Apr 24, 2010

सबरी (भाग-२)

Facebook

Share

पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्
पोस्तक श्रेष्ठ,
मिनियापोलिस, मिन्नेसोटा

सहदेव गएको पनि चार-पाँच महिना बितिसकेको थियो। तर कुनै खबर आएको थिएन। वर्षा सकिएर, शरद याम शुरू भईसकेको थियो। अकासबाट काला घटाहरु हट्दै गएका थिए तर सबरीको मनभित्रका घटाहरु अझै हटेका थिएनन्। जितीया पावनीको चहलपहलले पनि सबरीलाई छोएको थिएन। तर सहदेवको लागि भनेर पहिलो पटक सबरीले त्यो साल जितीयाको वर्त पनि लिएकी थिइन्। सहदेवलाई पाउने कामना गरेकी थिइन्। शरद ऋतु सकिएर रुखका पातहरु झर्न थालेका थिए। तर सबरीले सहदेव फर्किने आशालाई अझै जतनसंग संगालेकी थिइन्। झर्न दिएकी थिइनन्।


सहदेवको कुनै अत्तोपत्तो थिएन। तर यता तिर जमिन्दारको छोरासंग बिहेको कुरा उठ्न थालेको थियो। सबरीका बाबुको जमिन्दारसंग केही ऋण पनि थियो। सबरीलाई दिने भए ऋंण फर्काउन पर्दैन भनेर सबरीका बाबु आमालाई जमिन्दारले प्रलोभन दिएका थिए। घरमा बोलाएर हाँसको मासु र रक्सी खुवाएर फकाईसकेका थिए। तर सबरीले अनेक बहाना गरेर बिहेको कुरा टार्दै आएकी थिइन्।

एक बिहान सबरीकी साथी अत्तालिदै आएकी थिईन्। “सबरी, रेडियोमा समाचार सुनलई रि?, सुनई बडसु, माओबादी सब यूद्धबिराम भंग कइलई, याज रात दाङ क घोराही चौकीमा याक्रमण भेलई, १४-१५ सिपाहीक ज्यान गेलई”

राजनीतिसंग बिल्कुलै कुनै साईनो नभएकी सबरीलाई वार्ता, युद्धबिराम जस्ता शब्दहरु अर्थ बुझ्न सजिलो थिएन। तर ब्यारेकमा आक्रमण भएको, १४-१५ जना सेनाको ज्यान गएको कुराले भने मुटुको धडकन एक्कासी तेज बनाएको थियो। सहदेव दाङको घोराही चौकीमा नै त सरुवा भएर गएको थियो। सहदेवलाई केही त भएन? यो सोचाइ मात्रले पनि सबरीको शरीर चिसो भएर आएको थियो। तत्कालै रेडियो खोलिन्। त्यही दाङ चौकी आक्रमणकै समाचार आईरहेकोथियो। तर मृतक वा घाईतेहरुको कुनै नामहरु भने दिईरहेको थिएन। सबरीलाई असाध्य छटपटी भएको थियो। कसरी सहदेवको बारेमा पत्ता लगाउने? मनमनै भगवानसंग प्रार्थना गरेकी थिइन, “हे भगवान, मेरो सहदेवलाई केही नहोस्”।

एक मनले लागेको थियो, दाङ गएर सहदेवको बारेमा सोधखोज गरूँ। तर सबरी घरबाट निस्केर नारायणगढ बजार भन्दा टाढा कतै पनि त गएकी थिइन। छोरी मान्छे ,एकलै कसरी जाने, कहाँ बस्ने, फेरी घरमा के भनेर जाने? सबरीलाई अनगिन्ती सवालहरुले घेरेका थिए। यो कस्तो विवशता? सबरी साथीलाई अंगालो मारेर बेस्सरी रोएकी थिइन्।

सबरीको साथीले भोली पल्ट गोरखापत्र, कान्तिपुरदेखि भए भरको सबै पत्रिका खोजेर ल्याएकि थिईन्। तर मृतकहरुमा सहदेवको नाम त थिएन तर केही सिपाहीहरु सम्पर्क बिहिन भएको, माओबादीहरुले अपहरण गरेर लगेको हुनसक्ने आशंका गरिएको थियो। जे होस्, सहदेव जीवित भएको आशा भने जागेको थियो। सबरीका साउन भदौ भएका आँखाहरु केही ओभानो भएका थिए।


एक साँझ सबरी भेडाहरुलाई दाना खुवाउदै थिइन्। सबरीकी साथी आइन र सहदेव आएको खबर दिईन्। सबरीको खुशीको कुनै सिमा रहेन। दौडिदै गइन्। सहदेवलाई देख्ने बित्तिकै आंखाबाट आँशुका बलिन्द्र धारा बग्न थाले।

“दाङ चौकीमा आक्रमण भएको सुनेको थिँए। तंपाईको केही खबर आएन। म धेरै आँत्तिएको थिंए। तँपाईलाई सकुशल देख्न पाँए, भाग्यमानी रहेछु”। सबरीले भनेकी थिइन्।

सहदेवले आफु पनि घाइते भएको, माओवादीले मरेको ठानेर छोडिदिएको, युद्ध शुरु भएकोले सहदेवको विदा पनि रद्द भएको र अहिले जागीरबाटै भागेर आएको कुरा सहदेवले संक्षेपमा सुनाएकोथियो।

“सबरी, तिमीसंग जीवन बिताउने मेरो धोको छ। यो यूद्धमा म आफ्नो जीवन त्यतिकै गुमाउन चाहन्न। म तिमीलाई लिन आएको, तिमी आज राति नै मसंग हिंड। हामी नया जीवन शुरुवात गर्नेछौं”। सहदेवले भनेको थियो।

सबरीले आफ्नो साथीको मुखमा स्विकृतीको लागि पुलुक्क हेरेकी थिइन्। सबरीको साथीले सहजै स्विकृती दिएकी थिइन्। हत्तार ह्तार गरेर साथीले लुगाको एउटा पोको तयार पारिदिऐकी थिइन र केही पैसा पनि सबरीको हातमा राखिदिएकी थिइन् र सबरीले सहदेवसंग त्यसै रात गाँऊ छोडेकी थिइन। आफ्नो गाँऊघर, बाबुआमा, साथीसंगीहरुलाई त्यसरी छोडेर जान पर्दा सबरीको मन केही खिन्न भएको थियो।

क्रमश:
तेस्रो तथा अन्तिम भाग पढ्न यहाँ क्लिक गर्नूहोस्।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

3 comments :

Anonymous said...

Good one ! Waiting for the third part !

Anonymous said...

when is next one coming?

Raju Lamichhane said...

साह्रै राम्रो लग्यो । कथामा लेखकको नामै नराख्ने हो भने पनि सरल, सरस र स्वश्छन्द शैलीले पोस्तक जीलाई चिनाउँछ । मेरो एउटै गुनासो सपनासंसार वा लेखकलाई: कथालाई धारावाहिक रुपमा प्रस्तुत गर्दा, कहिले कहिँ पहिलो खण्डमा के भएको थियो बिर्सिने अनि पहिलाका प्रकाशित भागहरु खोज्दै पुन: पढ्नु पर्ने दिग्दारी भन्दा सिँगो कथा प्रकाशित गर्दा राम्रो हुन्त्यो कि? त्येसैले पनि होला लघु कथालाई "एक बसाईमा पढ्न सकिने ... " भनि परिभाषित गरेको पाहिन्छ ।

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP