Aug 23, 2009

झरी परिरहन्छ। (तेस्रो भाग)

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

पहिलो भाग
दोस्रो भाग

“तर काका, म...मेघा....कसरी?” म असमञ्जसमा परेको थिँए। मेरो बोली फुटिरहेको थिएन।

“मेघाले के भन्छे भन्ने लागेको हो भने, ढुक्क भए हुन्छ। हामीले मेघाको अनुमति लिईसकेकाछौं। तिमीसंग बिवाह गर्न राजीखुशी छे”। म असमञ्जसमा परेको देखेर काकीले भन्नु भएको थियो।

“तर पनि काकी, मेघा.....” मैले केही भन्न खोजिरहेको थिँए तर भन्न सकिरहेको थिइन।

“किन र बाबु, तिमीलाई मेघा मन...(पर्दैन र?)” । सायद काकीले मेरो उल्झनको अपेक्षा गर्नु भएको थिएन।


मेघा मन नपर्ने भन्ने कुरै थिएन। मेघामा कुनै खोट थिएन। सर्बगुण सम्पन्न थिइन्। मेघा जस्ती युवतीलाई जीवनसाथीको रुपमा पाउने जो सुकै पुरुष भाग्यशाली हुनेछ। तर मैले मेघालाई कहिले पनि कुनै त्यस्तो नजरले हेरेको थिइन। मेरो मनमा त नैनकलालाई बर्षौंदेखि सजाएर राखेको थिँए।

“ल तिमीलाई सोच्ने समय चाहिन्छ भने ठिकै छ, सोचेर जवाफ देऊ न त, बिवाह भन्ने कुरो हतारमा निर्णय गर्ने कुरो पनि होइन”, मेदिनीप्रसाद काकाले भन्नु भएपछि तत्काललाई मलाई राहत मिलेको थियो।

त्यो रात म सुत्न सकेको थिइन। मनमा अनेक तर्कबितर्कहरु आइरहे। अहिले सम्म मैले काकाकाकीसंग सबै कुरा मागेर लिईरहेको थिँए र आज काकाकाकीले मसंग केही मागिरहनु भएको थियो तर पनि मैले सहजै दिन सकिरहेको थिइन। एकातर्फ मेरो बर्षौं देखिको प्रेम थियो भने अर्को तर्फ काकाकाकीले मलाई लगाउनु भएको अतुलनीय गुणको बोझ। यी दुबै बोझले मलाई थिचिरहेकाथिए र म निसास्सिरहेको थिँए। मनमा अनेक कुरा खेल्दा खेल्दै म कुन बेला निदाएछु, याद भएन।

काकाकाकीको त्यो प्रस्ताव पछि श्थिति अलि असहज भएको थियो। सधैं फरासिली, बोलाकिली, हल्काफुल्का जिस्किने, ठट्टा गर्ने मेघा अव लाज मान्ने भइरहेकिथिइन्। मसंग नजर लुकाउने भइरहेकिथिइन्। सकेसम्म मेरो अघि पर्दिनथिइन् र परिहालेमा पनि लाजको लालिमा उनको अनुहारभरि छरिएको स्पष्ट देखिन्थ्यो।मेहुलले मलाई भिनाजु भनेर जिस्काउन थालिसकेकोथियो। काकाकाकी दुबै जना पहिला जस्तो सहज देखिनुहुन्थेन। हामीहरु बिच अव औपचारिक कुराकानीमात्र हुन थालेको थियो।

मेघाले मेरो स्वभाबिक भन्दा बढीनै ख्याल राख्न थालेको महसुस हुन थालेकोथियो। मैले छरपरष्ट छोडेर गएको मेरो कोठा फर्केर आँउदा चिटिक्क मिलेको हुन्थ्यो। म सुत्दा कहिले बत्ती ननिभाई, पर्दा नझारी सुतिदिन्थें। तर बिहान उठ्दा बत्ती निभेको, पर्दा लागेको पाउँथें। मैले जताततै फालेर छोडेका मेरा कपडाहरु धोइएका हुन्थे। ईस्तिरी लगाएर चटक्क मिलाएर राखिएकाहुन्थे। मेरा जुत्ता-मोजाहरु, ब्रस, मञ्जन, दारी काट्ने मेसिन सबै ठाउँमा हुन्थे। मेरो कोठामा मेघाको उपश्थितिको जताततै महसुस हुन थालेको थियो। एउटा स्त्रीले पुरुषको अस्तब्यस्त जीवनलाई कसरी सम्भार गर्न सक्दिरहिछन् त भन्ने महशुस भएको थियो। भ्यालेन्टाईन डे को दिन एउटा गुलाफको फूल र त्यो मुनि एउटा शुभकामना कार्ड मेरो बिस्तराको साइड टेबलमा थियो। भन्न पर्देन, त्यो कार्डमा मेघाकै हस्ताक्षर थियो।

एक दिन म ढिलो उठेछु क्यारे। मेघा चियाको कप लिएर आएकि थिइन्।
“हजुरलाई, सञ्चो भएन क्या हो, ढिलो उठिस्यो’ नि”। मेघाले मेरो निधारमा हात राखेकिथिइन्।
“होइन, त्यस्तो केही भएको छैन”। मलाई मेघाको स्पर्ष न्यानो लागेको थियो, आफ्नोपनले भरिएको, मायालु लागेको थियो।

त्यसपछि हरेक बिहान मेघा चियाको कप लिएर आउन थालेकि थिइन। मेरो दैनिकी, दिनचर्याबारे जानकारी लिन थालिसकेकी थिइन्। कुनै दिन म अलि छिट्टो निस्किएमा वा फर्किंदा ढिलो भएमा मेघाले उत्सुकता ब्यक्त गर्ने थालेकीथिइन्। कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ। पछि त म आँफै मेघालाई खबर गरेर जान थालेकोथिंए। नैनकला अव मेरो स्मृतिमा धुमिल भइरहेकिथिइन् र मेघाको आकृतिले ठाँउ लिइरहेकोथियो।

एकदिन मेरो साइड टेबलमा एउटा सानो कार्ड थियो।
“मम्मी ड्याडीको प्रस्तावमा हजुरको उत्तर के होला, जिज्ञासु छु” हस्ताक्षर मेघाकै थियो।

क्रमश: अन्तिम भाग

[यो प्रस्तुती कतै पुन प्रकासित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पुर्ण सहमतिमा मात्र प्रकासित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

4 comments :

प्रबिण थापा said...

जीवन एउटा लामो यात्राको लागि प्रस्थान गरेको गाडी हो त्यसैले पनि समय र परिस्थितीको मोडहरुसगै यसलाई जो कोहिले मोड्न सक्नुपर्छ यदी त्यसो नगरिय दुर्घटना सुनिश्चित हुन्छ। प्रेम हरेक जीवनको एउटा महत्वपूर्ण पाटो हो जसले खुशी मात्र होइन पिंडाको दलदलभित्र फसाइदिन पनि सक्दो रहेछ, कहिले यो यती शक्तिशाली हुन्छ त कहिले सोच्दै नसोचेको कमजोर पनि, जाती सुन्दर छ यो त्यती कुरुप पनि, कहिले इश्या, कहिले प्रतिशोध, शंका, उपशंका, पाप्ती, समर्पण कती बिबिधता छ है यो प्रेम भन्ने कुरामा पनि? दर्शनको कुरा गरेर भन्ने हो भने भौतिक दुरिले प्रेममा कुनै असर पार्दैन भनेर भनिन्छ तर व्याबहारमा त्यसो नहुदो रहेछ जब कुनै पनि बस्तु वा मानिस आँखाबाट दुर हुन्छ अनी हिर्दयबाट पनि टाढिने प्रयास गर्दो रहेछ जानिदो नजानिदो हिसाबमा अनी शुरु हुन्छ आँखा अगाडिका बस्तुहरुसगको प्रेम समयको दौडाइसगै उही जानिदो नजानिदो रुपमा नै।

कथा सरल रुपले बगेको छ, शब्दहरु सरल र सुन्दर छन सबैभन्दा त त्यसपछी के भयो होल भन्ने कौतुहलता पाठकहरुमा जगाउन सफल बेजोडको प्रस्तुती छ, अर्कोभागको प्रतिक्षामा छु।

sandhya said...

very interesting story..when is the fourth part coming?...i m really waiting..hope the story ends with Nainkala...

Anonymous said...

Good Story ! Now reading the fourth part.

सपनासंसार said...

बल्ल आज पढ्ने मौका मिल्यो । "कहिलेकाँहि आफ्नो स्वतन्त्रतामा अरु कसैले हस्तक्षेप गर्दा पनि मिठो नै लाग्दो रहेछ।" चित्त बुझ्यो ! अब चौथो भागमा के हुने हो , हान्निएर पढ्दै छु ,
सपनासंसार

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP