Sep 18, 2009

आमाको चिठ्ठी !

Facebook


राजु लामिछाने
माझठाना ६, कास्की
हालः हप्किन्स, मिन्नेसोटा, अमेरिका



प्यारो छोरा,
तिम्रा खुट्टामा ठेस नलागोस, तिमीलाई टाउको नदुखोस, तिमीले आँटे ताकेको कुरा पुगोस, तिम्रो कृती बढ्दै जाओस, तिमीलाई लोकले मानोस र तिमी चिरञ्जीबी भए भनि हरेक साँझ बिहान उनै दयालु भगवान श्री पशुपतीनाथसँग प्रार्थना गरेकी छु।

हरेक हप्ता फोनमा कुरा गर्दा पनि आमाले किन चिठ्ठी लेखिछ भनेर अचम्म लाग्यो होला। हुन पनि अचम्मै हुन्छ जव तिम्रो फोन आउँछ। म यती भावमग्न हुन्छु की भन्छु भनेको कुरा नै दिमागमा आउँदैन। “तिमीलाई कस्तो छ? शरीरको ख्याल गर्नु” भन्दा भन्दै फोन बन्द हुन्छ। मनको गन्थन बाँकी नै हुन्छ।

हेरन, नचाहेर पनि चाडबाडहरु आई दिन्छन। तिमी अमेरिका गए पछिको यो नवौ दशै हो। गाउँ भरी दशैंको चहलपहल छ। मेलापाता, पानी पँधेरा अनि चिया पसलहरुमा आ–आफ्ना घरमा लाहुरे आएको र आउँदै गरेको कुरा सुनिन्छ। सबेरै पसल तिर निस्केकी थिएँ “तिम्रो छोरा यस पाली पनि आएन?” भनेर कसैले सोधिदिन्छ। म तिमीले नै भने झैं उत्तर दिन्छु “अर्को साल आउँछु भनेको छ।” प्रश्नकर्ताले जवाफ फर्काउँछ “पैसा पठाएकै होला क्यारे, अरु के चाहियो, मज्जाले दशैं मनाए भै हाल्यो नी।” म नाजवाफ शिर झुकाएर अर्को बाटो लाग्छु।


यस पाली त तिमी पक्कै आउँछौ भन्ने आश थियो। तिमीलाई साथै लिएर मनकामना जाउँला भनि कालो पाठो किनेर राखेकी थिएँ। दूई घरी केरा पकाउन राखेकी थिएँ। कटेरामुनिको बेलाउँती (अम्वा)को बोटमा बाक्लो फल लागेको थियो। तिमीलाई मन पर्छ भनेर कसैलाई खान नदिई जोगाई राखेकी थिएँ। तिमी आउन नपाउने भनि खवर गर्‍यौ। सबै कुरा खेरै गए।

घरमाथी देबीस्थानमा सधैं झैं यसपाली पनि लिङ्गे पिङ्ग हालेका छन। परदेशमा बस्ने देखि शहरमा बस्ने तिम्रा सबै दोस्ती दामोलीहरु जम्मा हुन्छन। मेरा आँखाहरु भने तिमीलाई नै खोजी रहन्छन। रात भरि चचहुई चचहुईको आवाज आउँछ, मेरा कानहरु तिम्रो आवाज सुन्नको लागि ठाडा हुन्छन। हिजो राती पनि निन्द्रै परेन। जव तिम्रो याद आउँछ तिमी जन्मे देखिका कुराहरु टेलिभिजनका धारावाहिक श्रृखंलाहरु झैं मेरो मश्तिस्कमा आईदिन्छन। मेरो जीवनमा थुप्रै आँधीहरु आए कति कुराहरु त तिमीलाई सुनाएकै छैन र सुनाएर साध्यै छैन।

म २० वर्ष हुँदा तिमी जन्मियौ, तिमी ४ वर्षमा टेकेका थियौ, बहिनी केबल ३ महिनाकी मात्र थिई, तिम्रो बाबाको अल्पआयू मै श्वर्गे भयो। हाम्रो जीवनमा ठूलो बज्रपात पर्‍यो। घरपरिवार र छरछिमेकले हामीलाई धृणा र तिरस्कार सिवाय केहि गरेनन। तिम्रा हजुरबा हजुरआमाको नजरमा म टोकाही र अलिक्षिनी सावित भएँ। बाबाको स्वर्गे पछि घरले मात्र हैन मेरा माईतीले पनि मलाई निको मानेनन। धन्सारको एक कुनामा तिमीहरुलाई काखी चापेर बसेको हिजै होकी जस्तो लाग्छ। जवानी मै बिधवा हँदाका पिडाहरु कसरी पोखुँ? समाज त्यस्तै थियो। कसरी, कुन निउ पारेर यो बिधवालाई लखेटौं भन्ने भावना हामै परिवारका सदस्यहरुलाई पनि थियो। बाटोमा कसैलाई भेट्दा पनि म कुसाईतकीे पात्र कहलाउँथें। मान्छेहरु मसँग बोल्न पनि डराउँथे। जो सँग बोल्छु , गाउँलेहरुले मलाई त्यसैसँग पल्किएकी छे भनेर कुरा काट्थे। मैले त जीवनसँग हार खाई सकेकी थिएँ। धेरै पटक आत्महत्या गर्न सम्म तम्सिएकी थिएँ। फेरी तिमीहरुको मायाले मलाई मर्न दिइन। यो दुष्ट समाजमा अधम्य साहस बटुलेर मनलाई पत्थर बनाई संधर्ष गरिरहें। खाली पेटमा पटुकी कसेर, रात दिन मेलापाता र निबेकी गर्दै तिमीहरुलाई हुर्काएँ। जोरीपारी र समाजको सामु तिमीहरुलाई कहिल्यै टुहुरा महसुस हुन दिईन। तिमीहरुले पनि मेरो भावना बुझेर मेहनत गर्‍यौ। आज तिमी मेरो मात्र नभएर हाम्रो खानदान कै बत्ती बनेका छौ। तिम्रो बाबाले आजको तिम्रो सफलता अनि यो ऐश्वर्य देख्न पाउनु भएन जुन उहाँको धोका थियो। सायद उहाँको चिर आत्माले अस्तित्वको कुनै ओझेलबाट हेरेर सन्तोष गर्दै होला। यस्तै विश्वासले मलाई आनन्द लाग्दछ। अधिल्लो हिउँद सम्म बहिनी सँगै थिई। मेरोलागि ठूलो साहारा बनेकी थिई। जति माया गरे पनि छोरीको जात पराईको नासो रहेछ। गतिलो घर पाएर बेलैमा जिम्मा लगाईयो। अचेल उसकै घर नजिकैको हेल्थपोष्ठमा काम गर्छे। बहिनी घर गए पछि मलाई मुख बोल्ने साथी सम्म कोही छैन। भित्तामा टाँसेका तिम्रा तस्विरहरु हेरेर, कहिले तिम्रो सुन्दर भविश्यको कल्पनामा डुबेर र कहिले आफैंले पार गरेका काहाली लाग्दा दिनहरुको यादमा दिनहरु बिताई रहेकी छु।

तिमीले घर छोडे पछि आजसम्म तिम्रो कोठा जस्ताको तस्तै छ। हरेक साँझ बत्ति बालिदिने गरेकी छु। हरेक दिन बिहान कोठा खोलेर तिम्रा तस्विरहरु नहेरी मेरो दिनाचार्य शुरु नै हुँदैन भने हरेक रात तिमीलाई नसम्झी उज्यालै हुँदैन। घरबाट विदा भएर निस्कने बेलामा फेरेका तिम्रा एक जोडी कपडाहरु अझसम्म पनि नधोईकन राखेकी छु। जव तिम्रो यादमा म बेहाल हुन्छु तिम्रा कोठामा पसेर रोए पछि मेरो मन हलुङ्गो हुन्छ। भान्छामा मिठो पाक्दा पनि तिमी बिना मेरो घाँटीबाटै तल जाँदैन। तिम्रो मिठाउरे स्वभाव सम्झेर मुटुमा भक्कानो छुटेर आउँछ। हरेक चोटी खाना खाने बेलामा दराजमा सजाएर राखेको तिमीले खाना खाने चरेसका थाल कचौरामा आँखा पुग्छन। लाग्छ तिम्रो घर, कोठा देखि लिएर तिमीले प्रयोग गर्ने सबै चिजहरुले मैले जस्तै तिम्रो प्रतिक्षा गरेर बसेका छन।

बहिनी अनि ज्वाईले त बुझेका छन, तिम्रा साथी भाईले फोन गर्दा “तेरी आमा बिरामी छे, कमजोर भएकी छे” भनि सुनाई देलान। मेरो चिन्ता नगर। म अझै तगडै छु। कहिल्यै शुख नपाएको यो बुढो शरीर अब शुखका दिन आउँदैछन भनेर निउँ खोजेको हो जस्तो लाग्छ। ठूलो रोग हैन। अलिकती उकालो ओरालो हिँड्न असजिलो हुन्छ र देब्रे छातीको करङ्ग भित्र दुख्ने रोग हो। दवाई खान थाले पछि धेरै बिसेक भएको छ । बहिनी र ज्वाईले हरेक महिनाको २० गते अस्पताल लैजान्छन र हरेक साँझ बिहान उनीहरुले नै फोन गरेर औषधी खान सम्झाउँछन।

तिमी त मैले जन्माएको छोरा हौ। सानै देखि मेरा शुख दुखमा सहभागि भएर हुर्कियौ। सारा दुःख सहेर तिमीलाई राम्रो शिक्षा दिन कहिल्यै पछाडि परेकी छैन र तिमीले पनि समाजमा “आच्चि” भन्ने खालका कामहरु कहिल्यै पनि गर्ने छैनौ भन्ने ममा घम48ड छ। समयले युग काटे पनि, गाउँमा विकासले काँचुली फेरे पनि सामाजको सोचाई जस्ताको तस्तै छ। तिमीलाई थाहै छ। कसलाई कसरी होच्चाउने र गिराउने भन्ने मात्र चासो राख्दछ। फलानीको छोरो त अमेरिका मै बिहे गरेर उतै बस्यो अरे भनेर आजकल जोरीपारीहरु खासखुस कुरा गर्छन। मलाई त दुनियाका यस्ता कुराहरुमा बिश्वासै लाग्दैन। तिमी माथि पूरा विश्वास छ। तिमीले हाम्रो उराठ काहाली लाग्दो परिवारमा धन अनि ईज्जतको थुप्रो लागाई दिएका छौ। अव मेरो एउटै धोको छ, तिम्रो घरजम भएको देख्न पाउनु। आशा छ आमाको यो धोको पुर्‍याउन आउँदो हिउँद सम्ममा छोरा हाँजिर हुने छ।

फेरि पनि, तिम्रा खुट्टामा ठेस नलागोस, तिमीलाई टाउको नदुखोस, तिमीले आँटे ताकेको कुरा पुगोस, तिम्रो कृती बढ्दै जाओस, तिमीलाई लोकले मानोस, तिमी चिरञ्जीबी भए र तिमीलाई छिट्टै भेट्न पाउँ भनि नवदुर्गा भवानीसँग प्रार्थना गर्दछु।

तिम्री आमा


[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

5 comments :

Anonymous said...

Wow…!!! Great write up.
It made me anxious.

Postak said...

Heart touching! A representative letter of all mothers to their children abroad.Reminded me of Dashain back in good old days.

Jayanti D said...

Touched my Heart.

Anonymous said...

its really touch on my heart. its real story of poor villagers of nepal who are single woman, struggled nepalese people. raju ji is best of best on like his charecter on his letter.

rajesh said...

it is very hearty. i am impress really. thank you, it is show our social activity in community. really3 impress and sentiment.

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP