Dec 6, 2010

बदलिएका बाटोहरु

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


“अफिसले पैसा पनि राम्रो दिंदैन। बसमा यात्रा गर्न पर्छ। कानै खाने गरी चालकले दोहोरी गीत घन्काउछ, सुन्न पर्छ। कहिले घन्टौं चक्काजाम हुन्छ। बसबाट ओर्लिएर घण्टौं, दिन भरि हिंड्न पर्छ। कहिले खोलाको किनारै किनार त कहिले भिरै भिरै। बेलुका सुत्ने ठाऊँको ठेगान हुन्न, खाने कुराको पनि ठेगान हुन्न। दिन भरि हिंड्दा थाकिन्छ अनि साँझ टन्न कोदोको रक्सी खायो, सुत्यो”।


धेरै दिन पछि अनलाईन च्याटमा सगुन झुल्कियो।

“दाइ नमस्ते”।

फ्रान्सेली संस्कृति केन्द्रमा फ्रान्सेली भाषा सिक्दा उ मेरो सहपाठी थियो। म भन्दा उमेरमा धेरै कान्छो भएर पनि उ मलाई तिमी भन्थ्यो र नाम नै लिएर सम्बोधन गर्थ्यो। सायद उ मलाई उसकै उमेरसरहको ठान्थ्यो कि कुनि। शुरुमा मलाई अलि असहज लागे पनि पछि मैले उसको सम्बोधनलाई पचाएको थिंए। सकेसम्म अरुलाई “तँपाई” भनेर सम्बोधन गर्ने म पनि उसलाई तिमी भनेर बोलाउन थालेको थिंए। तर अहिले उसले मलाई दाइ भनेर सम्बोधन गर्दा मैले आफूलाई धेरै नै बुज्रुक भएछु कि जस्तो पनि लाग्यो।

“तिमीले मलाई पहिला दाइ भनेर बोला’को जस्तो त लागेन नि सगुन, कसरी दाइ बनाई दियौ मलाई?

“ ल त्यसो भए अंकल भन्छु नि त, एल ओ एल। ” टाईप गर्यो उसले। मैले पनि “हाहाहाहा” टाइप गरें।
उ बेला बेलामा च्याटमा देखा पर्छ। कहिलेकाँहि कुराकानी हुन्छ, कहिले हुन्न। म च्याटमा आफैं अग्रसर हुने वा रमाएर बस्ने त गर्दिन तर ब्यस्तताको बाबजुद “हाई” वा “नमस्ते” भन्नेहरुलाई प्रत्यूत्तर फर्काउन कञ्जुसी चाँहि गर्दिन। कुरालाई सकेसम्म संक्षिप्त पार्ने प्रयास भने जरुर गर्छु।

“अनि के छ त सगुन, तिम्रो हालखबर?” औपचारिक प्रश्न म नै शुरु गर्छु।

“के हुनु, उही खोलानाला, पहाड, गाऊं चहार्दै हिंड्छु, जीन्दगी पटयार लाग्दो भयो भन्या। उसले दिक्दारी ब्यक्त गर्छ।
उ भूगर्भ शास्त्रको स्नाकोत्तर हो। एउटा कुनै बिकासे संस्थाको लागि चट्टान, माटो, पहाड, खोलानाला के के हो अनुसन्धान, खोजी गर्दै हिँड्छ। कहिले पर्वत जाँदै छु भन्छ त कहिले डोटीबाट हिजो मात्र फर्केको भन्छ।

“आफ्नो देशको खोलानाला, पहाड, गांऊघर घुम्दै हिंड्नु पाउनु खुशीको कुरा हो नि, खै हामीले त्यस्तो अवसर कहिले पाउने?”। म उस्को दिक्दारीमा केही आशाको किरण छर्ने कोशिष गर्छु।

“त्यो प्राकृतिक सुन्दरताको कुरा तिमी बाहिर बस्ने “टुरिष्ट” हरुको लागि मात्र हो। दुई चार दिन यसो आयो, घुम्यो, फोटो खिच्यो, अनि फेसबुकमा राख्यो, अनि आहा कस्तो राम्रो भन्यो। यहिँ बसेर उकाली ओराली गरेर कष्टकर जीवन बाँच्नेहरुको लागि यस्को के मतलब”।

“त्यो त हो”। उसको भनाईमा सत्यता थियो।

“अफिसले पैसा पनि राम्रो दिंदैन। बसमा यात्रा गर्न पर्छ। कानै खाने गरी चालकले दोहोरी गीत घन्काउछ, सुन्न पर्छ। कहिले घन्टौं चक्काजाम हुन्छ। बसबाट ओर्लिएर घण्टौं, दिन भरि हिंड्न पर्छ। कहिले खोलाको किनारै किनार त कहिले भिरै भिरै। बेलुका सुत्ने ठाऊँको ठेगान हुन्न, खाने कुराको पनि ठेगान हुन्न। दिन भरि हिंड्दा थाकिन्छ अनि साँझ टन्न कोदोको रक्सी खायो, सुत्यो”। उसको यात्रा कथा जारी रहन्छ। काठमाण्डौंको रैथाने नेवारको छोरालाई गाऊँघरको घुमाइ कष्टकर नै हुँदो हो।

“अनि शहरबाट आएको ‘सर’ भनेर गाऊँमा सम्मान पनि त हुन्छ नि? “ उसको नैराश्यतापूर्ण बृतान्तमा केही “पोजिटिभ टवीस्ट” दिन खोजें।

“खै पहिला त सम्मान हुन्थ्यो कि। अहिले त कहिले फलाना पार्टीको, कहिले फलाना समूहको, कहिले स्कुल भवन निर्माण सहयोगार्थ त कहिले के भनेर चन्दाको रसिद बूक बोकेर आउनेले हैरान पार्छन्। शहरबाट आउनेसंग चाँहि पैसाको बिटो नै हुन्छ भन्ठान कि क्या हो”।

“ अनि ‘भिलेज ब्यूटी’ साँइली माईलीहरु पनि शहरिया सरको वरिपरि झुम्मिन्न आउछन् नि होईन र?” उसको निरसतामा केही रस घोल्ने कोशिष गरें।

“कहाँ हुनु, धेरै साँइली माईलीहरु बिदेशतिर लागि सके। गाऊँमा त खाली बूढाबूढी, केटाकेटी, रोगी, अशक्तहरु मात्र छन्। गाऊँ घुमाइ निरसै छ नि, हेहेहे”। उसको कुरा सहि थियो। नेपाली युवाहरुको नेपालमा निश्चितरुपमा खडेरी नै परेको हुन पर्छ। यहाँ अमेरिकाका हरेक राज्यहरुमा नेपालीको भीड देख्छु। यूरोपतिर त्यस्तै छ। अरबतिर कति नेपालीहरु जान्छन् भन्ने कुरा त गल्फ र कतार एयरलाईन्सबाट यात्रा गर्दा नै थाहा हुन्छ।

“एक दुईवटीले तिमीलाई गाऊँमा कुरि राखेका पक्कै होलान् नि।” मैले ठट्टा जारी ने राखें।

“थियो नि। पोहोर साल नुवाकोट जाँदा एउटी बैंशालु कान्छीले लुकीलुकी हेर्थिन। मसंग जाने त हो त कान्छी भन्दा खित्तिती हांस्थिन्। तर यसपालीमा जांदा त उसको बिहे भइसके छ, हेहेहे”

“ए सगुन बिचरा, ब्रोकेन हार्ट”।

“ हे हे, त्यस्तो त केही होईन। “सुन त, म पनि अमेरिका आउन पर्यो। कुनै युनिभर्सिटीमा असिस्टेन्तशीप मिलाउन पर्यो”। उसको कुरा गाऊँघरतिरबाट अमेरिकातिर उड्यो। “यहाँको जीवन दिक्क लागि सक्यो भन्या। कहिले बन्द त कहिले के, बिजूली छैन, पानी पनि छैन, कहिले मटीत्तेल पाईन्न त कहिले चिनी। काम पनि यस्तो फिरन्ते छ”।

“हुन्छ, युनिभर्सिटीहरुसंग ‘करेस्पन्डेन्स’ गर न। मिली हाल्छ नि”। मैले यूनिभर्सिटी अफ मिन्नेसोटाको वेबसाईट लिंक दिंदै भने, “ मिन्नेसोटा आयौ भने मैले के सहयोग गर्नु पर्छ, म गरुँला नि”।

त्यसपछि उ च्याटरुममा अचानक हरायो। मैले अनुमान गरें, त्यहाँ बत्ती गएको हुन पर्छ।
*******
धेरै दिन पछि सगुनलाई अनलाईनमा भेटें।
“हेलो पोस्तक”!

“हेलो सगुन, के छ खबर? बसयात्रा, दोहोरी गीत, कोदोको रक्सी सबै ट्युनिंगमै छ?”

“एउटा अचम्मको कुरा भयो यार। यसपटक नुवाकोट जाँदा म त चन्दकलाको घरमा पो बास बस्न पुगेछु। चन्दकला पनि लाजले भुत्तुकै, मलाई पनि कस्तो कस्तो अप्ठ्यारो लाग्यो। ।

“ को चन्द्रकला नि?”

“उही मैले पहिला भनेको थिँए नि, नुवाकोटकी एउटी कान्छी भनेर। उसको नाम चाँहि चन्द्रकला हो क्या। श्रीमान पनि बिहे भएको एक महिनामै कतारतिर लागेछ, बिचरा”।

“ ए हो र, खाली ठाऊँ भर्ने कोशीष चाँहि नगर है”। मैले ठट्यौलो पाराले भनें।

“म सारै राम्रो मान्छे चाँहि नहूँला, तर त्यति गिरेको पनि छैन है।”

“ठट्टा मात्र गरेको, तिमी राम्रै मान्छे हौ भन्ने थाहा छ। अनि तिम्रो अमेरिकाको चाँजोपाँजो के हुँदैछ त?”

“ए मैले त तिमीलाई भन्नै बिर्सेको, मलाई युनिभर्सिटी अफ मिन्नेसोटाले ‘कन्फरमेशन’ पठायो नि। अभ भिसाको इन्टरभ्यूको तयारी गर्दैछु”।

“ए ल धेरै खुशीको कुरा सुनायौ। कोदोको रक्सी त होईन, तिमी यहाँ आएपछि वाइन चाँहि खुव पिउनुपर्छ”।

“मिन्नेसोटा खुव जाडो ठाऊँ हो रे हो?” उसले सोध्यो।

“जाडो त छ, तर त्यो बाहेक मिन्नेसोटाको अरु धेरै कुरा राम्रो छ। सुरक्षाश्थिति, गुणस्तर शिक्षा, उच्च जीवनस्तर आदि आदि”।

“ए ए, ल ल तिमीसंग छिट्टै भेट हुनेछ”।

“ ल सगुन, पछि कुरा गरूँला नि। अहिले एउटा असाइनमेन्ट सकाउने पर्नेछ”। मैले अनलाईन स्ट्याटस ‘बिजी’ मा परिवर्तन गरें।

******
त्यसको दुई महिना पछि सगुन अनलाईनमा देखा पर्यो। सधैंजसो पहिला उसले नै “हेल्लो” शुरुवात गर्थ्यो तर आज उ चुपचाप थियो। मैले नै च्याटरुमको ढोका खोलें।

“के छ सगुन, चुपचाप छौ नि। तिम्रो अमेरिका भिसा के भयो?”

“मेरो अमेरिका भिसा भयो”।

“ए ल खुशीको कुरा सुनायौ, बधाइ छ। अव कहिले आउने भयौ त?

“खै पोस्तक, म कन्फ्यूज भएरहेको छु। अहिले तनावमा छु। अमेरिका जाने कुरामा त्यति ध्यान दिन सकिरहेको छुइन”।
“किन र के भयो, त्यस्तो?”

“चन्द्रकलाको श्रीमानको कतारमा मृत्य भएछ। काम गर्ने मेशीनमा चेपिएछ।”।

“ए कस्तो दु:खको कुरा सुनायौ, तर यसले तिमीलाई किन टेन्सन दियो त?”।

“चन्द्रकलालाई उसका सासु ससुराहरुले ‘पोइ टोकुवा’, ‘अपशगुन’ आदि भनेर दिनहुँ जसो यातना दिइरहेकाछन्। अहिले मेरो काम त्यही गाऊँमा चलिरहेकोछ। मैले चन्द्रकलाको दुर्दशा सुन्न परिरहेको छ, देख्न परिरहेको छ। मैले एक वर्ष अघि भेट्दा चन्द्रकला चन्द्रमा जस्तै कति सुन्दर, सरल, निश्चल युवती थिइन्। अहिले ऊनी तिनै चन्द्रकला हुन भनेर चिन्न गारो पर्छ”।

“सगुन, तिम्रो यो चन्द्रकला प्रतिको भावना सहानुभूतीमात्र हो कि, त्यो भन्दा केही बढी हो?” म उसको दिलको गहिराइमा चियाउने कोशिष गर्छु।

“ म यहि छुट्टयाउन कोशिष गर्दैछु, पोस्तक। ल म अहिले अफलाइन जान्छु, भोली फेरि नुवाकोट जानुछ। तयारी गर्ने पर्यो”।

*****
त्यसको धेरै समय सम्म सगुनसंग अनलाईनमा भेट भएन। उसको अमेरिका यात्रा, चन्दकलाको कथा सबै कुन स्टेजमा छ, जान्ने उत्सुकता थाँति नै रहेकोथियो। फल सेमेष्टरको लाष्ट प्रोजेक्ट सबमिट गरेर कम्प्यूटर बन्दगर्न लागिरहेको थिंए-सगुन अनलाईनमा झुल्कियो।

“ ओ हो सगुन, तिमी त ब्यपत्ता भयौ नि”। मैले कुराको शुरुवात गरें

“ हो, म धेरै ब्यस्त भएँ। तिमीलाई केही कुराहरु सुनाउनु पनि छ”।

“त्यहि त, मेरा पनि जिज्ञासाका पुलिन्दाहरुको खात लागिरहेको छ। तिम्रो अमेरिका यात्रा, त्यो भन्दा पनि चन्द्रकलाबारे तिम्रो तनाव, सबै जान्न ब्यग्र छु”।

“मेरो अमेरिका यात्रा चाँहि क्यान्सिल”।

“किन?” मैले हत्तारिदै सोधें।

“मैले बिहे गरें”।

“ह्वाट? को संग?”

“अरु कोसंग हुन सक्छ, नुवाकोटकी उही कान्छीसंग नि। जसले मलाई तनाव दिईरहेकिथिइन्”।

“ए, चन्द्रकलासंग?” मलाई रमाइलो लाग्यो उसको कुरा सुनेर। “ ल बधाइ छ सगुन, तिम्रो बिहेको भोज चाँहि ‘ड्यू’ भयो है। म आगामी जून महिनामा नेपाल आउदा तिमी उम्किन पाउन्नौ नि”।

“जरुर, तिमीलाई म भोज खुवाउछु। तर म काठमाण्डौंमा बस्दिन। म अहिले नुवाकोटको तारुका गाऊंमा बस्छु। यो चन्द्रकलाको गाँऊ हो। यो गाँउ पनि चन्द्रकला जस्तै सुन्दर छ। तिमीलाई गाऊँघर घुम्न मन पर्छ भनेको होइन, तिमी यहाँ आउन पर्छ। म अहिले यहाँको हाईस्कूलमा बिज्ञान पढाउछु। मलाई अहिले यो उकाली ओराली, भीरपखेरा, खोलानाला हिँड्दा पहिला जस्तो दिक्क लाग्दैन। यी गाँउहरु, खोलानाला, डाँडाकाँडा तिमीले भने जस्तै सुन्दर रहेछ।”।

“यी भीर पखेरा, खोलानाला, चट्टानहरु मैले भनेर कि चन्द्रकलाको जादुले सुन्दर भएको हो? आफ्नो स्वभाव अनुसार जिस्काउन छोडिन मैले।

“सायद, दुइटै कुरा सत्य होला, हे हे” चलाखीपूर्ण उत्तर दियो उसले।

“तर तिम्रो अमेरिकामा बिद्यावारिधी गर्ने योजना अनि भविष्य?

“मलाई अमेरिकी बिद्यावारिधीको भन्दा यो गाँऊलाई एउटा बिज्ञान शिक्षकको खाँचो बढी छ जस्तो लाग्यो। एउटा बिहारी शिक्षकले छोडे पछि यहाँ बिज्ञान पढाउने मान्छे नै पाएका रहेनछन्”।

“ ल ल तिम्रो देश प्रेम र चन्द्रकला प्रेम दुबै सह्रानिय छ। तिमीले चन्द्रकलाको भत्किएको संसार फेरी बसायौ। अमेरीकामा बिद्यावारिधि गर्ने अवसरलाई त्यागेर गाँऊमा शिक्षक हुन रमायौ। तिमीले राम्रो काम गर्यौ।”।

“हे हे, धन्यवाद, पोस्तक”।

“ल सगुन, म अव खाना पकाउन जान्छु, तिम्रो दाम्पत्य जीवन सुखमय होस्। बुहारीलाई मेरो आशिर्वाद सुनाइदिनू।“

“अवस्य पनि”। च्याटरुम बन्द हुन्छ।

खाना पकाउदै गर्दा म मेरो कनिष्ठ मित्र सगुनबारे नै सोचिरहन्छु। प्रेमले ताज महल खडा गरिदिन्छ। प्रेमले मानिसको सोच र लक्ष्य बदलिदिन्छ। सगुनको सोच र लक्ष्य पनि बदलिएको थियो।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP