Skip to main content

नारी स्वतन्त्रता र दमनको समिश्रणः तीज व्रत



-दीपा एवाई राई
हङकङ

नेपाली हिन्दू महिलाको निमित्त स्वतन्त्र र आनन्दसँग मनाइने पर्व हो तीज । हाल आएर अन्य धर्म र जातजातिका नेपाली महिलाहरुले पनि बडो हर्षोल्लासकासाथ मनाउन थालिएको यस चाडको रुप धर्म ग्रन्थमा यस्तो छः- “हिन्दू धार्मिक ग्रन्थअनुसार राजा हिमालयले आफ्नो छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जंगल गएर शिवजीको पूजा गर्न थालिन् । पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्ग स्थापना गरी पानी पनि नपिई निराहार व्रत बस्न थालिन् । यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी अन्तमा प्रकट भई “चिताएको कुरा पुगोस्” भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन गयो । सो दिन भाद्र शुक्ल तृतीयको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवकारुपमा मनाउन थालेर यो तीजको रुपमा मनाउने चलन पौराणिक कालदेखि चल्दै आएको मानिन्छ ।”
भनिन्छ, तीजमा श्रीमतीले श्रीमानका लागि मात्र होइन यदि श्रीमती अशक्त रोगी वा गर्भवती छिन् भने श्रीमानले सहयोगमा तीजको व्रत बसिदिने चलन प्राचीन समयमा भएको र अझै पनि कतिपय स्थान तथा व्यक्तिले यो परम्परा कायम गरेको सुन्न र पढ्नमा आए पनि आजसम्म यसको ठोस प्रमाण देखिन आएको छैन ।

तीज व्रतलाई तीन खण्डमा विभाजन गरी मनाइन्छ । पहिलो दिन विशेष महत्वकासाथ दर खाने काम गरिन्छ । दर खीर र दूधबाट बनेको परिकार हो । तर हिजो आज माछा मासु पनि दरमा सामेल भएको छ । वास्तवमा दर पनि मध्यरात १२ बजेअघि खानु पर्नेमा हिजो आज सूर्योदय अघिसम्म पनि खाने नियमले के बुझ्न सक्छौं भने मानिसले आफूअनुकूलको सहजता खोज्ने भएकोले यसको स्वरुपमा परिर्वतन हुँदै आएको छ ।
दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयको दिन हरितालिका तीज अर्थात् नाच्ने र खुशी हुने दिन । यसै दिन पार्वतीले आफ्नो तपस्या पूरा गरी शिवजी पाएकी हुनाले यस दिनलाई हर्षोउल्लासका साथ नाचगान गरी मनाइने गरिन्छ । तीजको अन्तिम दिन ऋषि पन्चमीको दिन हो । शास्त्रअनुसार यो दिन नारीहरू पापिष्ट भएको कारणले उनीहरूलाई सजायँ दिन बनाइएको जस्तो देखिन्छ ।
शास्त्रमा भनिएको छ, १२ महिनाको रजस्वलामा अन्जानवस कति कुरा छोइएको हुन सक्छ । उक्त पापबाट मूक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा दतिवन टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनु पर्छ र यसको पनि थुप्रै विधिहरु छन् । तर मूलतः ३६५ वटा दतिवनका डाँठ तोकेर खोलामा बगाउनु, माटो र गोबरले शरीरका सबै अंगहरु शुद्ध गर्नु, चाल्नीमा गनौती (गनिएका तिलचामल र जौ) राखेर माथिबाट पानी खन्याई छानिएको पानीले नुहाउनु र सप्त ऋषीको पूजा गरेपछि महिलाहरु पूर्णरुपमा शुद्ध हुन्छन् भन्ने विश्वास गरिन्छ । आखेरी यो कुन न्यायिक धर्म हो ? यहाँ त हिन्दू धार्मिक ग्रन्थद्वारा महिलामाथि सोंझै अत्याचार भएको पाउँछौं । रजस्वला भनेको नारीमा हुने प्राकृतिक देन हो । यो सूर्य उदाउने र अस्ताउनेझैं स्वच्छ र ध्रुव सत्य कुरा पनि हो । तर यसलाई पाप ठानिनु एक रुढिवादी र दरिद्र सोंच मात्र हो । धर्म र नीति शास्त्रले केवल नारीमाथि मात्र यत्रो आलोचना, वर्णन र कज्याउने किसिमको शिक्षाको सन्देश दिइएको पाइन्छ । संसारको जति पनि धर्म ग्रन्थहरु छन् केवल नारीको चरित्र त्यसको चित्रणसँग शिक्षाकै लागि मात्र बनेको देखिन्छ । समान अधिकारको जति नै वकालत गरे पनि मानवतावादी र न्यायपालिकाहरु केवल पुरुषहरुको स्वार्थमा निहित एजेण्ट जस्तो मात्र देखिन्छ । वास्तवमा भन्ने हो भने तीज आफैंमा एक सुन्दर पर्व हो र यसलाई व्रतमा परिणत भएको भए पनि फलफूल ग्रहण गरेर दिनभरि बस्नमा पनि वैज्ञानिक हिसाबले हेर्दा फलदायक नै देखिन्छ । तर जुन तीज व्रत भनी श्रीमानकै लागि र बाह्र महिनासम्म हुने नारीको प्राकृतिक देन रजस्वलालाई अशुद्ध र पापको संज्ञा दिई धर्म ग्रन्थमा लेखिएको शब्दहरु अति नै अशोभनीय, अर्थहीन, नारी शोषण र दमन मात्र देखिन्छ ।
नारीहरुले रातो टीका, रातो कपडा, रातो चुरा, पोते आदि सबै रातै रंगमा सजिनु तीज पर्वको रंग हो । नारीहरु त्यस दिन नाचगान गर्दै हर्षोल्लासकासाथ दिनभरि भोकै बसी श्रीमानको दीर्घायुको कामना गर्नु नै विशेष यस तीज पर्वको सन्देश मानिन्छ । के यो साँच्चै विश्वासनीय छ ? श्रीमतीले यसरी व्रत बस्ने कुरा त सदियौंदेखि चलिआएको कुरा धर्मग्रन्थमा छ तर पनि निश्चित समयपछि श्रीमान र श्रीमतीको मृत्यु हुन्छ नै । यस तीज व्रतले कुनै श्रीमानको दीर्घायु भएको छैन र हुँदैन पनि । किनकि यो एक संकीर्ण रुढि प्रथा मात्र हो । नारी शोषण र दमन हो । दीर्घायुको कामना श्रीमतीलाई पनि हुनु पर्ने हो तर किन श्रीमानलाई मात्र ? यसरी धर्मग्रन्थको भेदभावपूर्ण श्लोकहरु आज प्रत्येक चेतनशील नारी पुरुष दुवै पक्षले छुट्याई खण्डन गरी आवश्यक सुधार गर्नु पर्दछ । नत्र हामी नेपाली महिलाहरुको छुट्टै अस्तित्व बोकेर विश्वसमक्ष उभिन सक्ने हाम्रो तीज पर्व भोलि दुर्घटनाग्रस्त भई नवमहिलाहरुले रेष्टुरा र पप हाउससँग डिस्को डान्समा परिणत नगर्लान् भन्न सकिन्न । कुनै पनि बुद्धिजीवी चेतनशील नेपाली भएको नाताले सम्पूर्ण विवेकशील नेपालीद्वारा यस्तो किसिमको रुढिग्रस्त धर्मलाई सच्याई यस किसिमको पर्वलाई संरक्षण गर्नु भनेको नेपालीत्वको संस्कृति र स्वाभिमान बचाउनु पनि हो ।
अष्ट्रेलियामा महिलाको लागि अगष्ट ८ का दिन नारी दिवस मनाइन्छ । तर नेपालमा परम्पारिक हिसाबले भने महिलाले यस्तो दिन पाएका छैनन् जसले उनीहरुलाई स्वतन्त्रताको अनुभूति दिलाओस् । यसरी यही कुरालाई लिएर मात्र गर्दा (तीज व्रतको दिन) त्यही दिन घरको कामकाजलाई चटक्क छोडेर उनीहरु (नेपाली महिलाहरु) स्वतन्त्र तथा हर्षित भएर घर बाहिर निस्कन्छन् । उनीहरुको गीतमा आफ्ना अधिकार तथा वेदनाका कुराहरु समेटिएका हुन्छन् । यसले महिलाहरुलाई सशक्त बनाउँछ । यी कुराहरु तीजको सकरात्मक पक्ष हो । त्यसैले किन हामीले तीज पर्वलाई हाम्रो नेपाली महिलाहरुको नारी दिवस नमान्ने जसले हाम्रो परम्परा र सँस्कृतिको पनि रक्षा हुने र मान्नेहरुको लागि धार्मिक पर्व व्रतको पनि सुचारुपले सञ्चालन हुने । तर जुन धार्मिक ग्रन्थको भनाइअनुसार समाजको रिती पूरा गर्न जबरजस्ती व्रत बस्नु र तेश्रो दिन ऋषि पञ्चमीको कार्य विधिचाँहि वाञ्छनीय देखिँदैन । यदि रजस्वलालाई अछुत र पाप भनिन्छ भने यसको पूर्णरुपले सैद्धान्तिक, व्यवहारिक व्याख्या हुनुपर्छ । नत्र यस्तो रुढिवाद न्यायिक कार्यस्वरुप तुरुन्त हटाइनु पर्छ, मानिनु हुन्न ।
हाल नेपालीहरुको ठूलो हिस्सा देशबाहिर रहेको सन्दर्भमा विदेशमा रहेका नेपाली महिलाहरुले पनि यो चाड बडो धुमधामकासाथ मनाउने गरेको पाइन्छ । हङकङमा रहेका नेपालीहरुले पनि विभिन्न संघसंस्थाको माध्यमबाट विगत केही वर्षदेखि यस चाडलाई बडो हर्षोल्लासकासाथ मनाउदै आएका छन् । “यो हिन्दूहरुको पर्व हो हामी जनजातिहरुले मान्न आवश्यक छैन” भन्ने तर्कहरु पनि यदाकदा नउठेका होइनन् । तर यस चाडको मूल हिन्दू धर्म र संस्कार भए पनि हामी नेपाली हौं र जुनसुकै नेपालीको संस्कार र रिती हामी जोसुकै धर्म मान्ने र वा जोसुकै जनजाति नेपालीले आत्मसात गर्नु कुनै अनौठो कुरा होइन । हामीले खाली यसको सकरात्मक र नकरात्मक पक्षलाई मात्र चिन्नु सक्नु पर्दछ । सारमा भन्ने हो भने यो चाड जहाँबाट उत्पति वा शुरुवात भए पनि यसलाई ज-जसले मनाए पनि यसले नारीमाथिको विद्यमान शोषण र उत्पीडनलाई बढवा दिने सबै किसिमका रिवाजहरुलाई एक एक गरेर केलाएर, फालेर नारी स्वछन्दता दिवसको रुपमा मनाउन सक्नु पर्दछ । कम्तिमा यसतर्फ सबै उन्मुख हुनुपर्दछ ।

– हङकङ

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

Comments

  1. Great! Keep it up.

    ReplyDelete
  2. I loved your writing skill. Good job. Happy Teej!!!

    ReplyDelete

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

Popular posts from this blog

बिजया दशमी २०७१ साल को हार्दिक मंगलमय शुभकामना !

बिजया दशमी २०७१साल को सुखद उपलक्क्षमा देश तथा बिदेश मा रहनु भयका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनी हरु मा चिरायु र दिर्घायुको कामना टक्राउन चाहन्छु साथै उतर उतर पर्गती को कामना गर्दछु। श्री नव दुर्गा माता को आशीर्बाद, ले हजुर हरुले आटे ताकेको पुगोस, सदा सुखी तथा खुशी हुनुहोस । । बिजया दशमी कै अवसर मा मैले केहि नेपाली सब्द हरुको काचो संयोजन गरेर निम्न हरफ हरु यहा निर पस्केको छु । * * * * * * * * * दशै * * * * * * * * * निरासाले घेरे पनि, आशा त्यसै कहा मरेको छ र पाईला त्यसै हराय पनि, दिशा कहा मोडिएको छ र । नविनतम बिचार हरु, छताछुल्ल आईरहुन यहा जहा जाउँ खुशीयाली, छताछुल्ल छाईरहुन त्यहा ।। एक जोर लुगा हाल्छु, एक छाक खसी खान्छु । धन को गरिवीलाई, एक छिन भए नि पर सार्छु ।। ठुला संग आशीस लिन्छु, सानालाई खुसी दिन्छु । रिन उठाउन साहुँ आए, कुना तिर लुकिदिन्छु । पोहर साल सुस्ताएको मखमलि, यो साल फक्र्याउदछु हजुरलाई बर्ष दिने दशैको, शुभकामना टक्र्याउदछु । जदौं [यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसा...

अविवेकी सन्तान

–सीता अर्याल, गोरखा बजार, हाल–विस्कन्सन, अमेरिका न्युयोर्क सहर, अत्यन्त व्यस्त जनजीवन । म बसेको ठाउँबाट देखिने टावरको सानो टुप्पोलाई नियालिरहेको हुन्छु तापनि मलाई अत्यन्त नरमाइलोपनले सताइरहेछ । आफूलाई भाग्यशाली ठान्ने म आज अति दुःखी र अभागी ठानिरहेको छु । मलाई समयले नराम्ररी दुःख दिन तम्सिरहेछ । आफ्नो एक्लो सन्तान बाईस बर्षे छोरोलाई उडाएर ढुङ्गो जस्तै गरुङ्गो मन लिई घर फर्केको थिएँ । उसकी आमालाई सम्झाउन त झन् मलाई हम्मे हम्मे नै परेको थियो । घरमा जम्मा दुई प्राणी मात्र, सन्नाटा छ । छोराको विवाह गरेर बुहारी भित्र्याउने इच्छा हुँदाहुँदै ईन्जिनियरीङमा स्नातकोत्तर गर्न छोरो अमेरिकातर्फ लाग्यो । तुहिएको हाँगो भएकोले चाँडै नै छोराको विवाह गरी जायजन्म हेर्न चाहन्थें। आमाचाहिंको चाहना पनि यही थियो, आफू बलियो हुँदैमा नाती नातिना हुर्काउने । केही समयसम्म दिन दिनै जस्तो फोन हुन्थ्यो । इमेल हुन्थ्यो । कुनै पनि खवर नआएको दिनमा अत्यन्त खल्लो लाग्दथ्यो । नेपालबाटै गर्दा कहिले काँही फोनमा भेटिंदैनथ्यो । काममा या पढाइमा व्यस्त होला जस्तो लाग्दथ्यो । दिन, महिना, वर्षहरू वित्दै गए, समाचार आ...

गीति कथा : एउटा कथा जिन्दगीकोमा यादव खरेल

~यादव खरेल २०७१ साल बैशाख १ गतेबाट बीबीसी नेपाली सेवाले नयाँ कार्यक्रम श्रृङखला “एउटा कथा जिन्दगीको” शुरु गरेको छ। सुमन खरेलको परिकल्पना र संयोजनमा यो कार्यक्रम बीबीसी नेपाली सेवा कार्यक्रममा प्रशारण हुने गरेको छ। यादव खरेल द्वारा बाचित गरियको पहिलो कार्यक्रम तल साभार गरिएको छ ! [यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]