Oct 31, 2010

दृष्टि सम्यक सृष्टि सम्यक - कथा !

Facebook

-धनराज गिरी

निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन हम्मेहम्मे पर्दछ। साबित्री बनेर सफलताको सोपान चढ्न नसकेको देखाईन्छ। कुमारी नै रहेर स्नाकोत्तर, एमफिल, विद्यावारिधिसम्म अध्ययन गर्न सक्छन् भन्नेकुरोलाई असम्भव देखाईन्छ।

घरबाट धेरै टाढा। एउटा साहित्यिक कार्यक्रम। यसपालीको रौनक अलि बेग्लै। तीन मुलुकका स्रष्टाहरु जम्मा भएकाछन्। नयाँ धेरै, पूराना कम। मौसम मध्यम। जाडो पनि छैन, गर्मी पनि छैन। शीतल पवन चलिरहेछ। नजिकै पुष्पबाटिका। त्यसैको सुगन्धले साहित्यिक मन त्यसै साहित्यिक भएकोछ। एउटा लजको ठूलै हलमा जम्मा भएका छन्, स्रष्टाहरु। युवकहरु छन्। युवतीहरु छन्।गजलमय वातावरण। शेरहरु सदुपयोग भएकाछन्। मायाप्रेमका चास्नीमा डुबेका रसदार मिसरा-ए-उला र मिसरा-ए-सानी। एउटी युवतीको बलरामको नजिक आउँछिन्। युवतीको नाम जमुना। अनुहार नराम्रो छैन। शारीरिक बनोट अनाकर्षक छैन।
भेषभुषामा कुनै कमी छैन। भमरा तानिने शक्ति छ त्यो फूलमा। जमुनाको मनमा केही कुरा खेलिरहेको छ भन्ने अनुमान गर्छ बलराम। बलराम उमेरले ५० तिरको भएपनि वयले त्यस्तो देखिदैन। व्यक्तित्व त्यति दरिद्र छैन। उज्यालो अनुहार र मीठो बोली उसको परिचय। मानिसहरु उसित छिट्टै झ्यामिन्छन्। साहित्यिक मनहरु प्राय: नौनीको हुन्छन्। छिट्टै पग्लिन्छन्।

“दाजु, हजुरसित केही भन्न मन लागेको थियो।“ मौनता भंग गर्छिन् जमुना।
“निर्धक्कसित भनौं। यो गणतन्त्रमा मनमा लागेको कुरा भन्न पाईन्छ।“
“दाजुलाई अप्ठ्यारो पर्छ कि?”
“अप्ठ्यारोलाई कसरी सजिलो पार्ने त्यो मन्त्र तिम्रो दाजुलाई थाहाछ। ढुक्क भएर भन।“
“यो पुरुषप्रधान समाजमा हामी नारी स्रष्टाहरु पुरुषहरुझैं स्वतन्त्र भएर बिचरण गर्न पाउँदैनौं। हिम्मत गरेमा नानभाँती सुन्नुपर्छ। नारीका बारेमा नारीले बढी चियोचर्चो गरेको पाईन्छ। यस्तो किन हुन्छ? के हामी स्वतन्त्र छैनौं? एक्काईसौं शताब्दीमा पनि यो विभेद किन?”

“तिम्रो मनमा यो प्रश्न गरेको दीर्घकाल भएको हुनुपर्छ। आज हरेक सचेत नारी यही सोच्न बाध्य छिन्। यसका केही सामाजिक कारणहरु छन्, केही साँस्कृतिक र केही प्राकृतिक। समय बदलिए पनि दृष्टिकोण बदलिएको छैन। सँस्कार बदलिएको छैन। जति यात्रा गरेपनि हामी कहिं पनि पुगेका छैनौं। यो नयाँ युगमा हामी पूरानै सोचको भारी बोकेर हिंडिरहेकाछौं। चिन्ता नगर, समयले सबै हिसाबकिताब मिलाउँछ।

“आशावादी त भइयो। तर आशा र सपना फगत आशा र सपनामै सीमित रहे। आज हामी जस्ता नारीहरु जहाँ गए पनि गिद्देदृष्टि शिकार हुन्छौं। अपवादलाई छोडेर धेरैजसो लोग्नेमान्छेहरु हामीलाई लालमोहन र रसवरी ठान्छन्। उनीहरुको नजरमा हामी भोगबिलासको सामान। सन्तान उत्पादन गर्ने मेशिन। गृहलक्ष्मी। सुन्दर खेलौना पढ्नु भएकोछ दाजुले, लोग्ने मान्छेले लेखेका कथाहरु?” आवाज कमजोर हुन्छ जमुनाको।

“पढेकोछु। फेला परेजति पढेकोछु। निरीह बनाउँछन् नारीलाई। बृक्ष बन्न दिदैनन्, लहरा बनाउँछन्। स्वाधीन हुन दिंदैनन्, पराधीन बनाउँछन्। एउटी नारी यदि समाउने हाँगो र टेक्ने खुट्किलोबिहीन् भइन् भने या त उनले आत्महत्या गर्नुपर्छ या देहब्यापारमा संलग्न हुनुपर्छ। अरु बिकल्पका ढोकाहरु बन्द गरिन्छन्। राजनीतिमा लागे पनि, साहित्यमा लागे पनि, चलचित्रमा लागे पनि, जहाँ पनि, जता पनि चरित्र जोगाउन हम्मेहम्मे पर्दछ। साबित्री बनेर सफलताको सोपान चढ्न नसकेको देखाईन्छ। कुमारी नै रहेर स्नाकोत्तर, एमफिल, विद्यावारिधिसम्म अध्ययन गर्न सक्छन् भन्नेकुरोलाई असम्भव देखाईन्छ। अवला
प्रमाणित गरिन्छ। सरासर गलत भएकोछ नारीमाथि। तिमीहरु जाग्नु पर्दछ। लेख्नुपर्दछ यस्ता बिकृति बिसंगतिहरुका बिरुद्धमा। नारीलाई निरीह र कमजोर बनाएर कथिएका आख्यानका किताबहरु जलाउनु पर्दछ। त्यस्ता सर्जकहरुलाई कर्मानुसारको फल दिन पर्दछ। पारिजात र झमक घिमिरेहरु पुनि नारी हुन्। नारीमा अदभूत शक्ति हुन्छ। द्रौपदी बनेर दूर्योधन र दूशासनहरुको अत्याचार सहने होईन, उग्रचण्डी बनेर प्रतिरोध गर्न सक्नुपर्दछ। अन्यास सहने यूग होइन। प्रतिकार गर्नुपर्दछ।“

“आज पहिलोपटक एउटा लोग्ने मान्छेको मुखबाट नारीको पक्षमा यति सुन्दर बिचार प्रकट भएको पाएं। दाजुको बारेमा धेरै सुनेको थिंए। जस्तो सुनेको थिंए, त्यस्तै पाएं। यो बचनामृत मेरो लागि उर्जा बन्नेछ।“
“थप केही जिज्ञासा?”
“दाजु, असल र खराब लोग्नेमान्छे कसरी चिन्ने?”
असल र खराब यी दुबै शब्द समय, परिश्थिति र ब्यक्ति सापेक्ष हुन्छ। न कोही असल हुन्छन्, न कोही खराब। यहाँ हामीले बहसको केन्द्रबिन्दु “यौन” बनाएझैं लाग्यो। यो मामिलामा हरेक मान्छे कमजोर हुन्छ। प्रकृतिको सामुन्ने हामी सबै नतमस्तक छौं। आफैंलाई नझुक्याउने हो भने विपरीत लिङगप्रति जो पनि आकर्षित हुन्छ। लोग्नेमान्छे छिट्टै पग्लिन्छन् र खराब जस्ता लाग्छन्। भित्र भित्र आईमाईहरु दोब्बर खतरनाक हुन्छन्। ईच्छाहरुलाई दमन गर्छौं हामी। विवेक प्रयोग गर्दछौं। भावना सबैको एउटै हो। राम्रो कुराले कसलाई आकर्षण गर्दैन? धर्मेन्द्र र हेमामालिनीको बीचमा आकर्षण हुनु सामान्य कुरा हो। प्रेमले अनुशासन र मर्यादाका बारेमा सोचिरहैदैन। प्रेम हुन्छ, गरिदैन। अरबौंले अरबौंपटक गरेको अनुभूति हो यो। हामी मान्छे हौं। हाम्रा हरेक आचरण मर्यादित हुनुपर्दछ। समाज हाम्रै आचरणमा बहन लायक हुन्छ। खराब आचरण भएका मानिसहरुको आँखा पढौं। मुखले जति झूट बोले पनि आँखा सत्य प्रकट गर्न विवस हुन्छन्। झूटो बोल्ने मान्छेले हामीसित आँखा मिलाएर बोल्नै सक्दैन। यसरी चिनिन्छ असल र खराब मान्छे। त्यो भन्दा पनि आफू ठीक, सबै ठीक।

“यहाँहरको वार्ता सारपूर्ण लाग्यो।“ एउटी युवती।
"हजुरको प्रवचन क्षमता राम्रो लाग्यो। हजुर प्राध्यापक हो?” अर्को युवक।
“दाजुलाई चिन्दैनौ?, उहाँ आफ्नो जिल्लामा नाम कमाएको शिक्षाविद हुनुहुन्छ, साहित्यकार पनि।“ जमुना।
“म त सरसंग पहिलोपटक साक्षात्कार हुदैछु।“ उही युवक।
“अब गजल सुनौं”। जमुना।
“आजको बहसको निश्कर्ष के भयो त जमुना?” बलरामको जिज्ञासा।
“आफू भला त जगत भला।“
“बस, पाठ बुझ्यौ। तिमी बिद्यार्थी जीवमा सधैं प्रथम त भइनौ?”ठट्टाको मुडमा हुन्छ बलराम।
“आइ ए सम्म प्रथम, त्यसपछि पुलाउ खुवाए।“
“हो, यहीनेर पछि पर्छन् हाम्रा चेलीहरु। कमसेकम स्नाकोत्तर पढुञ्जेल कुमारी नै बस्ने प्रण गर्नुपर्यो।
अनि काँक्रो होइन, थाँक्रो बनिन्छ। सतीसाल बनिन्छ।“
“हो, दाजु, त्यही भएर मैले बैनीलाई सिंउदो रंग्याउन दिएकीछैन। अहिले पी.एच.डी. गर्देछे।
“स्यावास जमुना, यसरी नै हुन्छ नारी मुक्ति। शिक्षामृत पिउनपाएमा हेरक महिला परमुखापेक्षी
बन्नु पर्दैन। वीत्तीय हिसाबले स्वाधीन नभएसम्म मनोबैज्ञानिक दासता स्वीकार्नुपर्दछ। आर्थिक
स्वतन्त्रता, न्युनिकरण गर्न नमिल्ने बिषय हो।“

“दाजुसंग आजको भेट सारै सार्थक रह्यो। अब निद्रा लाग्यो। गजल भोली सुन्ने”।


“गुड नाईट!”

“गुड नाईट!” सबै आ-आफ्नो कोठामा जान्छन्। घडीमा रातको ११ बज्दै छ। आकाशमा चन्द्रमा मुस्कुराईरहेकाछन्। बलराम कोठामा आउछन्। जमुनालाई मनमनै आशीर्वाद दिन्छ। निदाउने चेष्टा गर्छ। ब्युंझदा बिहानको १० बजिसकेको हुन्छ।[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

0 comments :

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP