थियो। पैसा नखाई काम गर्देनन् भनेको त बुझेकै कुरो हो। म पनि कुनै पृथ्वीनारायण शाहको दिव्योपदेश पालन गर्ने मान्छे त थिइन। तर कुरो कसरी निकाल्ने। त्यतिकैमा ती असई साप बाहिर निस्के। म पनि पछि लागें। अलि मान्छे नभएको ठाउँतिर पुगेपछि उनले कुरो निकाल्न सुरु गरे। “ल तपाईलाई “अर्जेन्टी” परेको जस्तो छ। म यो कागजी प्रक्रिया पुरा गरेर सिफारिश आजै बनाईदिन्छु, अलि जोखीम मोल्न पर्छ। सरहरुलाई पनि हेर्न पर्छ। अलि खर्चपानी लाग्छ”। त्यसपछि मोलमोलाई शुरु भयो। म मोलमोलाइ गर्न् त्यति कला नभएको मान्छे; पसलमा पनि सामान किन्दा कुनै मोलमोलाइ नगरी पसलेले भनेको पैसा तिरेर हिंड्ने बानी भएकोले श्रीमतिजीको खप्की खानु पर्थ्यो। जेहोस्, पाँच हजार बाट बल्लतल्ल दुई हजारमा कुरो मिल्यो। त्यसपछि उसले भन्यो, “तपाई अहिले बाहिरको चिया पसलमा बसिरहनुस्, ईन्सपेक्टरले सही गर्ने बेलामा तपाई हुन पर्छ, म लिन आउछु”।

एक घन्टा जति पछि उनी आए। ईन्सपेक्टरको कोठामा गईयो। एउटा फाईल ईन्सपेक्टरको टेबुलमा राखे। उनले फाईल खोलेर मेरो नाम लिएर “तपाई हो?” भनेर सोधे। त्यसपछि उनले सर्सर्ती कागजहरु पल्टाए हेरे। एउटा कागजमा मेरो आँखा पर्यो। त्यो दिव्यनगर गाबिसको प्रहरी चौकीबाट अरु कसैको नाममा सिफारिश भएर आएको रहेछ र त्यहाँ मेरो नाम जबर्जस्ती घुसाइएको रहेछ। म पूर्व चितवन, बछौली गाबिसको मान्छे, प्रहरी रिपोर्ट भने पश्चिम चितवन, दिब्यनगर गाबिस प्रहरीचौकीको। पैसा खुवाएपछि, जे पनि गर्न मिल्रे रहेछ। ईन्सपेक्टरले सही ठोकिदिए।

त्यसपछि मलाई फेरी बाहिर गएर बस्न भनियो। एकछिन पछि ती असई साप खाम लिएर आए। बाहिर चिया पसलमा गईयो। खाम र पैसाको आदान प्रदान भयो। यति बिध्न गरेर बनाएको कागज भने बित्थाँको भयो। अमेरीकामा कतै देखाउने परेन।
नेपालमा नियम कानून, कागजी प्रक्रिया यति जटिल, झन्जटिलो बनाईएकोछ कि ईमान्दार, सोझा मान्छेहरुले केही गर्न असम्भव जस्तैछ। यी नियमहरु कर्मचारीहरुलाई घुस खाने बाटो बनिदिएकोछ र हामी जनताहरु यसमा अभ्यस्त बनेकाछौं। म आफूलाई, शिक्षित, जानेको, बुझेको ठान्दछु र पनि घूस खुवाएर काम गराउन वाध्य छु। म यहाँ एउटा प्रतिनिधी पात्र मात्र हुँ र मसंग घुस लिने प्रहरी पनि संयन्त्रका एउटा हिस्सामात्र हुन्। हाम्रो सिंगो सरकारी संयन्त्र परंपरागत र पुरानो छ र घुस खाने र खुवाउने संस्कार बनेको छ र हामी यसैमा अभ्यस्त बनेका छौं।

म कल्पना गर्छु-हाम्रो देशका जनताहरु कहिले यो जटिल झन्झटिलो सरकारी प्रकृयाहरुबाट मुक्त हुन्छन होला। मेरो सपना छ-सबै कामहरु घरबाट कम्प्यूटरबाट गर्न सकियोस्। अनलाइनबाट नागरिक्ता, राहदानीको लागि निवेदन दिन सकियोस् र हुलाकबाट ती सबै कुराहरु जनताको घर-घरमा आइपुगोस्। कुनै कामको लागि सरकारी कार्यालयको चक्कर काट्न नपरोस्। बिजुली, फोन, पानीका बिलहरुमा घर घरमा पुगून् र क्रेडिट कार्ड नभएपनि कम्तिमा चेकमार्फत भूक्तानी गर्न मिल्ने ब्यबस्था होस्। जनताहरुको नागरिक्ता, राहदानी, सम्पत्ती बिबरण, आर्थिक कारोबारको आदि सबैको बिबरण कम्प्यूटराइज्ड होस्। यसो भएमा घुस खुवाउनपर्ने अवश्थाको अन्त्य हुन्थ्यो कि?

यो प्रस्तुती को मु्ल्यांङ्कन गर्नुहोस!:



3 comments :

G1 said...

kehi mahina aagi maile eauta halldar saap lai 150 Rs khuwayara certificate 1 din mai nikaleko thiea.... Tapai le 2000 tirera pani dhukhha paunu bhayko rayachha....

Masoom said...

Nice thoughts Postak uncle.
I think it is definetly changing now but not with the pace we all want to see.
I am very positive ki haamro desh ma pani change aaucha hola, tara kahile US ko jasto everything computerized huncha don't know it might take years or even decades......

But now since you learnt the lesson just go along with the system next time you in nepal (some people might not like this idea but there are things which is good if left untouched).

I usually try to follow the wave of time, because single people is very little to make change (there is saying that single people can change things but i believe that happens once a century or so)

Masoom.

Guest said...

computerized matra garera ke garne pahile bijuli hunu paryo ni.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP