Apr 4, 2014

दसहजार तालको साम्राज्य

Facebook


राजेन्द्रप्रसाद अर्याल
गोरखा बजार, नेपाल ।
हालः म्याडिसन, विस्कन्सन, अमेरिका
Email:- aryalrajendra3@gmail.com
जनवरी, २०१२


   आकाशमार्गबाट विमानस्थललाई हेर्दा विद्युतीय उज्यालोले रात्रिकालीन सौन्दर्यको जलप थपिरहेथ्यो । मिनियापोलिस विमानस्थल ठूलै रहेछ । अमेरिकाको उत्तर दिशामा अवस्थित मिनिसोटा राज्यमा रहेको उक्त विमानस्थल त्यस क्षेत्रको महत्वपूर्ण अन्तर्राष्ट्रिय विमानस्थल हो भन्ने अवगत भयो । स्वदेशबाट उडेको चालीस घण्टापछि पाँच ठाउँमा ट्रान्जिट भै रातको ठीक दशबजे उक्त विमानस्थलमा अवतरण भएँ । हुन त साँझको पाँचबजे ओर्लनु पर्ने पूर्वनिर्धारित कार्याक्रममा वासिङ्गटन डि.सि.मा जाहाज छुटनाले पाँच घण्टाको यात्रा अवधि थप हुन गयो । एक हुल परिवारजनहरू तोकिएको समयमा विमानस्थलमा जम्मा भै रित्तै फर्कन परेको तितो यथार्थ बोधले मन चिसो भयो र पछिल्लो झमट सीता र विनायक मात्र मलाई लिन आउनु भएको थियो ।

  नेपालदेखि पातालभूमिसम्मको लामो यात्रा स्वयंमा पट्यार लाग्दो त्यसमाथि विमान छुटन गएको मानसिक तनावले लखतरान भै सकेको थिएँ । आफ्नो सामानको व्यग्र पर्खाइमा रहँदा रहँदै वासिङ्गटन डि.सी.बाट झोलाहरू विमानस्थलसम्म आइनपुगेको समाचारले मन भारी भयो । दुःखी बनायो, खल्लो लाग्यो । सामान नै हराउँछ कि भन्ने झिनो त्रासले मनको भित्री कुनामा गाँठो पारिरह्यो ।

   तर सो कक्षमा काम गर्ने महिला कर्मचारीको व्यवहार ज्यादै सहयोगी थियो । मधुर मुस्कान सहितको सुसंस्कृत नम्र व्यवहारले यात्रुहरूलाई लठ्याउँथ्यो । अपनत्वले भरिपूर्ण बोलिवचन कृतकृत्य पार्ने खालको थियो । लाग्दथ्यो झन्झट र तनावबाट मुक्त हुने मीठो तथा स्वादिलो औषधि यात्रुहरूलाई खुवाइरहेकी छन् । उनले मलाई यसरी आस्वस्त तुल्याइन् मानौं मेरा झोलाहरू मैसँग छन्, छुटेकै छैनन् ।

   भोलिपल्ट ती महिलाले दिएको समयभित्रै आफ्ना लगेजहरू सहिसलामत निबासस्थानमा आइपुगेको घटनाले अमेरिकीहरूको उच्च व्यवस्थापकीय क्षमताको नमुना प्रस्तुत गरिरहेजस्तो लाग्यो । झिनो त्रासयुक्त मनभित्रको गाँठो मात्र फुकेन हृदयमा विश्वासको टाँचा लाग्यो । उनीहरूप्रतिको श्रद्धाभाव अझ दुई इञ्च माथि उठ्यो । इमान र लगनशीलताको प्रशंसा गर्न मन लाग्यो ।

   पातालभूमि टेकेको चौथो दिन, अर्थात ९ अप्रिल २०११ । जे देख्यो त्यही नौला नै छन् अझै मलाई । मन विशेष प्रफुल्लित छ । नेपाली दाजुभाइहरूसँगको जम्काभेट हुने उमङ्गले सगरमाथाको चुचुरो चुम्न पुगेको छु । नयाँ वर्ष २०६८ भव्यतापूर्वक मनाउन मिनिसोटा नेपाली सङ्गठनले एउटा भेलाको आयोजना मिनिसोटा विश्वविद्यालयको ठूलो हलमा गरेको छ । रात्री भोजसहितको विविध साँस्कृतिक कार्यक्रमको लागि हामी पाँचबजेदेखि भेला हुन थाल्यौँ ।

   साँझ छिप्पिदै जाने क्रमसँगै मानिसहरूको घुइँचो बढ्दै आयो । मञ्चको पर्दा उघ्रियो । म हलको एक कुनाबाट नियालिरहेको छु । आयोजकको प्रस्तुति र दर्शकहरूका प्रतिकृयाहरूलाई अनुभूत गरिरहेछु । कार्यक्रमका प्रस्तुतिहरूले मेरो अन्तस्करणमा परमानन्दको महोत्सव उदघाटन भै रहेछ ।

   नेपाली गीत, सङ्गीतको अनुपम संयोजन प्रस्तुत भए । भाषा, भेषप्रतिको गहिरो अनुरागलाई ह्वात्तै खन्याए । राष्ट्रियता र देशभक्तिको महिमा गाए । जन्मभूमिप्रति श्रद्धानत हुँदै स्मृतिको सुगन्धमय माला उन्दै गए । डाँफे र मयूर त्यहीँ नचाए । ढुक्कुर र कोइलीको स्वर लहरीमा मधुर भाका हाले । मादल र सारङ्गीको सुमधुर धुन प्रस्तुत गरे । यसरी विविध नेपाली संस्कृतिको प्रदर्शनमात्र गरेनन् हिमाल, पहाड र तराई नै त्यस मञ्चमा उतार्न सफल भए ।
  दर्शकदीर्घामा उमङ्ग र उत्साह हलक्कै बढेको देखिन्थ्यो । सवैमा जन्मभूमिप्रतिको अगाध स्नेह झल्केथ्यो । तालीको गडगडाहट र सुसेलीका चर्को ध्वनिबाट अनुमान गर्न सकिन्थ्यो– दर्शकहरू जन्मभूमिसँगको भोक र प्यास मेटाइरहेछन् । अमेरिकाजस्तो शक्तिशाली अनि संसारकै अन्तिम गन्तव्यस्थलमा छन् तथापि मातृभूमि जति महान् र उच्च वस्तु अन्य केही देख्दैनन् उनीहरू ।

  यसरी नेपालीभूमिभन्दा धेरै टाढा रही परम्परा र संस्कृति अनि कला र सङ्गीतको जगेर्ना मात्र होइन प्रचार प्रसार गर्ने जुन काम भैरहेछ त्यसको मुक्त कण्ठले प्रशंसा गर्न मनलाग्यो । स्वदेशमा रहेर सोही प्रयोजनको लागि तलब–भत्तामा पालिएकाहरूले भन्दा परदेशमा रही निस्वार्थभावले स्वतस्फुर्तरूपमा यस्ता कार्यक्रम गर्नेहरू वास्तवमा स्तुत्य छन् । प्रशंसनीय छन् ।

  म नयाँ यात्री । नवीन स्थान बिशेषको अनगिन्ती जिज्ञासाहरूले मलाई छपक्कै छोपेका छन् । त्यसै क्रममा मिनिसोटाका गाडीहरूका नम्बरप्लेटमा दसहजार ताल (10000 Lakes) पनि लेखेको देख्छु । सो लेखाइको अर्थको बाँझो फुटेन । अनौठो लाग्छ, किन लेखियो ? अर्थ के हो ? एक दुई जना गाडी धनीका लहडमा लेखिएको हो भनुँ भने पनि सम्पूर्ण गाडीहरूमा लेखिएका छन् । अनगिन्ती जिज्ञासाहरूको माझबाट यो जिज्ञासाले वारंम्बार टाउको उठाइरह्यो । निरन्तर मलाई लखेटिरह्यो ।

  प्राकृतिक सम्पदाको हिसाबले मिनिसोटा राज्य सबल र उत्कृष्ठ कोटीमा पर्दोरहेछ । भूभागको हिसाबले नेपालभन्दा डेढी ठूलो तर पचपन्न लाख मात्र जनसङ्ख्या रहेको यो राज्यलाई तालै तालको राज्य पनि भनिँदोरहेछ । यहाँ यति धेरै र महत्वपूर्ण तालहरू रहेछन् कि यसको जानकारी मात्रले पनि म आश्चर्यचकित भएँ । त्यो अपत्यारिलो तर सत्य तथ्याङ्क एकैचोटि सुन्दा मेरा कान ठाडा भए र आँखा अविश्वासमा चम्किरहे । यी तालहरू सकेसम्म घुम्ने, डुल्ने चाहना मनमा पलाउँदै आयो ।

  यहाँ चालीसहजार स्क्वायर मिटर वा त्योभन्दा बढी क्षेत्रफल ओगटेको तालहरूको सङ्ख्यामात्र ११,८४२ रहेछन् । त्योभन्दा कम क्षेत्रफल भएका ताल त झन् कति हो कति ? हामीजस्ता ताल सङ्ख्या न्यून भएका मुलुकका बासिन्दाहरू मात्र होइन जो कोही पनि यो सत्यताको उदघाटनले अनौठो मान्नु स्वाभाविकै छ । यति धेरै सङ्ख्यामा ताल तलैया भएको ठाउँ संसारमा अन्यत्र छैन पनि । प्रायः ती सवै तालहरूलाई भरपुर उपयोग गरिएको भन्ने जानकारी मिल्यो । यसरी तालै तालले भरिएको राज्य भएको हुँदा उक्त विशेषतालाई प्रचार प्रसार गर्न चानचुन सङ्ख्यालाई एकातर्फ पन्छाएर समुच्चरूपमा दशहजार अङ्क सङ्ख्यालाई पनि राज्यमा दर्ता भएका प्रत्येक गाडीको नम्बरप्लेटमा अनिवार्य अङ्कित गर्ने नियम राज्यले नै बसालेको रहेछ । राज्यको मूल बिशेषता लोकलाई देखाउने प्रचारात्मक शैली रहेछ त्यो ।

   संसारको सवैभन्दा ठूलो ताल “सुपेरियर लेक” मिनिसोटामा नै पर्दोरहेछ । यो तालको प्रख्यातिले आकाश चुमेको हुँदा यसलाई हेर्ने, छुने र अनुभव गर्ने चाहना पलाउँदै आयो । बासस्थान इडाइनाबाट झन्डै दुइसय माइल उत्तर दिशामा अवस्थित डुलुथ भन्ने स्थानमा पुगी अघाउञ्जी ‘सुपेरियर लेक’ को न्यास्रो मेटियो । समुन्द्र सतहभन्दा माथि रहेकोले यसलाई ताल भनिएको अन्यथा यो समुन्द्रसरी ठूलो र फराकिलो रहेछ । डुलुथ भूभाग पर्यटकीय हिसाबले आकर्षक देखियो । वर्षमा झण्डै ६ महिना हिउँमा पुरिने यो ठाउँमा सामुन्द्रिक जाहाज सम्बन्धी सङ्ग्रहालय पनि अवलोकन गर्ने अवसर जु¥यो ।

   मिनिसोटाको केन्द्र भागमा मिनियापलिस र सेन्टपल नामक दुई सहर रहेछन् । सुप्रसिद्ध मिसिसिपी नदीले छुट्याएको यी दुईलाई जुम्ल्याहा सहर (टुइन सिटी) पनि भनिदोरहेछ । सेन्टपल राजधानी सहर हो भने मिनियापोलिस व्यवसायिक तर यो सेन्टपल भन्दा ठूलो छ । अमेरिकामा राज्य सरकारको राजधानी सहरभन्दा त्यही राज्यका अन्य सहरहरू प्रायः ठूला अनुभव भए । जुम्ल्याहा सहर नजिकै बासस्थान भएबाट त्यस भेगका तालहरू प्रशस्तैमा पुग्ने अनुकूल मिल्यो ।

   तालहरूलाई व्यावसायिक हिसाबले उपयोग गर्ने तौर तरिका अवलोकन भए । पौडीखेल्ने, डुङ्गा तथा जाहाज चलाउने, ¥याफ्टिङ गर्ने, बीचमा (तटमा) खेल्ने लगायत आधुनिक ‘वाटर पार्क’ निर्माणगरी पानीसँग सम्बन्धित विविध खेलहरू खेल्ने र दृष्यावलोकन गर्ने चलनको विकास भएको पाइयो । वास्तवमा वाटर पार्कहरू आकर्षक थिए ।

   बहेको नदीलाई तल्याएर त्यसलाई ‘स्टिलबाटर’ नामकरण गरी व्यावसायिक रूपले भरपुर उपयोग गरेका पनि देखियो । तालहरुको सेरोफेरोभित्र पस्नासाथ रोमान्चको काँडा उम्रेर आउथे । यिनका सुस्वादु स्मृतिले मेरो हृदयको धमनीहरुमा सदासर्वदा सञ्चारण गरिरहेका छन् ।

   जतिधेरै तालहरू छन् त्यति नै त्यसप्रतिको आकर्षण पनि उच्च देखियो । तालका चारैतर्पmका भूभागहरूमा प्राकृतिक रमणीयताको उपलब्धता बेसी हुने भएर नै होला सायद त्यस भागतर्पm हुने खानेहरूकै बसोबास बढी देखिन्थे । ताल वरिपरिका घरहरूका आ–आफ्नै व्याकयार्डमा व्यवस्थित किसिमले पार्क गरिएका मोटरबोटहरूले सम्पन्नता र विलासीताको बोध गराउँथ्यो ।

   तालका ओरिपरि पैदल, साइकल तथा गाडीका बाटाघाटाहरू व्यवस्थित देखिन्छन् । अधिकांश तालहरूसँग ठूलाठूला पार्कहरू जोडिएका छन् । पार्कभित्रका वातावरण पर्यटकीय हृदय हरण गर्ने खालमा थिए । एउटा पार्कमा हुनुपर्ने बिबिध सुविधाका वस्तुहरू व्यवस्थित छन् । घाँस काटेर चिटिक्क पारिएका खुला तथा फराकिला हरिया चौरहरूले थप आकर्षण दिइरहेथ्यो । लाग्दथ्यो त्यो इलाका सौन्दर्यमय फराकिलो रङ्गमञ्च हो ।

   समरको उज्यालो मौसम, सूर्यका रापिला किरणले जगतै ढाकिएको छ । जलकृडाका अम्मली तथा पारखीहरू आ–आफ्नो स्वादमा रमाइरहेका छन् । लाइफ ज्याकेट विनाको जलयात्रा प्रतिबन्धित छ । दुर्घटनाप्रतिको चिन्ता कसैमा देखिदैन । ताल व्यवस्थापन पक्षको तर्पmबाट ‘लाइफ गार्ड’हरूको उपस्थिति बाक्लो गराइएको देखिन्छ ।

   तालका किनारहरूमा ‘विच’ प्रेमीहरूका जङ्गल नै देखियो । आ–आफ्ना साथी तथा जोडीहरूसँग तिनीहरु विमुग्ध देखिन्छन्, मुटु साटासाट गरिरहेछन् । भन्दा हुन– माया लुकेर होइन, खुलेर गर्नु पर्दछ । सूर्य स्नानका रापिलो तापमा आ–आफ्ना झण्डै निर्वस्त्र शरीर सुकाई रहेछन् । लाग्दथ्यो– जीवनको वास्तविकता नग्न रूपबाट बुझ्न चाहन्छन् उनीहरू । सोच्दा हुन्– नग्नतामा नै यथार्थता हुन्छ ।

   फिसिङ्मा रमाएका समूह ठूलै तथा प्रशस्त देखिन्थे । माछा मार्ने कार्य खाई जीविकाको निम्ति नभै शुद्ध सोखको लागि भएको देखियो । बल्छीमा परेको माछालाई पुनः तालमा नै छाडिदिने निर्लोभी संस्कारको प्रशंसा गर्न मन लाग्यो । ताल अवलोकनार्थ म जति–जति ठाउँमा पुग्दथें अनायासै मेरो मनमा प्यारो पोखरा उपस्थित भै हाल्थ्यो । फेवा, रूपा र वेगनासले त पोखराको सौन्दर्यमा जलप थपिदिएको थियो भने अमेरिकी वैभवभित्रको दसहजार अधिक तालहरूले उक्त स्थानलाई स्वर्ग बनाएको छ भन्दा अत्युक्ति हुने छैन जस्तो लाग्यो । मिनिसोटा राज्यलाई ‘नर्थ स्टार स्टेट’ को विशेषतायुक्त हार पहि¥याउनमा यी तालहरू कै भूमिका अहं देखियो ।

   मिनिसोटामा एउटा पर्यटकले अनिवार्य पुग्नु पर्ने ठाउँ ‘मल अफ अमेरिका’ रहेछ । अमेरिका कै सबैभन्दा ठूलो मल जहाँ पाँचसयभन्दा बढी पसलहरू रहेछन् । किनमेल, मनोरञ्जन, बालव्रक्रीडा लगायत विविध विशेषताहरुले भरिपूर्ण यो मल विश्व कै पर्यटकीय गन्तव्यभित्र पर्दो रहेछ । वर्षको चालीस मिलियन यानेकि चार करोड पर्यटकको आवत जावत हुने यस मलभित्र बाह्रहजार मानिसले रोजगारी पाएका छन् भन्ने सुन्दा अनौठो लाग्यो । वास्तवमा सो मलको भव्यता आँखामा नअटाउने किसिमको थियो ।

   मिनियापोलिस सहरका घरहरूमा जोडिएका ‘स्काइ वे’ अमेरिकामा नै प्रख्यात रहेछ । यो सहर कम्तिमा चारमहिना पुरै हिउँले ढाकिने भएको हुँदा सहरका बाटो वारि–पारिका भवनहरू बीच आवत जावतमा सुगमता कायम गर्ने प्रयोजनार्थ आकासे बाटो निर्माण गरी आपसी व्यावसायिक क्रियाकलापमा अभिवृद्धि गरिएको देखियो ।

   मिनियापेलिस सहरका भवनहरूका बीचमा त्यस किसिमको वातानुकुलित ‘स्काइ वे’ को सञ्जाल नै निर्माण भएका रहेछन् । हिउँ तथा पानी पर्दा, जाडो तथा गर्मी जुनसुकै अवस्थामा पनि खुला सडकहरूमा ननिस्किइकन इच्छाइएको भवनमा गई कार्यसम्पन्न गर्न सकिदो रहेछ । त्यो सहरका ५०।६० तले आलिसान भवनहरू समेतलाई एउटै सूत्रमा उन्ने ‘स्काई वे’ का सन्जालहरूलाई हेर्दै मेरो हृदय मानिसको चाहना र आवश्यकता सम्बन्धी अनेक तर्क वितर्कमा सामेल भयो ।

   अमेरिकाको बसाइले ७ महिनाको लामै समय पार ग¥यो । अमेरिका कसरी सभ्य, बिकसित र वैभवशाली अमेरिका हुन सक्यो ? यसको समूल कारण जान्न चाहन्थेँ म । चिप्लदो समयको क्रमसँगै मेरा केही जिज्ञासाहरू शान्त हुँदै आए ।

   एकाध घण्टा प्रभातीय भ्रमण गर्ने आफ्नो रुचि अनुसार प्रत्येक दिन त्यसको लागि फरक फरक स्थानको छनौट गर्दथेँ । सडकमा हिडिरहेछु । चारैतर्पm सुनसान छ । केही टाढा एउटी अधवैँसे अमेरिकी महिलाले डो¥याएर हिंडाइरहेकी कुकुरले अनायासै दिसा ग¥यो । ती महिलाले हाते झोलाबाट प्लाष्टिकको पञ्जा निकालिन् र हातमा लगाइन् । कुकुरको दिसालाई सहजरुपमा उठाइन् र पञ्जा सहित अर्को प्लाष्टिकको झोलामा राखिन् अनि पूर्ववत् त्यस कुकुरलाई डोर्याउदै गइन् ।

   यो घटना कुकुर र महिलाको सर्तमा मात्र सीमित नराखी यसबाट अन्य विविध पक्षको नापो लिन सकिने देखेँ मैले । अमेरिकी विकासको आधार बुझ्न सकिने निष्कर्ष निकालेँ । अमेरिकी सभ्यता, संस्कार र संस्कृतिको प्रतिनिधि घटनाको रूपमा व्याख्या गरेँ । उनले निभाएकी दायित्वपूर्ण तथा कर्तव्यनिष्ट व्यवहारले मलाई लखटिरह्यो ।

   मैले गम खाएँ । सहरका झ्याल र बार्दलीबाट निसङ्कोच फालिने मलमूत्रको ननिको स्वदेशी दृष्य स्मृतिको पर्दामा ह्वात्तै देखाप¥यो । अनि असभ्य संस्कृतिको धारिलो बसिलाले नाकै ताछ्यो । उदासीको करौंतीले मेरो हृदय रेटन थाल्यो । अर्कोतर्फ ती महिलाको उच्च व्यवहारले निध्रुक्कै भिजेँ म । उनको इमानलाई नतमस्तक भएर सलामी टक्र्याउन मन लाग्यो । उनीप्रति श्रद्धाको पाती चढाएँ मैले ।
   महिला कुकुरको आची बोकेर आफ्नो बाटो लागिन् । ममा भने प्रभातीय हिडाइँको अवधिभरि विभिन्न प्रश्नहरूको हुँडुलो मनमा चलिरह्रयो । अनेक तर्कना लागि रहेछ । ती महिलाको इमान र उत्तरदायित्वपूर्ण व्यवहारलाई आपैmप्रति उल्ट्याएर सोच्न थालेँ । के मैले मेरो देशमा यस्तै व्यवहार गर्न सकेँ ? त्यस्तो व्यवहार गर्न हामी नेपालीहरूलाई कस्ले छेकेको छ । महिलाको जस्तो व्यवहार गर्न सकेको भए आज नेपालीहरू हातमुख जोर्नकै लागि विदेशीभूमि धाउनु पर्थ्यो ? यी र यस्तै अनगिन्ती प्रश्नहरूले मलाई निरन्तर न्याकि रह्यो ।

  आज भोलि अमेरिकी नमुनायोग्य भौतिक संरचना अवलोकन गर्दा होस वा स्वदेशी अवनतिको समाचार सुन्दा किन नहोस, मनको उत्सुक किनारामा त्यही कुकुर अनि महिलाको दृष्य नाचिरहन्छ । त्यो घटना मेरो दिलको ऐनामा प्रेरणादायी स्मृतिको सुखद् लहर भएर निरन्तर लहरिरहन्छ ।




(लेखक परिचय)

जन्म मितिः– वि.सं.२०१३ मार्ग २१ गते
जन्म स्थानः– गोरखा नगरपालिका, गोरखा बजार
लेखनको मूल विधाः–यात्रा निबन्ध
कृतिः–
     (१) “फ्रान्सको भ्रमण मेरो संस्मरण” (२०६३) नियात्रा सङ्ग्रह
     (२) “पुस्तान्तर” — संयूक्त कथा सङ्ग्रह (२०६६)
संपादनः—
     “ज्ञानविन्दु”— २०६६ र २०६७ अंङ्क
       समसामयिक फुटकर लेख रचनाहरू विभिन्न पत्रपत्रिकाहरूमा प्रकाशित
प्रकाशक :– “मृगतृष्णा” कथा सङ्ग्रह – २०६०
संस्थापकः— दण्डपाणि अर्ज्याल स्मृतिकेन्द्र, काठमाडौँ
शैक्षिक योग्यताः– स्नातकोत्तर (त्रि.वि.)
भ्रमणः– भारत, कतार, थाइल्यान्ड, बेलायत, जर्मनी, फ्रान्स र संयूक्त राज्य अमेरिका
सम्पर्क ठेगानाः– अमेरिका, फोन नं. ६१२ — ७४९ — ३००६, Email:- aryalrajendra3@gmail.com
पदक÷पुरस्कार– त्रि.वि दीर्घ सेवा पदक २०६१, राष्ट्रिय शिक्षा दिवस पुरस्कार (२०६२.)

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

1 comments :

Adams Kevin said...

म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
ठीक।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP