Skip to main content

मुसाहरु बिरालाको गाउँमा

राजु लामिछाने
माझठाना–६, काश्की
हालः हप्किन्स, मिन्नेसोटा

(गाईजात्रा २०६६ को उपलक्ष्यमा विशेष व्यंग्य कथा)


चारबीस काटिसकेकी मेरी हजुरआमाका कतिपय रहरहरु केटाकेटीहरुका जस्तै छन। टेलिभिजनका केही कार्यक्रमहरु कहिल्यै छुटाउनु हुन्न। धार्मिक कार्यक्रममा मन्दिर र देबी देबताहरुको तस्विर देख्दा हात जोर्ने हजुरआमाको अर्को मन पर्ने च्यानल कार्टुन च्यानल पनि हो। कार्टुनमा पनि बिरालो र मुसाको कथा उहाँलाई असाध्यै मनपर्दो रहेछ। आज त्यही बिरालो र मुसाको कथा भएको कार्टुन आउने दिन रहेछ। हजुरआमाले चस्मा लगाउँदै केटाकेटीसँगै पलेँटी कस्नु भयो। सधै होहल्ला गर्ने केटाकेटीहरु पनि शान्त भए। हजुरआमा र केटाकेटीहरुको त्यस्तो उत्सुकता देखेर म पनि उनीहरुसँगै बसेर कार्टुन हेर्न थालेँ। शिर्षक रहेछ “मुसाहरु बिरालोको गाउँमा ।”



बिरालाहरुले आफ्नो गाउँका लागि शूरुमै धेरै दु:ख गरेका रहेछन। भौतिक साधन र स्रोतले सम्पन्न बिरालाहरुका दिन शुख र मोज मस्तिमा बितिरहेका हुन्छन्। नयाँ पुस्ताहरु मोज मस्ति मै लागेकाले होला, हालै बिरालाका गाउँमा प्राबिधिक काम देखि सानोतिनो काम गर्नेहरुको अभाव बढ्दै गएको रहेछ। अरु बिकल्प पनि नभएर होला, चलाख बिरालाहरुले दुःखी मुसाहरुसँग मित्रताको हात मिलाए। गल्ति नगरुञ्जेल आक्रमण नगर्ने र आँफू समान व्यवहार गर्ने सर्तमा सक्षम मुसाहरुलाई आफ्नो गाउँमा प्रवेशाज्ञा दिने व्यवस्था गरे। बिचरा मुसाहरुलाई अरु के चाहियो। मरि मेटेर ढाँट्दै र छल्दै बिभिन्न बहानामा बिरालाको गाउँ छिर्ने लहरै चल्छ। नयाँ पुस्ताका मुसाहरुको त प्रमूख लक्ष नै बिरालाको गाउँ छिर्ने भएछ। अलिकती जान्ने र बुझ्ने हुने बित्तिकै बिरालाको गाउँ जान तर्खर गर्छन। मुसाहरुलाई बिरालाका गाउँको मोहले होला, सानै देखि आफ्नो भाषा, लवाई, खुवाई र हिडाई पनि बिरालाको जस्तै नक्कल गर्ने गर्छन। आपसमा पनि चुँ चुँ नगरि म्याउँ म्याउँ गर्न थाल्छन।

मुसाहरुको यस्तो चाला टेलिभिजनमा हेर्दा त अचम्मै देखिँदो रहेछ। हजुरआमा र केटाकेटीहरु बेसरी हाँसे। मैले पनि खित्को रोक्नै सकिन।

माउसे नाउँ गरेको मुसो कथाको प्रमूख पात्र रहेछ। स्वाभिमानी, इमान्दार र मिहेनती माउसे उसको काम र स्वभावले गाउँ मै इज्जतसाथ खुशी जीवन बिताइरहेको हुन्छ। जवान भएर पनि गाउँ मै बसेकोले होला बेला बेलामा उसका बाबुआमा, श्रीमती र केही इष्टमित्रहरुले उसलाई प्याच्च पुच्च भनि दिन्छन। सबै मुसाहरु बिरालाका गाउँको बखानै गाउँथे। हुन पनि हो, बिरालाको गाउँमा गएका प्राय सबै साथीहरुले प्रगती नै गरेको थिए। आफ्नो गाउँ छोड्ने मन नहुँदा नहुँदै पनि जोरिपारी र इष्टमित्रहरुका मुखिञ्जेल परिवारका सबैलाई खुशी राख्न माउसेले बिरालाको गाउँ जाने बिचार गर्छ। उसको बिचारको सबैले प्रशंसा मात्र हैन सहयोगै गर्छन। माउसे सजिलै बिरालाको गाउँ जान्छ। उसको परिवारमा पनि खुशीको सिमा रहँदैन।

बिरालाको गाउँ माउसेले सोचेको भन्दा धेरै फरक रहेछ। बिरालाहरुले मुसाहरुलाई कजाउनु कजाउँदा रहेछन। काम नगरे खानै नपाइने। स्वाभिमान र इज्जतको त कुरै नगरौ, रात दिन यन्त्र झै काम गर्‍यो, घण्टा गन्दा गन्दै धेरैको जीवन बित्दो रहेछ। प्राय सबै मुसाहरुको हालत एउटै रहेछ। कति मुसाहरुको त बिजोगै रहेछ। माउसेलाई गाउँ छाडेकोमा पछुतो लाग्छ। तैपनि नआउनु आइ हाले पछि अब केही दिन काम गर्नु पर्‍यो ठानी एउटा खैरो बिरालोको सेवा गर्न लाग्यो।

हजुरआमाले म तिर इशारा गर्दै भन्नु हुन्छ “परदेश जाने काम त राम्रो हैन, मान्छेहरु परदेश जाने भने पछि त्यसै ब्रुकब्रुक गर्छन”। यसरी बिच बिचमा आफ्नो तर्क राख्ने बानी छ हजुरआमाको। मन नपरे पनि उहाँको कुरा सुनिदिनु पर्छ।

बिस्तारै आफ्नो गाउँबाट आएका अरु मुसाहरुसँग माउसेको चिनाजानी हुन्छ। चाडपर्वहरुका साथै अरु ऐच्छिक पर्वहरु (पास्नी, जन्म दिवस, बिबहा दिवस आदि)को बाहनामा थुप्रै मुसाहरु भेला हुँदा रहेछन। खवर पाए र मौका मिलेसम्म माउसे पनि साथीभाईहरु भेट्ने रहरमा यस्ता कार्यक्रमहरु छुटाउदैन।

समूह समूहमा विभाजित हुने मुसाहरुको स्वभावै रहेछ। यहाँ पनि आ–आफ्नै औकात र स्वभाव अनुसारका मुसाका समूहहरु रहेछन। धेरैजसो समूहहरुमा त भेट हुने पनि बाहना मात्र रहेछ। मुख्य कुरा त एक अर्कामा फुर्ती लगाउने मौका रहेछ। रात दिन गधाले झै काम गरेर पनि फूर्सद पाउनासाथ सेर बनेर फूर्ती लगाउनु पर्दो रहेछ। पराई गाउँमा बसे पनि मुसाहरुले खुट्टा तान्ने आफ्नो पुर्खौली खेल अझै पनि भुलेका रहेनछन। पाए र भ्याए सम्म तानि हाल्छन। अरुलाई होच्याउने, कुरा काट्ने, रिस, डाह र नचाहिँदो कुरामा प्रतिस्पर्धा गर्ने बानी जीऊँका तिउँ रहेछन। यसरी मपाइँहरुकै हैकम चल्ने भएकाले होला मुसाहरुका भेटघाटहरुमा सिधा सुधाहरुको उपस्थिती न्यून हुँदो रहेछ। सार्वजनिक भेलाहरुमा पनि एक–आपसमा झगडा गर्छन, मुखै बोल्दैनन। लाग्छ सबै नशामा भुलेका छन। केही मुसा मुसीहरु त हिउँदमा छाडेका गाई वस्तु जस्तै छाडा रहेछन। अगतिला खैरा र काला बिराला बिरालीहरुसँग पनि बरालिँदा रहेछन। बिचित्रै रहेछ।

त्यस्ता अनौठा दृष्यहरु देखेर फेरी एक चोटी हामी सबै पेट मिचि मिची हाँस्यौं। हजुरआमाले भन्नु भयो “छ्या छ्या....., लाज पचेका बेइजती रहेछन बिरालाका गाउँमा बस्ने मुसाहरु त ।”

अरुको चियो चर्चो गर्ने मुसाहरुको बानी नै रहेछ। अरुको असफलतामा खिस्याउने अनि अरुको सफलतामा रिसले आफैं भुतुक्कै हुँदा रहेछन। फेरी अरुलाई यसरी होच्याउन रुचाउने मुसाहरु अरुबाट आफ्नो प्रशंसा मात्र रुचाउँदा रहेछन। जस्तैः
बँगुर जस्तो ढाडेलाई – क्या फिट बोडी यार तपाईको, तपाईको व्यक्तित्व झल्कन्छ,
हात्ती जस्ती मोटीेलाई – कस्ती राम्री देखिएकी, हाईटसँग कस्तो मिलेकोछ,
अनुहारै नपरेकी लाई – क्या राम्री, तिमी जस्ती राम्री त कोही छैन,
नमिल्दो लुगा लगाउनेलाई – वा... कस्तो सुहाएको, मलाई मन पर्‍यो,
बान्तै होला जस्तो खाना भए पनि पकाउनेलाई– क्या मिठो, तपाईको हातको जादु,
तरुनी मुसीको बुढो पोईलाई – क्या ह्याण्डसम, परफेक्ट जोडी,
आँफू भन्दा पाका उमेरकासँग – तपाई भन्दा त म नै जेठो छु /भाई, बहिनी
अनुहारमा नौ थरी पाउडर र रंग पोतेकीलाई – क्या तिम्रो त नेचुरल ब्यूटी,
साह्रै छुच्चा र अनुहार नपरेका छाउरा छाउरी – कस्ता ज्ञानी, कति राम्रा, ट्याक्कै बाबुआमा,
उत्ताउली तरुनी – गतिलो संस्कारमा हुर्केकी, शिलशोभा,
नराम्रा क्लवमा देखेको भए – कतै मन्दिरमा देखेजस्तो लाग्छ,
भूतपुर्व प्रेमी प्रेमीकासँग देखेको भए – कतै तपाईको पुरानो काममा देखेको थिएँ क्यारे,
जस्तो सुकै मुर्ख होस – तपाई त महान, क्या गजब छ तपाईको बिचार।
यस्तै यस्तै कुरा गरिदिए पछि मुसाहरु खुशीले फरुँङ्ग हुँदा रहेछन। साथीहरुको यस्तो चलन देख्दा माउसे अलमल्ल पर्छ।

हजुरआमाले “हेर हेर, कलीयूग .... ” भन्दै हुनुहुन्थ्यो। मतिजले हजुरआमालाई व्यग्य गर्दै “के भयो योङ्ग लेडी?” भनेर मजैले हँसायो। हजुरआमा पनि कुरै नबुझी हामीसँगै हास्नु भयो।

बिकसित गाउँमा सबै कुराले पुगेसरि भए पनि बिरालाहरु दुःखी रहेछन। माया र ममताको दुब्लो रहेछ। उमेर ढल्केका बिरालाहरु त झन बेसाहारा र उदासै देखिँदा रहेछन। बिरालाहरुको बुढेसकाल आफ्नै गाउँमा सुरक्षित छैन भने बिचरा मुसाहरुको बुढेसकाल कस्तो बित्ने होला? माउसेलाई कहाली लाग्छ। सधै अरुलाई सानो र आफैलाई ठूलो सम्झने बानीले होला मुसाहरुले आफ्नो गाउँ, धर्म, भाषा, संस्कृती, स्वाभिमान, आपसी सहयोग, मेलमिलापका साथै अब त आफ्नो पहिचानै बिर्सेछन। माउसेले जति पनि साथीभाई भेट्छ सबै जना आँफूलाई बिरालो भन्न रुचाउँछन भने आँफू भन्दा बाहेक मुसालाई मुसै हो। अचम्मै रहेछ सबै मुसाहरुले आँफूलाई म पनि मुसा हुँ भन्ने बिर्सि सकेछन। जुन कुराले माउसे ज्यादै दुःखी हुन्छ।

माउसेको बालसखा राउतेलाई अव रावर्ट भन्नु पर्दो रहेछ। रावर्टको परिवार पनि केही वर्ष पहिले देखि बिरालाको गाउँमा थियो। हालै शहर नजिकैको एउटा बिरालाको घर किनेछ। अरुबाट धेरै पटक अपहेलित हुनु परेको रावर्टले पनि यसपाली चिने जानेका र उसका सम्पर्कमा रहेका मुसाहरुलाई बोलाएर धक्कु लगाउने राम्रो मौका पायो। आउँदो छुटि्टका दिन उसको नयाँ घरमा भोज रहेछ। माउसेले पनि बालसखा भएको नाताले निमन्त्रणा पायो।

भोजहरुमा उपहार दिने चलन रहेछ। खालीहात जान पनि भएन। थुप्रै पसलहरु घुमि सक्दा पनि भनेजस्तो उपहार नभेटी निराश भई फर्केको माउसेका आँखा एउटा ऐना पसलमा पुग्छन। माउसेले गाउँबाट आए देखि ऐना हेरेकै रहेनछ। धेरै बेर ऐनामा आफ्नो अनुहार हेरे पछि रावर्टलाई उपहार पनि एउटा ऐना दिने निर्णय गर्‍यो। अचम्म रहेछ बिरालाको गाउँमा ऐना त पाईदो रहेछ तर ऐना हेर्ने रुची वा फुर्सद कसैलाई रहेनछ।

आज रावर्टको घरमा पार्टी छ। माउसे उपहार लिएर रावर्टको घर पुग्यो। घरभरी मुसा अनि बिरालाहरुको भिड थियो। रावर्ट र उसकी श्रीमती ढोका मै हात जोरेर पाहुनाहरुको स्वागत गर्दै थिए। माउसेले रावर्टलाई बधाई दिँदै हातमा उपहार थमाई दियो। निम्तालुहरु चमेना र पेयपदार्थ लिँदै आ–आफ्ना समूहमा कुरा गर्दै थिए। माउसे भने ठूलो भिडमा आँफूसँग कुरा मिल्ले मुसाको खोजीमा यता उता घुमि रहेको थियो।

आजकल बिरालाहरु पनि मुसाका भोजहरुमा रमाउँदा रहेछन। रावर्टले उनीहरुलाई नै भनेर थरी थरीका नशालु पेय पदार्थको पनि व्यवस्था गरेको रहेछ। खान र पिउन मै छुट्टै रमाएका बिरालाहरु राता राता आँखा बनाउँदै मुख बिगारेर कुरा गर्दै थिए। मुसाहरुको त गाउँ देखि कै बानी, पिउँदै जुवाका खालमा व्यस्थ थिए। कोहीले त धोक्नु धोकेछन। के बोल्ने के नबोल्ले बिर्सिसकेका थिए। मुसीहरु झन धेरै बोल्नु पर्ने जात, २–३ समूहमा मुसी स्वभाव कै फूर्तिला गफमा भुलेका थिए भने केही तरुनी मुसीहरु त मुसा र बिरालाहरुसँग नशालु पेय पदार्थ पिउन पनि पछि परेका थिएनन।

हजुरआमाले भन्नु हुन्छ “हेर हेर, भक्ष भोजन भ्रष्ट बुद्धि, जस्तो खाना खायो त्यस्तै अक्कल हुन्छ भनेको यस्तै हो ।”

ओहो, मुसाहरुले बिरालाका गाउँमा आएर पनि कति जन्माएछन छाउरा छाउरीहरु। फेरी साह्रै छुच्चा, धानी नसक्ना, अगतिला। यसरी अर्काको घरमा भोज खान आउँदा पनि आपसमा झगड्छन, हल्ला गर्छन, रुन्छन, कुद्छन, उफ्रन्छन, फोहोर गर्छन। बाबुआमाले पनि फिटिक्कै ख्याल नगर्ने। पिटपाट नगरे पनि सम्झाउनु त पर्छ नी। नैतिकशिक्षा सिक्ने उमेरमा यसरी छाडा बनाए पछि भविश्यमा त्यस्ता सन्तानबाट अभिभावक र गाउँले के आश गर्नु? माउसे दङ्ग पर्छ।

हजुरआमा थप्नु हुन्छ “केटाकेटीलाई जस्तो संस्कार सिकायो त्यस्तै हुने त हुन नी, बाबुआमा कै चाला त्यस्तो छ”।

रावर्टको पनि आज खुशीको दिन मज्जैले पिएछ। अलि ज्यादै बोलि रहेको थियो। शुरु देखि नै होच्चाएर बोलेको सुन्दा माउसेलाई भोजै छाडेर हिँड्न मन लागेको थियो। फेरी खै के सोचेछ, रोकियो। रावर्टको बोल्ने शैली झन बिग्रदै जान्छ र छेवैको खैरो बिरालोको घाँटीमा झुण्डिएर बिरालो कै भाषामा “ हेइ ढाडे बिल्लु हेर म त मेरो गाउँको पनि नेता थिएँ तँ जस्तो लुते हैन, अव म यो टोलको मुखिया हुन्छु बुझस, तैले मैले भनेको मान्नु पर्छ” भन्दै थियो। बिरालो रिसाई हाल्यो। रावर्टलाई च्याप्प समातेर फनफनी घुमाउँदै पल्लो भित्तामा बझारी दियो। बिचरा रावर्ट पर्खालमा ठोकिएर बेहोस भई भूँईमा राखेको माउसेले ल्याईदिएको ऐना माथी खस्यो। नशाले मातेका मुसाहरु के कम, सबै आमन्त्रित बिरालाहरु माथी जाई लागे। बिरालाहरुको धैर्य टुट्यो। जाई लाग्ने मुसाहरुलाई समात्दै मुन्टो बटारिदिँदै भित्तामा बझारिदिन लागे। सबै मुसाहरुको गती रावर्टको जस्तै भयो। पर्खाल मुनि रगताम्मे मुसाहरुको थुप्रो लाग्यो। भाग्न सफल मुसाहरु दुलो भित्र छिरे। चारै तिर शुन्यता छायो। बिरालाहरु पनि हात टक्टकाउँदै आ–आफ्ना घर तिर लागे।

हजुरआमाले भन्नु भो “घमण्डी भएर आफ्नो हैसियत बिर्से पछि यस्तै हुन्छ, दुःख पायौ मंगले आफ्नै ढंगले ।”

धेरै बेर पछि रावर्टलाई होस आयो। सकि नसकि उठ्ने प्रयास गर्‍यो। नशा पनि उत्रि सकेछ। ऐनामाथी कसरी पुगेछ पत्तै पाएन। यसो तल ऐनामा हेर्दा त आँफूलाई मायालाग्दो मुसा देख्यो अनि झल्याँस्स भयो। “ओहो म त अझै मुसो पो रहेछु।” आँफूलाई बिरालै हुँ सम्झने रावर्टलाई आफ्नैं घमण्ड देखि साह्रै लाज लाग्यो। माथी दलिनको छेलमा लुकेर रमिता हेरीरहेको माउसे बिस्तारै तल झरेर बेहोस साथीहरुको सुसार गर्दै थियो। रावर्टले आँफूबाट अज्ञानताबस भएको दुर्व्यवहार प्रति माउसेसँग हात जोरेर माफी माग्दै उपहारको लागि धन्यवाद दियो। माउसेले प्रेमसाथ हात फैलायो अनि दुबै मित्रहरु अँकमाल गरे। रावर्टले अब आँफूलाई रावर्ट हैन राउते नै भन्न अनुरोध गर्‍यो।

केहीबेरमा बेहोस मुसाहरु होसमा आए। चारैतिर भागेकाहरु पनि जम्मा भए। राउते (रावर्ट)ले सबैलाई पालै पालो ऐनामा अनुहार हेर्न दियो। सबै मुसाहरुको आँफूलाई बिरालो हुँ भन्ने घमण्ड सकियो। अन्त्यमा मुसाहरुको ठूलो जमातले एकआपसका हातेमालो गरेर एउटै श्वरमा भने “हामी मुसा हौं, हामी एउटै गाउँका हौ, हाम्रो हैसियत एकै छ ।”

सबै मुसाहरुले अब देखि आँफूहरु गाउँबाट आएका मुसाहरु भएको सत्य कहिल्यै नभुल्ने संकल्प गरे। बिचरा मुसाहरु ऐया र आच्छु गर्दै, खुट्टा खोच्चाउँदै आ–आफ्ना घर गए। माउसे पनि अब हुने भेटघाटहरुमा कुरा मिल्ले साथीहरु पाउने आशामा खुशीले उफ्रँदै आफ्नो बासस्थान तिर लाग्यो। यसरी कथा समाप्त भयो।

केटाकेटीहरुले ताली बजाए। हजुरआमाले सबैलाई प्रश्न गर्नु भयो “यूगौं सम्म बिरालाको संगत गरे पनि मुसाहरु बिरालो बन्न सक्लान त?” “सक्दैनन हजुरआमा” केटाकेटीहरुले एकै श्वरमा विद्यालयकी गुरुआमालाई झै जवाफ दिए। हजुरआमाले ठूलो श्वरमा सबैलाई स्याब्बासी दिँदै भन्नु भयो। “हो, त्यसैले हामीहरुले पनि म को हुँ? म कस्तो थिएँ, अहिले कस्तो छु? मेरो हैसियत के हो, मैले समाजमा कस्तो काम गरेको छु, मानिसहरुले मलाई कसरी हेरेका छन? भन्ने कुराको ख्याल गर्नु पर्छ।” उहाँको कुरा सुनेर केटाकेटीहरुले बुझे झै टाउको झुकाए। म भने सुटुक्क आफ्नो कोठामा छिरेर ऐना हेरेँ। मैले लगाइरहेको अमेरिकन पालीटोपी मेरो शिरमा फिटिक्कै नसुहाएको रहेछ। पालीटोपी निकालेर, सिरानी मुनी पट्याई राखेको भादगाउँले टोपी लगाएँ। ऐना हेरेँ। “आहा, यो पो हो मेरो असली पहिचान।”

समाप्त !


(कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा गाईजात्रे संयोग मात्र हुनेछ।)

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Verry Funny ! Great Write up !
    Keep it up !

    ReplyDelete
  2. Excellent… article! Keep it up Raju Jee. You write wonderful.

    ReplyDelete
  3. “Musa haru Biralo Ko Gaunma”…Ha ha hahaha….Good one.

    ReplyDelete
  4. A good lesson for MOOSA haru, who think themselves as BIRALO. I really enjoyed it.

    ReplyDelete
  5. सार्है उत्कृष्ठ प्रस्तुती पस्कनु भएको छ । कता कता भन्द कसैको जीवन संग मेल खाने मात्र होईन धेरै को जीवनसंग मेल खाने संयोग यो कथाले जुराएको छ । आफ्नो धरातल र पृष्ठभुमी लाई बिर्सेर आफुँलाई सेतो बितालो मा परिवर्तन गर्ने खोज्ने मुसाहरुलाई एस्ले गतिलो चोट हानेको छ । समग्रमा कथा राम्रो लाग्यो !
    धन्यबाद !
    ~सपनासंसार

    ReplyDelete
  6. बिरालाको गाउँमा बस्ने मुसो7/27/09, 5:25 PM

    यस्ता लेख रचनाहरु समाजका ऐना हुन । धेरै जनालाई चोट पुगे पनि समाजमा साकारात्मक भूमिका खेल्दछ । लेखक तथा सपनासन्सारलाई धेरै धेरै धन्यवाद !
    -बिरालाको गाउँमा बस्ने मुसो

    ReplyDelete
  7. Ramro Musha7/28/09, 7:09 AM

    Very Very true Story ! I Like the story very much. All the musha's in Biralo's country must think themselvers as musha, not biralo.

    ReplyDelete
  8. Nnice and enjoyable article. thanks for sharing funny master jyu.

    ReplyDelete
  9. Dhanyabadha,
    You have done a good job... nepali musha haru ko biralo prabirti ko athartha chitran garnu bhayako...

    Good job

    ReplyDelete
  10. राजु लामिछाने8/8/09, 3:28 PM

    "मुसाहरु बिरालाको गाउँमा" पढी आफ्ना अमुल्य सुझाव एवम प्रतिकृया व्यक्त गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई मुरी मुरी धन्यबाद।
    राजु लामिछाने

    ReplyDelete
  11. PR Minneapolis8/22/09, 10:47 AM

    राजु जी, तपाईको लेख पढेँ ! राम्रो लाग्यो , विदेशमा बस्ने धेरै जसो नेपालीको चरीत्र, कथाका मुसाहरु सँग ट्याक्कै मिलेको छ । पढेलेखेका र अग्रज नेपाली साथीहरु पनि समुह समुह मा गुट्बन्धी हुने र आफ्नो अनुहार ऐनामा नहेरी अरुलाई होच्चाउने गर्छन् । I agree with you. keep it up bro..
    PR- Minneapolis

    ReplyDelete
  12. yauta muso aaba biralo ko gaunma najane sochama chha tara musi DV parera biralakai gaunma gai man dhani nasaknu bhachha ha ha ha thanks raju ji your pen is very well and it write from mouse's heart.

    ReplyDelete
  13. This comment has been removed by a blog administrator.

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

जीवन् एक् सपनाको संसार

पोस्तक श्रेष्ठ मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका मिनिसोटा राज्य, जाडोको लागि कुख्यात। तापक्रम शुन्य भन्दा पनि तल। हिउँले सेत्ताम्मै, जताततै। शायद अप्रिल को पहिलो हप्ता सम्म पनि यो हिउँ नपग्लिएला। जाडोले गर्दा बाहिर हिंडडुल गर्न पनि सकिन्न। आज बिहानै देखि पानी फुस्फुसाएको छ। दिउंसो हिउं पर्ने सम्भावना । आ! यो हिउं पनि कती पर्न परेको होला! कस्तो ठांउमा जीवन बिताउन पुगिएछ। रन एक्लै भुत्भुताउंछन्। । उनको खास नाम चांहि तोरणप्रसाद हो। तर यहाँ अमेरीकन ले संक्षिप्तिकरण गरिदिएका छन्- रन । सिनिएर अस्सिस्टेड लिभिङ अर्थात नर्सिङ होमको बसोबास। छोरा आफ्नो परिवार सहित कोलोराडोमा। छोरी क्यालिफोर्नियामा। श्रीमतीको यहिं दुई बर्ष पहिले निधन भएपछि रन एक्लै छन्। आफू पनि जीवनको अन्तिम क्षणको प्रतिक्षामा। बिरक्त लाग्दो मौसम, शुनशान कोठा, बेला बेलामा सुसारेहरु आउंछन। औषधी खुवाउन, खाना खुवाउन। रन बेला बेलामा बैठक कोठामा जान्छन्। आफु जस्तै अरु बूढा-बूढीहरुसंग बात मार्न। ह्वील चेयरमा बसेर हिंडडुल गर्न पर्छ। आज किन किन रनलाई बैठक कोठामा जान पनि मन लागेन। टेबलमा छोरीले पठाको क्रिशमशको उपहार पाके

शुभ-कामना नव दाम्पत्य जीवनको

यहि मिती २१ फेब्रवरी २००९ का दिन, अमेरीकाको नेब्रास्का राज्य को ओमाहा सहरमा , साथी रचना भट्टराई तथा साथी प्रवेश घिमीरे बिच भएको शुभ बिबाहको उपलक्षमा उत्तरोत्तर प्रगतीको हार्दिक मंगलमय शुँभभकामना टक्र्याउदछु । तपाई हरुको नया जीवन अनि नौंलो यात्रा सफल रहोस् । खुशीँ नै खुशीको पाईला हरु लम्किउन् । तपाईहरुको यो एैतिहासिक क्षणमा, आँफु पनि पात्र बन्न पाउदा निकै नै खुशीँ लागेको छ । तपाईहरुको दाम्पत्य जीवनले सफलता को शीखर चुम्न सफल होस् । तपाईहरुको अनुमति बिनानै केहि घत लाग्दा भिडियो दृष्य हरु तल पस्केको छु । परदेश को वसाँई होस या स्वदेशको , एउटी नेपाली नारीलाई सिन्दुरको महत्व त्यती नै हुन्छ । एउटी हिन्दु नारीले आफ्नो पतीको दिर्घायु जीवन को लागी लगाउछन्। सिन्दुरले माया प्रेम र सक्ति लाई जनाउछ् । हिन्दु शास्त्र अनुसार , लोग्नेले निधारमा सिन्दुर हालेर आफ्नो पत्नीलाई सुरक्षा को बन्धनमा राखेपछि यदि कोही पराईले पत्नी को हानि गर्न खोजेमा उक्त पराईको रगत उम्लेर उ आफै मर्छ रे । Rachan wedding..... from sapana sansar on Vimeo . आमा को लागी छोरा छोरी भनेको त मुटु को टुक्रा नै त हो नि । आमा भन

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा