Sep 1, 2009

झरी परिरहन्छ (अन्तिम भाग)

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका


पहिलो भाग
दोश्रो भाग
तेश्रो भाग

वास्तवमा अव म क्रसरोडमा उभिएकोथिँए। अनिर्णयको बन्दी बनेको थिँए। एकातिर मसंग नैनकलासंगको अतित थियो भने अर्कोतिर मेदिनीप्रसाद काकाले मलाई लगाउनु भएको अतुलनीय गुण र मेघाको म प्रतिको श्रद्धामिश्रित, निश्चल माया। कहिले सोच्थें, सायद नैनकलाले मलाई बिर्सि सकिहोलिन्। समयले र भौतिक दूरीले उनलाई म बाट पर पुर्याईसक्यो होला। तर अर्को मनले मान्दैनथ्यो। लाग्थ्यो, नैनकला मलाई अझै पर्खिरहेकी होलिन्। म गएको बाटोतिर एकोहोरो हेरेर बसेकीहोलिन्। भित्तामा हामीले लेखेका नामहरु नमेटिऊन् भनेर अझै खरीढुङ्गाले अझै थप्दैहोलिन्।मैले अनायास नैनकलाले पठाएका पत्रहरु एकचोटी फेरि सबै पढेको थिंए। पत्रहरु पढिसकेपछि नैककला प्रतिको मेरो भावना प्रबल भएर आएको थियो। उनलाई एक पटक जसरी पनि भेट्ने निर्णय गरेको थिँए।


मैले एकाएक नेपाल जाने निर्णय गर्दा काकाकाकीहरु छक्क पर्नु भएकोथियो। मेघा पनि छक्क परेकिथिइन्। तर उँहाहरुले थप केही सोध्नु भएन। गाँउबाट बिश्थापित मेरा बाबु-आमासंग काठमाण्डौमै भेट भएको थियो। आठ-नौ बर्ष भइसकेकोथियो म अमेरिका गएको। बाबु-आमा दुबैको अनुहारमा उमेरका रेखाहरु प्रशस्त फैलिसकेकाथिए। कपाल पनि आधी भन्दा बढी फुलिसकेकाथिए। हालखबरका सामान्य गफ पछि मैले मेघासंगको बिवाहको कुरा चलेको र केही निर्णय गर्नु पूर्ब नैनकलासंग भेट्न चाहेको कुरो बाबु-आमासंग राखेको थिँए।

बुवा-आमा दुबैले लामो नि:श्चास लिनु भएकोथियो।
“नैनकला र तेरो सम्बन्धबारे सुनेका थियौं, बाबु तर अब तैले नैनकलालाई भुलिदिए हुन्छ”। बुवाले निराशाजनक स्वरमा भन्नु भएको थियो। आमाको अनुहारमा पनि त्यस्तै नैराश्यता देखेको थिँए।

“किन र बुवा, के नैनकलाको बिवाह भइसक्यो र?” मैले ब्याकुलताका साथ सोधेको थिँए।

“होइन, नैनकला माओबादीसेनामा गईन। जिँउदै छिन् या मरिसकिन् थाहा छैन।”। मलाई अचानक म मुनिको जमीन धस्सिएको आभास भएको थियो। अकास पनि फनफनी घुमेको जस्तो लाग्यो।

“किन, कसरी बुवा, यस्तो कसरी हुन सक्छ? नैनकला कसरी माओबादी सेनामा जान सक्छे”? मैले बुवालाई प्रश्नहरुको वर्षा गरेकोथिँए।

“अव यो किन र कसरीको खोजी गरेर केही फाइदा छैन बाबु। अव खुरुक्क अमेरिका फर्किएर मेदिनीप्रसाद काकाले जे जे भन्नुहुन्छ, त्यहि त्यहि गर। हामीले त तँलाई जन्म दिएर हुर्काइदिएकोसम्म हो, तेरो भाग्य बिधाता भनेका मेदिनीप्रसाद नै हो”।

मैले जिद्धि गर्दा पनि बुवाआमाले थप केहि बताउन चाहनु भएको थिएन। मैले एकचोटी गाँउजाने र नैनकलालाई खोज्ने कुरा गरेको थिँए। सुरक्षाको कारण देखाएर उँहाहरुले गाँउजाने कुरो सिधै अस्विकार गरिदिनु भएको थियो। बाबु-आमाको अस्विकृतिको बाबजुद म गाँउजान हिँडेको थिंए।

दुई दिनको बसयात्रा, त्यसपछिको पैदल यात्रा। ऊकाली, ओराली, कहिले खोलाको किनार किनार, कहिले जंघार तर्दै, कहिले सुनसान जंगलको बाटो। बाटोमा भेटिएका मानिसहरुले शंकालु, डर त्रास मिस्रित नजरले हेर्थे र म पनि मानिसहरु देख्दा भित्र भित्र त्रसित हुन्थें। मेरो हिँड्ने बानी छुटिसकेकोले एकैछिनमा थकित हुन्थें। तर बिश्राम नलिई अघि बढिरहेको थिंए; नैनकलालाई भेट्ने दृढतालले मलाई तानिरहेकोथियो। म गाँउको बेसीमा पुगिसकेको थिँए र डाँडाको थुम्कोमा रहेको मेरो गाँउ देखिइसकेको थियो। आफ्नो गाँउको झलकले मलाई आत्मबिभोर तुल्याएको थियो। ती बनपाखाहरु, खोलाहरु, बेसीका खेतका गराहरु सबैले मलाई स्वागत गरिरहेकोजस्तो लागेको थियो।

“हाल्ट”

पछाडिबाट कसैको कडा आवाज आएकोथियो र म रोकिएको थिए। मलाई सेनाका पोशाक लगाएका केही युवाहरुले घेरेका थिए। सबै हातहतियारबाट सु-सज्जित थिए। उनीहरुको टोपीमा भएको रातो तारा चिन्हले उनीहरु माओबादी सेना भएको अडकल काट्न गारो भएको थिएन।

“तंपाई को, कहाँ जान आएको, नाम के हो, घर कहां हो? किन आएको, कसको ईजाजतले आएको?....” उनीहरुले एकै पटक थुप्रै प्रश्नहरु बर्साएका थिए। आफू उपल्लो गाँउको भएको, १०-१२ बर्षदेखि गाँउ छोडेर काठमाण्डौ र त्यसपछि थप अध्ययनको लागि अमेरिका गएको र अहिले आफ्नो गाँउ घुम्न मन लागेर आएको बताएको थिँए।

“तँपाईका उत्तरहरु सत्य हुन भनेर कसरी मान्ने? तँपाई हाम्रो दुश्मनको मानिस पनि हुन सक्नुहुन्छ। त्यसैले थप अनुसंधानको लागि हामी तंपाईलाई कब्जामा लिंदैछौ र हाम्रो कमाण्डर समक्ष प्रस्तुत गर्नेछौं”। त्यसपछि उनीहरुले मेरो आँखामा पट्टी र हात पछाडि लगेर बाँधिदिएका थिए र मलाई उनीहरुसंगै हिंड्न बाध्य पारिएको थियो। भित्र भित्र डर लागिरहेको थियो तर आफूले कुनै जन बिरोधी काम नगरेको, र आफू शत्रु वा मित्र कुनै कित्ताको मानिस नपरेकोले केहि गरिहाल्लान् भन्ने चाँहि लागेको थिएन। करिब दुई-तीन घण्टा हिंडेपछि हामी रोकिएका थियौं।

“कसलाई लिएर आउनु भयो कमरेडहरुले”? एउटा कडा नारी स्वर गुञ्जिएकोथियो। कता कता चिरपरिचित जस्तो आवाज।

“यो मान्छे, पल्लो गाँउको हुँ भन्छ, ९-१० बर्ष अघि अमेरिका गएको रे, अहिले गाँउ घुम्न आएको भन्छ। यसको कुरा बिश्वास नलागेर लिएर आएको, कमाण्डर कमरेड”। मलाई लिएर आउने मध्य एउटाले जवाफ दिएकोथियो।

“हँ, अमेरिकाबाट आएको रे , पल्लो गाँउको रे? ” नारी स्वर झस्किएकि थिइन्। “पट्टी खोल्नूस त।

मेरो आँखाको पट्टी खोलिएको थियो।

“नैनकला !!!!”” मेरा ओँठहरुबाट मेरो सामुन्नेको नारीको नाम निस्किएकोथियो। हो, मेरो अगाडी नैनकला थिइन्। सैनिक पोशाकमा। बन्दुक बोकेकी। दुब्ली। आँखा अलि भित्र धस्सिएर गालाको हड्डी माथि उठेको जस्तो देखिएको। सुक्खा अनुहार। कलेटी परेको ओंठ। तर तिनी मेरी नैनकला थिइन् जो संग मैले संगै बांच्ने संगै मर्ने कसम खाएकोथिँए। यसरी अचानक नैनकलासंग भेट होला भनेर चिताएको पनि थिइन।

“तिमी”......”? उनी पनि चकित् भएकि थिइन्। भावनाका हजारौं रेखाहरु उनको अनुहारमा आएर गएका थिए। आंखामा आँशु छचल्किएको थियो र उनले हठात् मलाई अँगालोमा बाँधेकीथिइन्। “तिमी कसरी यहाँ अकस्मात??

अन्य जनसेनाको उपश्थितिले होला सायद, उनी छिट्टै सम्हालिएकी पनि थिइन। मलाई अंगालोबाट मुक्त गरेकीथिइन्।
“कमरेडहरु, तँपाईहरुले मेरो साथीलाई पो लिएर आउनु भएछ। उ थाकेको होला, भोक पनि लागेको होला, ल छिट्टो खानपानको ब्यबश्था गर्नूस्”।

“ए हो र , गल्ती भयो कि कमरेड, पुर्याउन जाऊँ”। जनसेनाका सिपाहीहरु पनि आश्चर्यमिश्रिग भावमा मुखामुख गरिरहेका थिए।

“हैन, केहिछैन, आज थाकेको होला, आराम गर्छ, भोली झिस्मिसेमा नै सुरक्षाकासाथ इलाका पार गराईदिनुहोला।“

“तिमीले बिहे गर्यौ”? खाना खाँदै गर्दा उनले सोधेकीथिइन्।

“छैन, म अहिले सम्म तिम्रै प्रतिक्षामा छु। म तिमीलाई लिन आएको नैनकला”। मैल जबाफ दिएको थिँए।

“तिम्रो प्रेम मेरो लागि सौभाग्य हो। म खुशी छु, तिमी अमेरीका देखि मलाई खोज्न आयौ। प्रेम निभायौ। तर मेरो बाटो अब अलग भइसकेकोछ। म तिमीलाई मेरो प्रेम बन्धनबाट मुक्त गर्छु। जाऊ, फर्क र घरजम गर”। उनले भनेकी थिइन्।

"तर तिमीले जीबनको यो कस्तो बाटो रोज्यौ नैनकला?” मैले सोधेको थिँए।

“भयो, यो कुरातिर नजाऔं, तिमी थाकेकाछौ। आराम गर। भोलीबिहान कमरेडहरुले तिमीलाई सुरक्षित साथ पुर्याईदिन्छ” उनले कुरा मोड्न कोशिष गरेकिथिइन्।

“म त तिमीलाइ भेट्न आएको नैनकला। तिमीले मलाई किन बिर्सियौ? मेरा पत्रहरुको जवाफ किन आएन? तिमीले किन यस्तो बाटो रोज्यौ, जुनबाटोमा हिँसा नै हिँसा छ? “ मैले प्रश्नहरु छोडिन।

“तिमी मसंग राजनैतिक कुरा गर्न आएको”? उनी अलि चिडचिडाएको थिइन। सायद मेरा पछिल्लो प्रश्न उनलाई मन परेको थिएन।

“म मेरो प्रेम फिर्ता लिना आएको, नैनकला”। त्यसपछि उनी गम्भिर बनेकीथिइन्।

“तिमीले २०५६ सालतिरको ‘किलो सियरा टु’ अपरेशन बारे सुनेका थियौ?

“सुनेको जस्तो लाग्छ, तर त्यति जानकारी भएन”। मैले जवाफ दिएको थिँए।

“२०५६ साल फागुण १० गतेको कुरा हो। गाँउमा अझै चिसो घटेको थिएन। हिउँदको वेला त्यति काम नभएकाले गाउँलेहरु सबै घरमै थिए । आईमाईहरु घर कंसेर गर्दै थिए। कोही पानी लिन गएका थिए। कोही गाईबस्तुहरुलाइ घाँस पराल दिंदै थिए। दिन अघिल्लो दिन जस्तै सामान्य थियो। केही फरक थिएन तर एकाएक श्थिति बदलिएको थियो। यहाँ बिध्वंश मच्चिएको थियो। हेर्दाहेर्दै त्यो हाम्रो सुन्दर गाँउ खरानी भएको थियो । १५ जनाको जीवन एउटै चिहान भयो । ७० भन्दा बढी घर जलेर खरानी भए। साना नानीहरुले अघिल्लो रात सँगै सुतेका बाबाहरुलाई भोलिपल्ट कहिल्यै नउठ्नेगरी सुतेको भेट्टाए । बिहानै पानी लिन पधेरो गएका श्रीमतीहरू पानी लिएर र्फकंदा घरहरू बलिरहेका, गाईवस्तुहरू आगोमा जल्दै गरेका र श्रीमान् र छोराहरू एउटै खाटमा गोली लागेर रगतपच्छे ढलिरहेका देखे”।

“म पनि पानी लिन गएको थिंए। त्यो दिन हाम्रो घरको छाना छाउने दिन थियो। छिमेकी काकाहरु, दाइहरु आउनु भएको थियो। फर्किंदा मैले देखें आंगन भरि प्रहरीहरु थिए। बुवा, काका, दाइहरु सबैलाई लाइन लगाएर राखिएकोथियो र प्रहरीले बन्दुक सोझ्याएको थियो। म डरले कान्लाको छेउमा लुकें। प्रहरीको हाकिमले आदेश दियो, “ यिनीहरु सबै माओबादी हुन्, यिनीहरुलाई गोली ठोक”।

“बुवाले नेपाली काँग्रेस सदस्य परिचय पत्र देखाउदै दुई हात जोड्नु भयो। गोलीले उँहाका हातहरु उछिट्टिए। अर्को गोली छातीमा लाग्यो र उँहा ढल्नु भयो। काका, दाइहरु सबैजना ढल्नु भयो। उनीहरुले दोहोर्याएर फेरि सबैलाई गोली हाने। परिचयपत्रहरु उंहाहरुको मुखमा कोचिदिए। हाम्रो घरमा आगो लगाइदिए। त्यसपछि गोली चलाउँदै, आगो लगाउँदै उनीहरु माथितिर लागे। त्यो दिन बिहान गाँउ पस्ने बाटोमा प्रहरीको गस्ती टोलीसंग माओबादीको जम्काभेट भएको रहेछ र दोहोरो फायरिंगमा एक जना प्रहरीको मृत्यू भएको रहेछ। त्यसको रिसमा प्रहरीहरु हाम्रो गाँउमा पसेर ताण्डब गरे। मैले मेरो बुवा, दाइ र काकाहरुलाई निमेष भरमा गुमाएँ। त्यसै दिन पछि हेलिकप्टरबाट समेत गोली बर्षा भयो। मानिसहरुमात्र होइन, गाइबस्तुहरु समेत मरे। भोलिपल्ट रेडियो समाचारले बुवा, काका, दाइहरुको नामै तोकेर भन्यो, दोहोरो भिडन्तमा माओबादी सेनाहरुको मृत्यु। सरकार हाम्रै थियो-नेपाली काँग्रेसको। निहत्था मेरा बुवा, काकाहरु, दाइ जो सबै नेपाली काँग्रेसकै हुनुहुन्थ्यो लाई माओबादी बनाईयो। त्यसको शोकले गलेर आमा पनि केही महिना पछि बित्नु भयो। तिमी यहाँ थिएनौ। म एक्लो र असुरक्षित भएँ। आफन्तहरु सबै माओबादीको नाममा मारिए पछि म पनि कुनै दिन त्यसरी नै मारिनसक्ने डरले माओबादीको आश्रय लिँए। म कुन बाटो आएँ, सही गरेँ या गलत गरेँ, अब फर्केर हेर्न चाहन्न”।

नैनकलाको दर्दनात्मक कथा सुनेर म एकछिनलाई स्तब्ध भएकोथिँए। नि:शब्द भएकोथिँए। तर मैले आश मारेको थिइन। उनलाई यो हिँसात्मक बाटो छोडेर सामान्य जीबनमा फर्किन अनेक अनुरोध गरेकोथिँए। तर उनी उनको निर्णयमा अटल थिइन्। म असफल भएकोथिँए।

अर्को बिहान नैनकला मलाई पुर्याउन धेरै परसम्म आएकिथिइन्। त्यसपछि उनका जनसेनाहरुले उनलाई सुरक्षाको कारण देखाएर अघि बढ्न रोकेकाथिए। नैनकलालाई त्यसरुपमा छोडेर हिँड्न पर्दा मेरो मन मा पहिरो गएको थियो। मैले लुकाएर आँशु झारेको थिँए। नैनकला सायद सैनिक तालिमले होला, कठोर देखिन्थिन्।

म अमेरिका फर्किएको केही दिन पछि माओबादी र तत्कालिन शाहीसेनाको भिषण दोहोरो भिडन्त भएको थियो र मैले नैनकलालाई सदाको लागि गुमाएको थिँए। सरकारी सेनाको लागि एउटा आतंकबादी मारिएको थियो र माओबादीहरुको लागि एउटा सहयोद्धा। तर यो युद्धमा मेरो प्रेम शहीद भएकोथियो।
=======
बाहिर ढोकाको घण्टी कसैले एकनाससंग बजाइरहेको रहेछ। म अतितको तन्द्राबाट ब्युँझन्छु। ढोका खोल्छु। मेघा कामबाट फर्केकी रहिछिन्।

“हैन, मैले घण्टी बजाएको कति भयो, हजुर निदाइ’सेछ कि क्या हो, खै त बच्चाहरु?”

मेघा निथ्रुक्कै भिजेकि रहिछन्। बाहिर झरी परिरहेकै रहेछ।

(२०५६ साल फागुण १० गते रुकुम, खारामा भएको प्रहरी दमनमा आधारित)
समाप्त।

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

10 comments :

प्रबिण थापा said...

झरी परिरहन्छ सुन्दर र यथार्थपरक कथा जस्तो लाग्यो, कथाका अघिल्ला ३ भाग पढ्दा सम्म रमाइलो र अब के होला भन्ने उत्सुकता जागिरहे पनि कथाको अन्तिमा भाग पढ्दा भने जताततै मर्म र पिंडाले अलिअली छटपटी पनि तुल्यायो। हुनत कथाकारको सफलता भनेकै यही हो तर पनि कता कता आफ्नो जीवनसग मेल खाने कथा भएर होला आँखाबाट आशु नचाहदा नचाहदै पनि बगे ति अतितका तिता भङ्गला फेरी एकपटक स्मरणमा रुमालिएर। नेपाली धर्तिमा जन्मेको माओवादी बिद्रोह र त्यसले निम्ताएको दुरगामी असर, राज्यले राजनीतिक समाधानको बाटो नखोजी बिद्रोही समाप्त गर्ने नाममा मच्चाएको बितण्डले तपाईं हामी जस्ता हजारौ नेपालीका प्रेम बिना कुनै कसुर, बिना कुनै स्वार्थ शहिद हुनुपर्‍यो।
अतित तितो मिठो जे भएपनी बर्तमानमा रमाउनु नै हाम्रो नियत हो र रमाउने कोशीश गर्नु पर्छ भोलिको लागि पनि।
तपाइको प्रेम प्रतिको सदभाब, सम्मान र जीवनको प्रबाहा नगरि आफ्नो प्रेम प्राप्ती प्रती तपाईंले गर्नु भएको त्याग पनि सर्हानिय छ।

सपनासंसार said...

जीवन र प्रेमको एउटा मृदुल कहानी लाग्यो मलाई। कथाको निकै सान्दरबीक लाग्यो । प्रस्तुती निक्कै निखारिएको अनि ससक्त लाग्यो ! । कथाको बिच बिचमा अव के होला अब के होला भन्दै खुल्दुली मच्चायो मलाई त ! मेदिनीप्रसाद काका को चरित्र लाई कसरी बर्णन गरु खोई दुबै पाटा मा देखिन्छन उनी तर पनि उनको सकारात्मक पाटो को प्रसंशा गर्न करै लाग्छ । अर्को खुल्दुळी फेरी पनि , मेघाले नैनकलाको चरीत्रलाई कसरी लिन्छिन त ? के ळेखक र नैनकालाको प्रेम प्रसंग मेगाले कसरी स्वीकार्छीन त ? कती गुनगान मात्र गर्नु एउटा मनमा लागेको कुरा फ्वात्त फालिदिए _" झरी परिरहन्छ शीर्शक यथार्थपरक नभएको हो कि जस्तो लाग्यो !"

धन्यबाद
सपनासंसार

राजु लामिछाने said...

सार्है घत लाग्यो । सरल, सरस अनी स्वप्रभाहित लेखन शैलीले भाषामा मिठास एबम सान्दर्भिक कथा बस्तुले हरेक खण्डमा कौतोहलता ल्याएको छ । शिर्शकको चयन तथा सान्दर्भिकता ले केहीबेर अल्मलायो ।
कथा बस्तुलाई नियाल्दा उब्जीएका तर्कहरु: जसरी गोठमा बाख्राले पाठो पाएपछी घरधनीले पाठाको बिशेष ख्याल गर्छ, राम्रो घाँस का साथै अन्न खुवाउँछ अनी दसैंमा उत्सव मनाउदै छ्याक्क काट्छ । मेदिनीप्रसाद काकाको चरित्र लाई घरधनीको रुपमा याद आयो । यदी मेदिनीप्रसाद काकाको नियत राम्रो भये कथाकारलाई ज्वाँईँ हैन धर्म पुत्रको रुपमा हेर्न सक्नु पर्छ हैन र? अर्की विवश पात्र नैनकलालाई पनि नियेतिको संघारमा मावोबादीले अर्को बाख्राको पाठो बनाइ दिएको छ । जस्लाई कुनै पनि बेला दशै मनाउन सक्छ । त्येसैले जब सम्म पाठोले आफ्नो गलाको फलामे साङ्लो तोडेर स्वतन्त्र बाँच्न सक्दैन तब सम्म घरधनिले स्वइच्छाले दशै मनाइरहेको हुन्छ । एही रीत सर्बत्र चलिरहेको छ।

Anonymous said...

Postakji,

Good writing. I enjoyed reading your imagination. Please do keep writing.

- Bhasu

पोस्तक श्रेष्ठ said...

प्रतिकृया ब्यक्त गर्नुहुने सबै साथीहरुलाई धेरै धन्यवाद। कथाको शिर्षक सायद चयन सायद नमिलेकै हो कि। कथा कुथ्नु भन्दा पनि शिर्षक चयन गर्नु पो गाह्रो रहेछ त। झन शृङखलामा लेख्दा आफुले पहिले सोचेको भन्दा फरक घटनातिर कथा मोडिने सम्भावना पनि हुँदो रहेछ।जे होस् आगामी दिनमा शिर्षक चयनको सान्दर्भिकतातिर अवश्य पनि ध्यान दिनेछु। सिकारु परियो। आफुले लेखेको कुरा वास्तवमा "कथा"को परिभाषाभित्र पर्छ पर्दैन पनि थाहा छैन। मनका बहहरुलाई यसो कहेको मात्र हो।

Anonymous said...

very good story

bishnusnr said...

पराये कथा को पहिलो प्यारेग्राफ पडदा नै अब एस पछी यो होला भन्ने अड्कल मस्तिस्क माँ आउछ तर तपाईको यो लेखन सैली ले मेरो मन माँ प्रत्येक लाइन पछि कहुतुओल्ता बद्दै गयो र अझ पड़ने जोश आइराह्यो शो........ कथा त मार्मिक र भावनात्मक छ नै त्यों भन्दा पनि तपाईको लेखन शैली अझै मार्मिक र झट्टा मन मुटु छूने रहिछ. धन्येवाद तपाई र त्यों भन्दा पनि तपाई को लेखन शैली लाई.

पोस्तक श्रेष्ठ said...

कथाशैली मन पराईदिनु भएकोमा धेरै धन्यवाद बिष्णुजी। त्यस्तो लेखक त केही होईन, प्रयास गर्दैछु।

reecha sharma tiwari said...

i have no words to say ,but speechless , its very nice

Anonymous said...

Its very great article and our true...reall its all r destinied in our life...even we cant cry not smile on this way...very heart touching keep it up

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP