Apr 12, 2010

सबरी (भाग-१)

Facebook

पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका



Share

सबरी सेनाको चौकीको त्यो बाटो सकेसम्म हिंडन खोज्दिनन्। तर कहिलेकांहि त्यो बाटो हिंड्नै पर्छ। जब त्यो बाटो हिंडछिन्, उनको नजर नचाहदा नचाहदै पनि सेनाको त्यो सेन्ट्रीपोष्टतिर उचालिन्छ। उनलाई लाग्छ, कतै सहदेव त्यँहा उभिएर ड्यूटी गरिरहेको त छैन? कतै सबरीतिर हेरेर मुस्कुराई रहेको त छैन? तर त्यहा सहदेव हुंदैन। अरु नै कुनै सिपाही नीर्जिव शालीक जस्तो ऊभिएको हुन्छ। सहदेव नहुदा सबरीलाई त्यो बाटो नै उराठलाग्दो लाग्छ। त्यो चौकी पनि कुनै भग्नावशेष जस्तो कुरुप लाग्छ।

सबरीको सहदेवसंग पहिलो भेट राप्ती पारि निकुञ्जको जंगलमा घांस घाट्न जांदा भएको थियो। राष्ट्रिय निकुञ्जको जंगलमा घांस दाउरा गर्न गैरकानूनी भएपनि स्थानीय बासिन्दाहरु सुरक्षा सेना, कर्मचारीको आंखा छलेर छिर्न छोड्दैनथे। घांस दाउरा बाहेक जंगली सागसब्जीहरु कुरिलो, निहुरो, जिब्रेसाग, चठेउल आदि टिप्न पनि मानिसहरु जंगल छिरिरहन्थे। त्यही दौरानमा एकदिन सबरी साथीहरु सहित पक्राउ परेकिथिइन्। पक्राउ गर्ने सिपाहीहरु मध्य सहदेव एक थिए।

सहदेव अरु सिपाहीहरु भन्दा बिल्कुलै फरक थिए। अरु सिपाहीहरु जिस्किने, छेडछाड गर्ने, मौका परे हातै हालेरै चल्न खोज्ने किसिमका हुन्थे। तर सहदेव त्यस्तो थिएन। उस्को ब्यबहार भिन्न थियो। उसले सबरी र सबरीका साथीहरु सबैलाई राम्रो ब्यबहार गरेको थियो। मर्यादित भाषा प्रयोग गरेको थियो। उसले थुनामा पनि “तिर्खा लाग्यो? भोक लागेको छ कि?” भनेर बेलाबेलामा सोधेको थियो। सहदेवको यो ब्यबहारले सबरीलाई पहिलो भेटमा नै प्रभाव पारेको थियो। सदाझैं त्यसदिन पनि निकुञ्जको कार्यालयमा सामान्य कागज गरेर सबरी र उनका साथीहरुलाई केही घण्टापछि छोडिएको थियो। सबरी मुक्त भएकिथिईन् तर उनको मनमस्तिष्क सहदेवको मिठो कैदमा परिसकेको थियो। एउटा यस्तो कैद- जसवाट मुक्त हुन मन नलाग्ने। भाग्न मन नलाग्ने।

चितवन बिकसित जिल्ला मानिए पनि थारु युवतीहरु शिक्षामा पछि नै थिए। सबरी पनि सात कक्षा पुगेपछि स्कुल जान छोडेकी थिइन्। आमा बाबुलाई खेतीपातीमा सघाउने, भेंडा चराउन जाने, घाँस दाउरा गर्ने, माछा मार्न जाने, सबरीको दिन चर्या यस्तै थियो। काली-काली भएपनि हिस्सी परेकी, मुस्कुराउदा गालामा खोपिल्टो पर्ने, ठुला आंखा, फराकिलो निधार, लामो कपाल भएकी सबरी स्थानीय थारु युवाहरुको नजरमा नपरेकी होइन। तर सबरीको नजरमा भने कोही उत्रिन सकेका थिएनन्। फूलमा भमराहरु घुमेजस्तै जमिन्दारका छोरा-भतिजाहरु पनि सबरीको घर वरिपरि घुमिरहेका हुन्थे तर सबरीले कुनै भमरालाई फूलमा बस्न दिएकी थिइनन्। उनी बिहानीको शीतको थोपा जस्तै कञ्चन थिइन्। पवित्र थिइन।

घांस काटन जंगल जाने अनि पक्राउ पर्ने सिलसिला चल्दा सहेदवसंग भेटपनि बाक्लिएको थियो। सबरी काम नपरेपनि चौकीको बाटो पारेर अलि बढी नै हिंड्न थालेकी थिईन् र सेन्ट्रीपोष्टमा ड्यूटी बसेको सहदेवसंग आंखा चार हुन्थ्यो। मुखले कुरा गर्न सधैं सम्भव नभए पनि आँखा-आँखैमा कुरा हुन्थ्यो। मनको कुरा मनैले बुझिन्थ्यो।

एक साँझ सबरीकी एउटी संगिनी सबरीको घरमा लुसुक्क छिरेर कानमा खूसुक भन्न आएकी थिइन्। “ अरि सबरी, तोहोर सहदेववा तोरके भेटेके याईलबडै रि”।
“कहवाँ?”
“मोर घर” संगिनीले भनेकि थिईन्।
“तु मोरके मरवाउली रि” सबरीको मुटुको धडकन तेज भएको थियो, “तोर घर हैने कौ नो”
“बाबा माहातारी सब न्यौता मानेके गईलबडै”।

सहदेव सबरीलाई नै कुरि राखेको रहेछ। दुबै जना एक अर्काको अगाडि पर्दा केही लजाएका थिए। केही त्रस्त र केही रोमाञ्चित पनि। सबरीले सहदेवलाई सिधा आंखाले हेर्न सकिरहेकी थिइनन्। खाली भूंइतिर हेरेर बूढीऔंलाले जमीन कोतरिरहेकी थिइन्।

एकछिन पछि सहदेवले मौनता भंग गरेको थियो, “सबरी, मेरो एक हप्ता पछि दाङ सरुवा हुंदैछ”

“सरुवा,?” सहदेवसंग यति छिट्टै बिछोड होला भनेर सोचेकी थिइनन्। हतास् उनको मुखबाट निस्किएको थियो, “मलाई छोडेर जानुहुन्छ?”

“तिमी मान्छौ भने म तिमीलाई लिएर जान चाहन्छु, तर तुरुन्त होईन नि। केहि समय लाग्छ। डेराको ब्यबश्था गरेर म तिमीलाई लिन आउछु। के तिमी मसंग जान राजी छौ? मसंग बिहे गर्ने हो?।

सबरीले सहदेवसंग बिहेको सपना नदेखेकी त होईन तर कता कता सम्भव हुन्नकि जस्तो लाग्थ्यो। कारण सबरी थारु समुदायकी युवती, सहदेव पहाडिया क्षेत्री जातका युवक। जात, भाषा र संस्कृतीको ठूलो पर्खाल थियो बिचमा। साथीहरुले पनि सिपाहीको बिश्वास हुन्न भनेर बेलाबेलामा सबरीलाई निराश तुल्याउथे। पहाडमा दु:ख हुन्छ। उकाली ओराली गर्न पर्छ। ढींडो पनि खान पर्छ भनेर तर्साई रहन्थे।

एकछिन सोचिसके पछि सबरीले आशंका ब्यक्त गरेकी थिइन्। “हजुरको परिवारले मलाई बुहारी स्विकार गर्लान र?”

“त्यसो त तिम्रो परिवारले पनि पहाडिया ज्वाँइ के मान्लान् र? तर हामी एक अर्कालाई प्रेम गर्छौं भने परिवारको बिरोधको सामना त गर्नै पर्छ नि। तिमी तयार छौ भने म पनि तयार छु”।

“मैले त मेरो मन हजुरलाई दिईसकें सहदेव, अव के गर्नु पर्छ हजुरको बिचार”। सबरीले भनेकिथिइन्।

त्यसपछि सहदेवले सबरीको देब्रे हात आफ्नो हातमा लिएको थियो। खल्तीबाट औंठी निकालेर सांहिली औंलामा लगाईदिदै भनेकोथियो। “यो औंठी मेरो बाचाबन्धनको प्रतीक हो। आजदेखि हामी एक अर्काको भयौ”।

“म जानु भन्दा अघि तिमीसंग भेट होला, नहोला, तर म तिमीलाई लिन छिट्टै आउनेछु। मेरो प्रतिक्षा गरेर बस है सबरी”।

त्यसपछि सहदेव निस्किएको थियो। अंध्यारोमा सहदेव बिलिन नहुन्जेल सबरीका आंखाले सहदेवलाई पछ्याएका थिए। त्यसपछि सहदेवले लगाई दिएको औंठि नियालेर सबरी एकतमाससंग टोलाएकी थिइन्। औंठीको पत्थरमा सबरीले सहदेवकै मुहारबिम्व मात्र देख्न सकेकी थिइन्।


क्रमश:

दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नुहोस्

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

6 comments :

Anonymous said...

Simply the best!

Eagerly waiting for next part.
and Happy new year 2067!

Upama

Anonymous said...

nice start !!!!

Anonymous said...

Good job, keep it up.

सपनासंसार said...

उत्कृष्ट प्रस्तुति ! धेरै पछि तपाईँको लेख पढ्ने मौका मिल्यो ! सहदेव -सबरी को छोटो समयमा,आँखा आँखाको भाका मा गाँसिएको प्रेम के सफल होला त ? खुल्दुली लागेर आएको छ ?
उत्कृष्ट लेखन शैली !!
प्रतीक्षारत, बाँकी भागको लागी !

Anonymous said...

एक दम डौल कहानी !! दोसरी भाग इशिअयाई

Anonymous said...

VERY GOOD STARTING ..............

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP