Jul 26, 2010

धेरै आमा हरुकी एउटै छोरी -दिलशोभा

Facebook

-दिलशोभा श्रेष्ठ
काठमाण्डौं


आखिर खुसीको महासागरमा डुब्नका लागि अरूबाट 'माग्नु र लिनु'भन्दा पनि अरूको लागि 'गर्नु र दिनु' पर्दो रहेछ। र 'गर्नु र दिनु' भनेको पडाड उचाल्नुसरह या सुनै सुन दिनु पनि होइन रहेछ! मानिसको प्राकृतिक हक 'माया, न्यानो र तातो'को लागि अलिकता जोहो गरिदिए पुग्नेरहेछ। त्यसैले म 'माया, न्यानो र तातो' मा विश्वास गर्छु। यो मानिसको प्राकृतिक हक हो भन्ने कुरामा विश्वास गर्छु।

यस्तो समय पनि थियो, जतिबेला मसँग प्रशस्त बैंक ब्यालेन्स थियो। पैसा ब्याजमा पनि लगाउँथें। चाँदीका थालीमा फूल पर्सादी राखेर मन्दिरहरू घुम्थें। ब्रत बस्थें। तर मलाई तृप्ति र पूर्णताको अनुभव कहिल्यै हुँदैनथ्यो। मन सधैँ अशान्त र वेचैन रहने गर्दथ्यो।

त्रिपुरेश्वरको बाटो हिँड्दा सडक छेउछाउमा बसेका अशक्त बूढीआमाहरू देखिन्थे। तिनलाई देख्दा मनमा कस्तो-कस्तो लाग्थ्यो। कहिले कहिले निहुरेर 'आमा तपाईंलाई कस्तो छ?' भनेर सोध्थें पनि। तर कतिले कानै सुन्दैनथे, कतिले भाषै बुझ्दैनथे, कतिले उत्तरै फर्काउन सक्दैनथे। अनि मनमा प्रश्नहरू जाग्थे- यस्तो अवस्थामा समेत बाँच्नका लागि सङ्घर्षरत यी वृद्धाहरूको विगत कस्तो थियो होला? यिनले किन यस्तो जीवन बाँच्नु पर्‍यो होला? परिवार, भाग्य र समयद्वारा समेत परित्यक्त यी बूढीआमैहरूले त आफ्नो जिजीविषालाई यसरी जिउँदो राखेका छन् भने मसँग त उमेर छ, स्वास्थ्य छ, सम्पत्ति छ, तैपनि म किन सधैं दुःखी र अशान्त छु? मैले एक दिन आफैंले आफैंलाई सोझ्याएको यो प्रश्नले मेरो मोक्षको पहिलो ढोका खोलिदियो।

त्यसपछि, मैले ती आमाहरूलाई केही न केही लगिदिन थालें। दिनुको नशा लिनुको नशा भन्दा झन् दह्रो हुने रहेछ, जति दियो उति दिऊँ दिऊँ लाग्ने! केही खान, लगाउन वा ओढ्न दिएको बेला तिनका आँखामा ढल्पलाउने आँसुमा मैले वास्तविक देउताको दर्शन पाउन थालेँ। अनि उनीहरूको ओठमा थर्थराएको मुस्कानले मलाई गहिरो सन्तुष्टि र खुसी दिन थाल्यो। त्यसपछि मलाई विश्वास हुनथाल्यो- "अलिकति माया र न्यानोले पनि मानिसको जीवन बदल्न सक्छ, सन्तुष्टि र खुसी दिनसक्छ।"
मलाई विस्तारै लाग्न थाल्यो, 'मृत्यु जीवनको अन्तिम सत्य' हो भने 'माया, न्यानो र तातो' पहिलो सत्य हो। विलासिता, आधुनिकता र सांसारिकताको होडमा मान्छे जहाँसम्म पुगे पनि आखिर सुख, शान्ति र गर्वका साथ बाँच्न त 'माया, न्यानो र तातो' नै पर्याप्त हुने रहेछ। यही विश्वासको जगमा मैले सर्वप्रथम आफ्नो घरको पहिलो तल्ला खाली गराएँ। सडक किनाराबाट पाँच जना बूढीआमाहरूलाई उठाएर ल्याएँ। त्यतिबेला कतिले 'के के जातको फोहोरी रोगी मान्छे लिएर आई, दिलशोभा त बौलाई' समेत भने। तर मैले हाँसेर टाँरें। पक्षाघात र अल्जाइमर्सका सिकार समेत भएका ती आमाहरूलाई मनतातो पानीले नुहाइदिएर, नङ्ग कपाल काटेर, तातो गाँस खान दिएर, न्यानो सिरक ओढाइदिँदा उनीहरू त भर्खर काँचुली फेरेका सर्प जस्तै भए, छाला तन्केर, गोरो भएर आयो, घाउहरू निको भए, उनीहरुको आत्मा नै बौरिन थाले जस्तो भयो। म दङ्ग परें। मलाई आफ्नै चेतनाले स्याबासी दियो।


यो लगभग १२ वर्ष अगाडिको कुरा हो। त्यसपछिका मेरा हरेक दिन मैले उनीहरूलाई 'माया, न्यानो र तातो' दिलाउनुमै समपर्ण गरें। आजसम्म आइपुग्दा सत्तरी जना जति आमाहरूको सेवा गरिसकेकी छु। कतिले यो चोला छोडेर गइसक्नुभयो। कतिलाई म एक्लै आर्यघाट गएर जलाएर पनि आएकी छु। आजकल कतिले सहयोग पनि गर्न थालेका छन्। अहिले धेरै सजिलो छ। म अटल र गहिरो खुसीको महासागरमा डुबेकी छु। आखिर खुसीको महासागरमा डुब्नका लागि अरूबाट 'माग्नु र लिनु'भन्दा पनि अरूको लागि 'गर्नु र दिनु' पर्दो रहेछ। र 'गर्नु र दिनु' भनेको पडाड उचाल्नुसरह या सुनै सुन दिनु पनि होइन रहेछ! मानिसको प्राकृतिक हक 'माया, न्यानो र तातो'को लागि अलिकता जोहो गरिदिए पुग्नेरहेछ। त्यसैले म 'माया, न्यानो र तातो' मा विश्वास गर्छु। यो मानिसको प्राकृतिक हक हो भन्ने कुरामा विश्वास गर्छु।

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP