Aug 15, 2009

पूजे

Facebook

लेखक: बेईमानी बर्मू
ठेगाना: नगदेश


अति नै भयो। मनमा मात्र कुरा साँचेर राख्दा दिमागै पड्केला जस्तो भयो। मनको कुरा भन्ने साथी भए भन्थीँ। पूजे, म भन्दा दुई बर्ष कान्छी, बैनी छे यौटा - आफूलाई मनमा आको कुरा भन्न मन लाग्ने - तर त्यल्ले कत्ति कुरै बुझ्दिन। त्यस्को खास नाम त पूजा भन्नि थाहा भैहाल्यो, हैन। तर मैले त, कस्सम, कैलेपनि तेल्लाई पूजा भनेर बोलाको छैन। जैलेपनि पूजे। एक हप्तादेखि त्यो पनि अर्कै मान्छे जस्तो भकी छे। बोल्न पनि मन गर्दिन। क्यै सोध्यो भने मुन्टो मात्रै हल्लाउँछे - बोलिहाली भने पनि हो कि हैन मात्र भन्छे। हो र हैन भन्दा लामो जबाफ दिनपर्ने करो सोध्यो भने बोल्दै बोल्दिन। आँखामै हेर्दिन, मेरो पनि। खाली रसीलो आँखा लेर बसी रन्छे। घ्वाईँ खेल्न भनेपछि हाम्फाल्दै आईपुग्थी पहिले त, कस्सम, तर अचेल त्यो पनि खेल्न छाडी। अस्ति मैले हजारचोटी कर गरेपछि, एकछिन खेल्न आको थी। त्यो पनि एक्कै छिनमा खेल्न छाडेर क्यै नभनी गएर थचक्क पर्खालमा बसी। मलाई पनि के भको हो - तान्न गैँ। पूजेले एकैचोटी जीऊहात छोड्दी। मलाई त झनक्कै रीस उठ्यो - एक चड्कन हान्दीँ। चड्कनको आबाज सुन्नासाथ बेकार हानिछु जस्तो लाग्यो, मेरै आँसु झर्यो, तर त्यो रोईन। अरुबेला पूजे मैले जे गरेपनि नक्कल पारेर रुन्थी मैले फकाउन आउँछु भनेर। त्यो एघारको म तेरको। तर म भन्दा त पचास बर्ष सानो भको जस्तो गर्छे। मलाई पनि त्यल्लाई रीस उठाएर फकाउन कत्ति मजा लाग्छ। अरुसंग ढ्याप्पा खेल्दा कान्लामाथीबाट लडेपनि धूलो टक्टक्याउँदै हाँस्दै उठ्नी त्यो नक्कली मसंग खेल्दा बिस्तारै लडेपनि के के न भको जस्तो गरी रुन्छे। मलाई पनि पैले त रीस उठ्थ्यो तर बिचरीलाई कल्ले पो मायाँ देखाउँछ र? त्यै सम्झेर पनि मैले फकाउँछु। अनि त झनझन पो फुर्किन थाली बाँदरनी। तर अस्ति मैले पिट्दा पनि रसीलो आँखाले मतिर हेरि मात्र राखी। न रोई, न कराई, न फूर्की। आँखापनि मतिर हेरेकी मात्र - मेरो ठ्याक्क पछाडी भित्तालाई नै छेडेर अर्को दुनिया तिर हेरेकी जस्तो लाग्यो।

पूजेको यस्तो ताल देखेर, कस्सम, मेरो सातो गयो। जीऊको सब्बै रौँ ठाडो भको जस्तो भयो। लौ न, यल्लाई के भको होला? काकीको पनि दिनभरि खेतमा काम भको कति दिन भैरक्यो, उसले पिटेकी पनि हैन होला। अहिले तोरीको बाली उठाउने बेला, काकी बिहानै खेताला जान्छे। बेल्का लखतरान, पसीनै पसीना भएर, तुम्बेबाकाँ जाँड खाएर टील परेर आउँछे, के को पिट्ने तागत हुनु उसंग। मैले काकीलाई तँ भनेको सुन्दा अचम्ब लाग्यो होला हैन? पूजेलाई बिनसित्ती पिट्ने मान्छे मलाई कोहिपनि मन पर्दैन। तुम्बेबाको घरबाट जाँड खाएर फर्केर काकीले पूजेलाई नानाथरी निहुँ पारेर कुटेको सुनेपछि मैले त्यल्लाई तँ भन्न थाल्या। निहुँ पनि कस्तो कस्तो पारेर कुट्छे काकीले। कैले भात डड्यो भनेर, कैले ढोकामा जुत्ता उल्टो भो भनेर, कैले तर्कारीमा नून पुगेन भनेर। तेस्को हात छैन र, आफैँले झिकेर नून थपेर खान सक्दिन र दुनियाँ लोग्नी मान्छेसंग तुम्बेबाको पसलमा जिस्कन सक्नेले? जुत्ता उल्टो भए तेस्को हात छैन र, सुल्टो पार्न सक्दिन र? पैले त काकी पनि कैले कैले मात्रै हात छोड्थिन्। काकालाई जलाएर आको दिनदेखि कति दिन सम्म त कता कता खुसी पनि देखिन्थीन्। काकाले पनि कम दु:ख देका थे र? आफू काकीको बाऊ, अनि पूजेको हजुरबाऊ जस्तो देखिन्थे। उमेरले त बुढा, तेसमाथी सँधैको बिरामी। हाम्रो छिमेकभरि दिनभरि चीउरा कुट्ने कलको आबाज नआउने भको भए खाली हाम्रो काकाको खोकीको आवाज मात्र सुनिन्थ्यो होला। अरुको मुख त छालाले बन्या हुन्छ नि, काकाको त चाऊरी नै चाऊरीले बनेको मुख जस्तो देखिन्थ्यो। बुढो भएर तलमाथी गर्न पनि एक्लै नसक्ने हुँदा समेत कति छुच्चो त्यो बुढो। अनि किन पूजेलाई गाली गर्न पर्यो नि दिनदिनै - बुढेसकालमा छोरा हुनपर्ने आफ्नो हेरचार गर्न, यो अलक्षिनी पो भै भनेर। छोरी पाऊने आमा अनि छोरीको रगत दिने बाऊ अलक्षिनी की जन्मिने छोरी अलक्षिनी? कस्तो मुर्ख बुढा थे काका। कत्ति न कोहि लक्षिन को अनि कोहि अलक्षनको हुने जस्तो। तेस्तो हुनि नै भएपनि लक्षिनको मान्छेलाई के के न जस्तो गर्ने अनि अलक्षिनकोलाई हेप्नपर्ने के कारण छ? जन्मिनु अगाडी पूजेले लक्षिनको हुने कि अलक्षिनको हुनि भनेर भोट हाल्न पाको थी र? अनि त्यो काकीले नि? अनि त्यो कंश बुढा ले नि? बिचरी जो क्यै नभनी त्यस्ता दुष्ट बाऊआमा दुईटैको दिनदिनै गाली खाँदापनि सहेर, क्यै नभनी बस्छे त्यै अलक्षिनी रे!



कस्तो लाज नभको बुढो। भएभरको सम्पत्ति जुवा खेलेर सिध्यायो रे। खाली एक पाटो बारी, खेताला नगरी खान पनि नपुग्ने खेत मात्र जुवाबाट बचेको बुढोले किन आफू भन्दा बीस बर्ष कान्छी स्वास्नी ल्याउन पर्यो? जेठी काकीलाई मैले त कैले देखिँन। म जन्मनु भन्दा कत्ति बर्ष अगाडीनै स्वर्ग्य भै सक्नुभको थियो रे। गाउँका कत्ति मान्छे त अहिले सम्म पनि ठूलीकाकीलाई काकाले मारेकै हुन् भनेर खास्खुस गर्छन्। हाम्ले देख्दा लठ्ठी टेकेर भित्र बाहिर गर्ने काकाले झिंगा त मार्न सक्दैनथे के मान्छे मार्न सक्थे होला र जस्तो लाग्थ्यो सानो हुँदा, तर अहिले त म बुझ्छु नि त्यो लुम्रे देखिने बुढो सँधै तेस्तो थेन, कहिले त बलियो बांगो थियो होला भनेर। त्यै त। एकदिन पूजे र म बुढा निदाको भन्ठानेर बुढाको सिरानमा भको मिस्री चोर्न जाँदा बुढाले हामी दुबैको हात समात्यो। कस्तो चाम्रो हात रेछ। म त भागिहालेँ। पूजे त फुत्कनै सकिन बिचरी। बुढाले एक चड्कन हानेर, "तिमेरू अलक्षिनीहरुले मलाई लूलो भन्ठान्छौ। म तिमेर्को गर्दन निमठ्न सक्छु" भन्यो। मलाई त कत्ति डर लाग्यो। पूजे चड्कन खाएपछि भाग्ली भनेको त हाँस्दै बुढातिर पो गै त पागल्नी। मैले चिच्याएर "त्यो बुढोकाँ नजा। तेरो गर्दन भाँच्छ" भनेर कराएँ, कस्सम। बुढोले पनि पूजेको गर्दननै समात्यो। अनि तानेर काखमा राख्यो। मिस्री पूजेको हातमा देर, "यो रामेको छोरीको जस्तो छुच्चो थुतुनो त छैन तेरो। यो मिस्री त्यल्लाई नदी यिँ बसेर खा।" भनेर मिस्री पूजेलाई दियो। मेरो त कन्पारा तात्यो। नतातोस् पिन कसरी, हैन? आफू भन्दा ठूलो छु भन्दैमा जे पनि गर्न, जे पनि भन्न पाईन्छ र?" म त ठूलो भएपछि आफूभन्दा सानालाई आफू बराबर ब्याबहार गर्छु। न म पनि ठूलो भएपछि काका काकी जस्तै छूच्चो हुने हो कि? उनेरू पनि त पैले म जस्तै त थे होला नि।



रीसको झोकमा म त्याँबाट फन्केर हिडेँ। काकासित त रीस उठ्यो उठ्यो, मलाई त पूजेसित झन रीस उठ्यो। त्यो मसंग फुर्किने, मैले त्यत्ति माया गर्ने त्यल्लाई - अनि मलाई नदे भनेर त्यो छुच्चो बुढोले देको मिस्री घिच्ने। कस्तो कुकुरनी। त्यल्लाई म यस्तोसंग भुत्ल्याउँछु कि! बोल्दा पनि बोल्दिँन। एक मैना बोल्दिँन त्योसंग। एक मैना त अलि बढि भयो, एक हप्ता बोल्दिँन। अनि त्यो बोल्न आको आई गरि भने यसो बोल्दिउँला। अनि को संग फुर्किन जाँदी रेछे नि नक्कली! तर नबोली कसरी भुत्ल्याउने? किन भुत्ल्याको भनेर त भन्नु पर्यो। भन्नलाई बोल्न पर्यो। ह्या, भुत्ल्याउन्जेल बोल्छु, अनि त्यसपछि बोल्दिँन। काकाले सम्पत्ति सिध्याएर पाल्न नसक्निबेलामा २० बर्ष कान्छी स्वास्नी ल्याउन हुनि! पन्डित बाजेले धर्मकर्मका ठूल्ठूला कुरा गर्दै आफूले बेच्ने गाईको दुधमा सबैले देख्ने गरि हाँस्दै आधा धाराको पानी मिसाउन हुनि। चार चोटी आई. ए. को जाँच देर पास भको कुल बहादुरसरले पूजे ईंगलीसमा फेल भै भनेर कुट्न हुने। मैले मात्र किन अर्थ लाग्ने ब्याबहार गर्न पर्यो? ए! म त अर्कै कुरा गर्न पो थालिछु। अनि क्या, एकछिनपछि पूजे मतिर आई - बदमाशी गरेको अनुहार लेर। त्यो बेला सम्म मेरो भुत्ल्याउने मुड गैसक्या थ्यो, खाली त्यल्लाई एकछिन गाली गरेर घ्वाँई खेलौँला भन्ने सोच्या थेँ। तर के गाली गर्नु नि? त्यल्ले त सबै मिस्री खाको जस्तो नाटक गरेर आधा भन्दा ठूलो मिस्रीको टुक्रा त मलाई भनेर ल्याईदेकि रेछे।



रीस त भाग्यो। त्यो र म खित्खिताउँदै हाँस्यौँ। पूजेले देको मिस्री आधा त फेरि त्यल्लाई नै देँ। तेस्तो बाऊ भको भए त म कसैलाई मुखपनि नदेखाई बस्थेँहोला जस्तो लाग्छ। तर त्यो त कुरै मिलेन नि। मैले पनि त्यो बाऊ पाऊँ भनेर भोट हालेको हैन, खाली त्यसको छोरी भएर जन्मन पुगेको हुँ। उसको बानी खराब भएपछि उल्लाई पो लाज हुनपर्ने हैन? नत्र त खराब बाऊआमाका छोराछोरी आफ्नो क्यै गल्ती नै नभै लाज मानेर बस्नपर्ने? मैले अहिलेसम्म आफ्नो बाको कुरा किन ननिकालेको भन्ने लागेन? त्यो कुरा म पछि भनौँला है। मलाई बाको कुरा गर्न थाल्यो कि मनै गर्हौँ हुन्छ। अहिले काकाकै कुरा गरौँ न है। अनि पूजेको। पूजेको बाऊ नभको भए त्यो चोर बुढाको कल्ले कुरा गर्थ्यो र? दुई बर्ष अगाडी एकदिन म स्कूलबाट फर्किरको त अगिअगि त्यो रविने भन्ने चोर, पछिपछि गाऊँलेले दौडादौड गरिरका। रविने भन्ने त्यो कुकुरलाई पैले हामी दुबैले रविनदाई भन्थेम। मलाई पनि पूजेलाई पनि सँधै माया गरेजस्तो गर्थ्यो। हाम्लाई चकलेट, मिस्री कत्ति किनेर ख्वाउँथ्यो @#ले। मैले घिनलाग्दो शब्द बोलेँ भनेर तपाईँलाई नराम्रो लाग्यो होला नि हैन? अनि त्यो #& कुकुरले के गर्यो भनेर सुन्नुस अनि मात्र मलाई गाली गर्नुस्। हाम्लाई काखमा राखेर सुम्सुम्याउँदै चकलेट, मिस्री ख्वाउँथ्यो। अहिले पो थाहा पाईँ त त्यो %/&*ले के गर्न खोजेको भनेर। पहिले त मलाई उसले माया गरेको मन पनि पर्थ्यो। घरमा आमा मात्र। बालाई कैले देख्न नपाको म - अहिले पो बुझेँ आफू भन्दा ठूलो उमेरको केटा मान्छेले माया गरेको देखाउँदा कत्ति मजा लाग्थ्यो, बाको खाली ठाउँ भरिएजस्तो हुन्थ्यो होला मेरो। ठूलोमामा, माईलोमामा, कान्छोमामा सबैले मलाई पनि पूजेलाईपनि खुब माया गर्नुहुन्छ। त्यो कुकुरले पनि पैले त त्यस्तै हाम्लाई माया गरेको होला जस्तो लाग्थ्यो। मामाहरुसंग बर्षमा दुई तीनचोटी मात्र भेट हुने भकोले होला, रविनदाई भनौँदो त्यो गधाको काखमा बस्न मज्जा लाग्थ्यो। हामी बिचरा एघार र दश बर्षको साना, बाऊको माया कैले नपाका केटीहरुले तेस्तो बाठो कुकुरले माया देखाउँदा राम्रो मानेको हाम्रो दोष त हैन नि? हो र? कैले त हो जस्तो पनि लाग्छ। तर एक बर्ष अघिसम्म मलाई त क्यै था थेन यस्तो कुरा।



ल, जे भए पनि, त्यो रविने मोरोलाई गाउँलेले लखेटेको देख्दा गाउँलेहरुसंग रीस उठ्यो। दिनभरि पसलमा चिया खाएर र तास खेलेर, अझ धेरैजस्ता त हेरेर मात्र, बस्छन्। एक एक बित्ता जग्गाको कुरामा झगडा गर्छन, सबले सबको कुरा काट्छन्, आफू दिनभरि निकम्मा भएर बस्छन् अनि कसैले अलि राम्रो गर्यो, बुढीसंग संगै हिँड्यो भने डाढ गर्छन्, गिज्याउँछन्। रविने यसो टाठोबाठो देखिने यिनरुलाई के गाली गर्यो होला, अनि लखेटेका होलान् जस्तो लाग्यो। "रविनदाई, तपाई किन भाग्या?" भनेर सोध्या त मलाई नै लडाउँला जस्तो गरेर सातोपुत्लो गको मुख लेर भाग्यो त्यो राछ्छेस। पछि पो था पाएँ, त्यल्ले पूजेलाई नराम्रो नजरले हेरेर के के बदमाशी गर्न लागेको बेला काकाले देखेछ। आफ्नै छोरीको तेस्तो ताल देख्दा बचाउन नसकेपनि कराएर भए पनि रोक्न त खोज्नपर्छ नि, पर्दैन त? त्यो पापी बुढोले त बीस हजार मा छोरीको ईज्जत पो बेच्न खोजेछ। त्यो बेला त मैले बुझ्दिँनथेँ, अहिले भको भए र मेरो हातमा पैसा भको भए त म पैसा तिरेर जो भए पनि लगाएर त्यो काका र रविने कुकुर दुईटैको त्यो नै काट्न लाईदिन्थेँ। अनि ठिक्क पर्थ्यो तिनेरू दुईटैलाई। बिचरी पूजे - बच्चै भए पनि, आफूले भर गर्ने मान्छे रविनेले नै गरेको भएपनि, त्यल्ले कीस खान थालेपछि, "बा, बा, मलाई रविनदाईले थूक लाईदिनुभो" भन्दै कराईछे। काकाले गाली गर्नु त कता, उल्टो बिचरीको ईज्जत बेच्न खोजेछ। घरसंगै जोडिएको खेत खन्दै बसेको थापादाईले रविनेचोर र काका भनौँदाको कुरा सुनेछन् र हल्लीखल्ली गरेर गाउँले बोलाएछन्। धन्न उनले गर्दा बिचरी त्यो सोझी पूजे बची त्यो दिन। पछि पो "मलाई रविनदाईले किन थूक लाईदेको?" भनेर सोधी। मलाई पनि के थाहा। गाउँलेहरुले रविनदाईलाई बेईज्जत गर्न जे पायो त्यै भनेको जस्तो लाग्यो। साँच्चि, किन होला, मुखले भन्ने बेला चाहिँ 'बेईजत', अनि लेख्ने बेलामा चाहिँ 'बेईज्जत' लेख्न पर्ने होला? जे भन्यो त्यै लेखे भै हाल्यो नि। म त सकेसम्म यस्तै लेख्छु। स्कूलमा जाँचमा चाँहि बेईज्जत लेख्छु अनि तेसै लेख्दा बेईजत लेख्छु।



ह्या, फेरि के को कुरा गर्दागर्दै अर्कै के को कुरा पो गर्न थालिछु म। के भयो यो पूजेलाई, किन बोल्दिन मसित पनि अचेल? त्यै रविने कुकुर &*ले यल्लाई एक्लै भेट्टएर क्यै गर्यो कि? मैले भन्न त कत्ति चोटि भनिसकेँ नि यल्लाई रविनेलाई देखिस् कि लुक भनेर। खाली किन भनेर सोधेको सोधेई गर्छे त्यो, कत्तिन बुझ्ने जस्तो गरेर। मलाई किन भनेर नसोध, त्यल्लाई देखिस् कि लुक भनेर कति चोटी भनिसकेँ मैले त्यल्लाई। न तैपनि त्यल्ले पूजूलाई एक्लै भेट्यो कि

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

2 comments :

सपनासंसार said...

झर्रो सैली अनि बिनोद रस मिश्रीत तपाईको यो लेखले एउटा छुट्टै लेखन धार समातेको पाउन सकिन्छ । पाठक हरुमा अवस्य पनि यस्ले फरक स्वाद पस्केको हुन पर्छ ।
रमाईलो लाग्यो तपाईको लेख पढ्न पाउदा ।
मलाई एउटा बाक्यभाव सार्है मन पर्यो जसमा लेखिएको थियो, तिमीलाई मैले पिटे, तिमी हास्यौ, म रोए !

सपनासंसार

Anonymous said...

Very good writing. I thoroughly enjoyed it. Usually I don't have the patience to finish reading the story at once but this one kept me on the edge of my seat until the very end.....I loved the character of Puje. Puje narrates things happening around her in a comprehendible and funny way. Excellent job. Keep writing.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP