May 26, 2010

पुरुष - कथा

Facebook


उपमा अर्याल
छाउनी, काठमाडौं
हाल- मिनेसोटा, अमेरिका

नारी भन्दा विशिष्ट रे पुरुष
बलिया र बुद्धिमानी रे पुरुष
फेरी नारीबाट धेरै नै अपेक्षा
गर्ने गर्छन् रे यिनै पुरुष ।

प्रायः म निराशावाद होइन आशावादी गीत सुन्न रुचाउँछु। त्यसैले होला आज भोलि राजेश पायल राईको "दर्शन नमस्ते" भन्ने गीत निकै नै सुनिरहेकी छु। कति मीठो शब्द चयन, कति मीठो लय अनि स्वर, अनि त्यस्तै मन्त्रमुग्ध पर्ने सङ्गीत! सार्है राम्रो संयोजन यी सबका-यस गीतमा । हुन त यस्ता खालका सङ्गीत मैले पहिला पनि सुनेकी हुँ तर यस गीतका रचनाकारले यस्तो मोहनी लगाइदिएका छन कि मलाई आज भोलि त म आफ्नोमा आउने बिरामीहरूलाई पनि सङ्गीतमा रमाउन आग्रह गर्छु। त्यसका शब्द शब्दमा डुब्न आग्रह गर्छु अनि त्यसको भाबमा हराउन प्रेरित गर्छु, जसले उनि हरुलाई एक छिन भने पनि concentrate गराउन मद्दत गरोस्। अलि अलि भनेपनी उनिहरुको जीवनमा आशाका दियोहरु जलाउन सकुन यस्ता सङ्गीतका रागले भन्ने अभिलाषाले मैले यो काम १-२ जनाबाट सुरु गरेकी थिए, अहिले राम्रै पाएकी छु।


पेसाले म psychiatric हुँ। सानै देखी नै मलाई यस पेसाले आकर्षित गरेको थियो। साधारण मान्छेहरूको मन र बिचार त बुझ्न नसकिने यो आलोचनात्मक समाजमा अझ यस्ता मानसिक सन्तुलन ठीक नभएका मान्छेहरूको मनमस्तिष्क बुझ्नु पर्ने चुनौतीपूर्ण काम “गर्छु वा बन्छु” भन्न जति सजिलो छ त्यति नै कठिन गर्नलाई छ । तर आज भोलि psychiatric सुफलको अगाडि "कुशल" भन्ने "ट्याग" पनि थपिदिएका छन् मेरा सम्पूर्ण बिरामी अनि उनिहरुसँग आउने बिरामी-कुरुवाहरूले। खै थाहा छैन मलाई-म आफू कुशल छु कि छैन तर यो "कुशल" भन्ने शब्दले मलाई यती हौसला दिएको छ कि म त्यसको बर्णन शब्द मार्फत गर्नै सक्दिन। मेरो काम प्रतिको लगनशीलता र मिहिनेतबाट जुन "ट्याग" मैले पाएकी छु, त्यसले मलाई अझ "तँ केही गर्न सक्छस्" भन्ने भावना जगाइदिएको छ। यसले मेरा आत्मविश्वास दह्रो पारिदिएको छ। मेरा बिरामी निको पर्ने मेरो आशा अनि उनिहरुका म प्रतिको भरोसा अनि हौसलाको परिणाम नै भन्छु म यो ट्यागलाई। जे होस् म मेरो आशा अनि उनिहरुको हौसलालाई निरन्तर पच्छ्याइरहन पाउँ जुग जुग सम्म पनि।

समय परिवर्तनशील छ। यही परिवर्तित समय सँग सँगै हाम्रो समाज पनि सभ्यता र आधुनिकता तिर मोडिनु स्वाभाविक नै लाग्छ मलाई। यही आधुनिक समाजमा मानिसहरू पनि आधुनिक तरिकाले नै चल्नुपर्छ या भनु समय सापेक्षिक तबरले आफूले ढाल्दै लैजानु पर्दछ। हो, पुर्खाहरूले देखाउँदै आएका बाटोहरु हामीले छोड्नु हुन्न तर त्यसलाई समयको माग अनुसार, ठाउँ र परिस्थिति अवलोकन गरी, परिवर्तन गर्दै , परिवर्तित आधुनिक समाज संगै आधुनिक भएर बाँच्न हिम्मत बटुल्नु पर्छ। बाजे बराजुले गर्दै आएका काम कुरा नै अहिले हुबहु अँगाल्छु अनि आफ्ना भाबी पुस्तालाई पनि त्यही गराउन लगाउँछु भन्नु मूर्खता हो। यो त सरासर आधुनिक समाजसँग भग्न खोज्नु हो। “बुढा मरे भाषा सरे” भन्ने उखान यही समाजमा नै लागु हुन्छ। आफ्ना भाबी पुस्तालाई के कस्तो संस्कार दिने हो त्यो त आफैँमा भर पर्ने कुरा हो र आफ्नो सन्ततिलाई अगाडि पैदा हुने बाटाहरु पहिल्याइदिनु पनि आफ्नो कर्तव्य हो । तर जहाँ सम्म मलाई लाग्छ म मेरा भाबी पुस्ताहरूलाई आधुनिक समाजसँग भग्न उत्प्रेरित गराउन्न ता कि भविष्यमा उनिहरुलाई परिवर्तित आधुनिक समाजमा हिँड्न कुनै आत्मग्लानि नहोस्।

यस्तै एउटा case आएको छ महिना भइसकेको थियो। अहिले सम्म पनि १०० मा ९९ पनि भएको थिएन। यो case पनि आयो अन्तमा मलाई नै। बिरामीलाई हेर्नु भन्दा पहिला सबै उसको past history हरु सरर हेरें । पहिला त त्यस्तो डरलाग्दो रोग वा कुनै Symptoms केही पनि रहेन छ। उसो भए केही कामकुराबाट उस्लाई shock परेको होला भन्ने भान मैले गरे। कति उमेर कि रहिछ भनेर यसो जन्म मिति हेर्न खोजेको त उस्को नाममा आँखा गयो। नाम रहेछ “स्मृति शर्मा महर्जन”। म तीन छक्क परें। कतै यो मेरो साथी स्मृति त होइन। तर उ त स्मृति शर्मा मात्र हो। महर्जन कता बाट आयो? ल म अब पत्ता लगाउँछु भनेर अफिस बाट म बाहिरिए।

उसको कोठा नम्बर पत्ता लगाएर त्यही कोठाको बाटो लगे म। जति जति नजिक म त्यस कोठाको हुन्छु, एउटा परिचित आवाज मेरो कानले श्रवण गर्दै जान्छ। यती ठूलो स्वरले उसका क्रन्दनहरु उकाली रहेकी थिई कि मैले टाढैबाट उसको परिचित आवाज सुनिरहेको थिए। उ आफ्ना मनमा मन्थन भइरहेका बिषहरु कविता या गीतको जस्तै छन्द मिलाउँदै ओकाली रहेकी थिई। मुस्किलले मैले एउटा शब्द मात्र बुझें । “पुरुष” भन्ने शब्द । हरेक वाक्यमा यो शब्द छ - अनि यो शब्द उच्चारण गर्दा नै रिसले मुर्मुरिन्छे, आगो हुन्छे। शायद यस शब्द प्रति अति नै घृणा छ उसको।

सेतो रङ शान्तिको प्रतिक रङ भएकाले नै बिरामीहरूलाई यही रङको प्रयोग बढी गरिन्छ हाम्रो हस्पिटलमा। त्यही सेतो सफा पैजामा लगाएर कोठाको एक कुनामा गएर, टुक्रुक्क बसी, एउटा कापीमा केही पढेको जस्तो गरी- त्यही कबिता हो या गीत गाइरहेकी थिई उ। उसका कपाल टम्म बानी दिएको रहेछ कसैले। पहिलाकी रिस्ट पुस्ट स्मृति त कत्ति लुखुरी भइछ। ठम्याउन न नै गाह्रो भएको थियो मलाई तर उस्को दाहिने गालामा भएको कालो कोठीले उ मेरो साथी स्मृति नै हो भनेर सोह्रै आना ठोकुवा गरें मैले। म जति उसको नजिक हुन्थे त्यति उस्को त्यो "पुरुष" भन्ने शब्द ठूलो ठूलो आवाजमा प्रस्फुटन भइरहेको थियो। एक प्रकारको डर मिश्रित आवाजको श्रवण गरें मैले त्यो पुरुष शब्दमा। उस्को शरीरबाट चिट चिट पसिना निक्लिएको थियो। आफूले लगाएको लुगा पनि खोल्न खोजेकी थिई उस्ले। हो, मलाई थाहा छ यस्तो बेलामा आफ्नो शरीरमा भएका लुगा अनि गर-गहना सबैले करेन्ट लगेको जस्तो भान हुन्छ उनिहरुलाई। त्यही भएर खोल्न खोज्छन् हरेक चिजहरू आफ्नो शरीरबाट । म उस्लाई समाल्न खोज्छु तर सक्दिन। २-४ जनाको सहारामा उस्को रेगुलर जाँच गरी केही औषधी लेखिदिए अनि उस्लाई हेर्ने मान्छेलाई मेरो अफिसमा आउनु भने। मैले स्मृतिको घरको हरेक परिवार चिनेपनी उ को हो - म चिन्दिन्न उस्लाई। उस्लाई निदाउने औषधी दिन लगाएर म आफ्नो अफिस तिर लगें।

मेरो मन सार्है खिन्न भयो। आफुसगैँ हाँस खेल गर्दै हुर्के बढेका साथीसङी हामी। यस्तो कसरी हुन पुग्यो होला उस्को जीवनमा। जहाँ सम्म मैले उस्लाई बुझेकी थिए उ आफै यस्तो धमिली त कहाँ हुन सक्थी र! कति आँटिली थिई उ। पक्कै पनि कसैले बढेमाको पत्थर उस्को जीवनको पोखरीमा जबर जस्ती फाली, उस्को जीवन धमिल्याउन खोजेको हुन सक्छ । मैले अनुमान काटें। अहिले उस्लाई देख्दा र उस्ले नियमित रुपले उच्चारण गरिरहेको त्यो “पुरुष” भन्ने शब्दले नै म पागल पनको निवारण गर्ने मान्छे स्वयं पागल जस्तै भएकी छु। होइन, होइन, उस्को परिस्थिति देखेर म कमजोर हुनुहुन्न । मेरो मनले मलाई सान्त्वना दिन खोज्यो। मलाई लाग्यो उसको त्यो आवाज कति शक्तिशाली छ अहिलेको परिवेशमा । म त्यही आवाजलाई आफ्नो हतियार बनाइ उस्को तनमनमा उम्लिरहेको तेजाबलाई अमृतमा परिवर्तन आवश्यक गर्छु । उसलाई फेरी मान्छे बनाउँछु । यो मेरो विश्वास हो।

एक तमासले सोच्दै थिए कसरी अब उस्को उपचार अगाडि लाने भनेर, के के कुराको research गर्ने भनेर, अचानक मेरो आँखा उस्को फाइलमा गयो। केही आशाका किरणहरु भेटिन्छन् कि भन्ने आशाले पल्टाउन थालें म त्यो फाइल । त्यो फाइलसँगै च्यापेर त उस्ले पढ्ने गरेको कपी पनि लेराएछु मैले ।उस्ले पल्टाई रहेको पन्नामा यो कविता थियो।

नारी भन्दा विशिष्ट रे पुरुष
बलिया र बुद्धिमानी रे पुरुष
फेरी नारीबाट धेरै नै अपेक्षा
गर्ने गर्छन् रे यिनै पुरुष ।

कविता त एकदम नै लेख्थी उ । प्रायः extra curricular activities का मेडलहरु उस्को नै हात पर्थे। यो कवितामा पनि हरेक वाक्यका अन्तिममा “पुरुष” भन्ने शब्द छ अनी पुरुष कै वर्णन गरिएको छ ।मैले यस कवितामा मार्फत के निस्कर्श निकाले भने उसलाई पुरुष प्रति नै अति घृणा छ । यही कविताको माध्यमबाट नै पुरुष प्रति आत्मग्लानिका कुराहरू पोखेकी छे । हुन पनि हाम्रो देशमा जो कोही महिलाहरू यस्तो बिरामीको उपचार गर्न आउछन, प्राय जसो उनिहरु आफ्नो लोग्ने, आफ्नो प्रेमी या समग्रमा भन्नु पर्दा पुरुषबाट नै पीडिन भई आएका हुन्छन्। यस्तो माहोलमा उ अछुतो छे भन्ने शंका गर्न मैले मिल्दैन्न। अझ उस्को आवाजले र यही कविताले पनि यस्तो दर्साएकै छ। त्यस्को प्रमाण दिएको छ।

क्रमश…..

Share[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Anonymous said...

Nice story.. Waiting for the second part...

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP