May 1, 2010

सबरी (अन्तिम भाग)

Facebook

Share
पहिलो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्।
दोस्रो भाग पढ्न यहाँ क्लिक गर्नूहोस्।
पोस्तक श्रेष्ठ
मिनियापोलिस, मिन्नेसोटा, संयुक्त राज्य अमेरीका

रात्री बसको यात्रा पछि उनीहरु काठमाण्डौ पुगेका थिए। काठमाण्डौमा सबरीका दिदी भिनाजु रहेछन्। भिनाजु पनि सेनामा मै रहेछन्। सहदेवले दिदीलाई सबरीसंगको सम्बन्धबारे पहिले नै बताएको रहेछ। दिदीले उनीहरुको बिबाह गुह्यश्वरीमा लगेर गराईदिएकी थिइन्।

सहदेवले काठमाण्डौमा नोकरीको लागी खुव प्रयास गरेको थियो। तर नोकरी मिलेकोथिएन। अन्तत: डेढ दुई महिनाको काठमाण्डौं बसाईपछि सहदेवले गाउँ जाने निर्णय गरेको थियो। तर अन्तर्जातीय बिवाह गरेको कारणले घरमा बाबु आमाले के भन्ने हुन् भन्ने दुविधा पनि थियो। दिदीलाई समेत साथ लिएर सहदेव र सबरी घर गएका थिए। सहदेवका बाबु शुरुमा खुब रिसाएका थिए तर दिदीले सम्झाए पछि सामान्य भएका थिए। उनी आफै धेरै समय भारतीय सेनामा काम गरेका देश परदेश बुझेका मानिस पनि रहेछन्। गाउलेहरुले भने सहदेवको परिवारको कुरा काटिरहेकै थिए, तर सबरी बिस्तारै परिवारमा भिज्दै, घुलमिल हुदै गएकिथिइन्। बिस्तारै सासु-ससुराको मन जित्दै थिइन्। सहदेव खेतीपातीमा लागेको थियो र बाबुको लागि ठूलो सहयोग पुगेको थियो। सबरीले पनि सासुलाई काममा धेरै सघाएकिथिइन्। सहदेव सबरी दुबै खुशी थिए। सबरी दुई जिउकी पनि भएकी थिइन्।

देशमा युद्ध चर्किदै गएको थियो। गाऊँका युवाहरु हराउदै गइरहेका थिए। ऊनीहरु कोही स्वेच्छाले, कोही करकापले माओबादी सेनामा गईरहेका थिए। एकदिन सहदेवको फुपाजू नाता पर्ने मानिस घरमा आएका थिए।ऊनी माओबादीका सेनाका मानिस रहेछन्। सहदेव जस्तो तालिम प्राप्त मानिस माओबादी सेनामा आवश्यक भएको भनेर सहदेवलाई फकाउन थालेका थिए। सहदेवले अस्विकार गरेका थिए। तर पछि फुपाजुको दवाब बढ्दै गएको थियो। जनयूद्धलाई असहयोग गरे दुश्मनको कित्तामा राखिने र जे पनि हुन सक्ने भनेर धम्काउन समेत थालेका थिए। ती फुफाजुसंग सहदेवको परिवारको जग्गा सम्बन्धी मामलामा केही किचलो समेत रहेछ। बाबु, यो मानिससंग होशियार हुन पर्छ भनेर बुबाले भन्नु भएको थियो।

फुपाजुको निरन्तर दवाव आउन थाले पछि सहदेव गाऊ छोडेर भागेकोथियो। सहदेव गइसके पछि पनि फुपाजुका मान्छेहरु सहदेवलाई खोज्न आउन छाडेका थिएनन्। सहदेव गएको दुई महिना पछि दिल्लीबाट एउटा पत्र आएको थियो। त्यहाँ एउटा फ्याक्ट्रीमा चौकीदारको काम पाएको, दुई जिउ भएकी सबरीलाई छोडेर बिदेश बस्ने बिल्कुलै मन नभएको, सबरीको हरपल याद आइरहेको, छिट्टै नेपाल फर्किन चाहेको कुराहरु लेखेको थियो। सबरीले पनि सहदेवको माया हमेशा ताजा रहेको, तर माया भन्दा पनि उसको ज्यूज्यानको सुरक्षाको महत्वपुर्ण भएको, बरु जे जस्तो दु:ख पनि सहुँला, तर तँपाई तुरुन्त फर्किने कुरा नगर्नूहोला भनेर सम्झाएर प्रत्यूत्तर पठाएकि थिइन्।

केही महिना पछि सबरीले छोरा जन्माएकी थिइन्। सहदेवका बाबूले सहदेवलाई छोरा जन्मिएको, आमा बच्चा दुबैको स्वास्थ्य राम्रो रहेको, कुनै कुराको चिन्ता नगर्नू भनेर पत्र पठाएका थिए तर पत्र पठाको केही दिनमा सहदेव टुप्लुकै घर आइपुगेको थिए। छोरा जन्मिएको खबर पाएपछि सहदेवलाई अधैर्य बनाएछ र उनी फर्की आएछन्। सहदेव फर्केर आएकोमा सबरी औधि खुशी थिइन् तर भित्र भित्र भयभित थिइन्।

सहदेव फर्केर आएको कुरा फुपाजूले थाहा पाएछन। एक साँझ फुपाजू कम्ब्याट पोसाक लगाएका, बन्दूको भिरेका केही मानिसहरु समेत आए र सहदेवलाई लिएर गए। सबरी, सहदेवका बाबु आमाले उसलाई रोक्न केही गर्न सकेनन्। रेडियोमा हरदम मुठभेडका समाचार आइरहन्थे। कहिले माओबादी पक्षका, कहिले सरकारी पक्षका मानिसहरु मारिएका हुन्थे। हर समाचारहरुले सबरीको शरीरलाई चिसो तुल्याउथ्यो। गाउको पसलेले एकदिन सहदेवको फोन आएको खबर गरेको थियो। सहदेव माओबादी सेनालाई तालिम दिने प्रशिक्षक भएको, कुनै आक्रमणमा भने जान नपरेको, अहिले सम्म सबै ठिकठाक भएको कुरा बताएको थियो। त्यो कुरा सुन्दा सबरीको मन अलि हलुङगो भएको थियो। तर दोस्रो पटक फोन आउदा भने सहदेवको स्वर अलि भयभित थियो। पश्चिमतिर खटिएको, दुई-तीनवटा आक्रमणमा सहभागी भइसकेको, त्यँहाबाट उम्किने कोशिष गरिरहेको भनेर भनेको थियो। त्यो सुनेर सबरीको मुटुले ठाउ छोडेको थियो।

अर्को चोटी फोन आउदा सहदेव माओवादीको चंगूलबाट उम्किसकेका रहेछन्। भिनाजुको सहयोगले सेना समक्ष आत्मसम्पण गरेका रहेछन्। तर तावाबाट उफ्रिएर भुँग्रोमा परेको भने जस्तो सेनाले सहदेवलाई माओबादीहरुको आश्रयश्थलहरु चिनाउन, बाटो देखाउन लिएर हिंड्न थालेको रहेछ। त्यो सुनेर सबरी झनै चिन्तित भएकिथिइन्। यतातिर फुपाजुका मानिसहरु सहदेवको बारेमा सोधपुछ गर्न निरन्तर घर आइरहेका थिए। सहदेवले जनयूद्धलाई धोखा दिएको, गद्धारी गरेको भनेर आरोपहरु लगाईरहेका थिए। आखिर यो युद्ध किन भईरहेको छ, कस्को लागी भइरहेको छ र सहदेवजस्ता जस्ता साधारण यूवाले किन स्वतन्त्र जीवन बाँच्न पाईरहेका छैनन्, नचाहदा नचाहदै यसमा किन होमिन परेको हो, सबरीले बुझ्न सकेकी थिइनन्।

एकदिन साँझ सहदेव टुप्लुक्क घर आईपुगेको थियो। दुव्लाएका शरीर, बिरामी परेको जस्तो देखिन्थ्यो। बिरामी परेकोले सेनाले सहदेवलाई घर जान छोडिदिएको रहेछ। सहदेव दिनभरि घर भित्रै छोरासंग खेलेर बसिरहन्थ्यो। सहदेव फर्किएको कुरा बाहिर कसैलाई भनिएको थिएन। तर सबरीलाई कुन दिन फुपाजु आउने हो भन्ने हमेशा चिन्ता भई रहन्थ्यो।

एक साँझ फुपाजु लगाएत कम्ब्याट पोशाक लगाएका केही मानिसहरुसंग फेरि आए। सहदेवलाई एकैछिन केही काम छ, हामीसंग हिंड भनेर भन्न थाले। सहदेवले आफु बिरामी परेको, बरु अलि सञ्चो भएपछि जाने कुरा गरेको थियो तर उनीहरुले ढिपी छोडेनन्। सहदेवलाई जबर्जस्ती तान्न थाले। सहदेव उनीहरुसंग जान बाध्य भएका थिए। आमा रुन थालेकीथिइन्। सबरी पनि रुन पनि थालेकी थिइन। सहदेवले जाँदा जाँदै चिन्ता नलिनू, मलाई केही हुन्न भनेको थियो। त्यो रात भरि सबरी निदाउन सकेकिवथिइनन्। लिएर जाने मान्छे फुपाजु नाता पर्ने भएकोले केही गरिहाल्लान् भन्ने चाँहि लागेको थिएन। तर त्यो रात सहदेव फर्किएन।

सबरी बिहानै पानी लिन तल पँधेरो गएकि थिइन्। त्यँहा मानिसहरुको भीड थियो। भीडको बिचमा एउटा निर्जीव शरीर थियो, रगतको आहालमा डुबेको। त्यो देखन्ने बित्तिकै सबरीको आङ सिरिङग भएको थियो। अनुहार चिन्न सकिने थिएन। तर कपडा सहदेवको थियो। जुत्ता पनि सहदेवकै थियो। सबरीले टेकेको जमीन एक्कासी भासिएको थियो। आकाश चिरिने गरि सबरी चिच्याएकिथिइन् अनि मूर्छा परेकी थिइन्।

जुनबेला सबरीको होस आयो, सबरीको कानमा सहदेवको स्वर गुञ्जिएको थियो।

“सबरी, तिमीसंग जीवन बिताउने मेरो धोको छ। यो यूद्धमा म आफ्नो जीवन त्यतिकै गुमाउन चाहन्न”।

तर यो यूद्धले सहदेवलाई लिएर गईसकेको थियो। थाहा छैन, यो यूद्धले जनतालाई के दिनेछ, तर सबरीको संसार भने लुटिइसकेको थियो।

समाप्त।

[यो प्रस्तुति कतै पुन प्रकाशित गर्नु परेमा स्रोत खुलाएर वा लेखकको पूर्ण सहमतिमा मात्र प्रकाशित गर्नुहुन अनुरोध छ । -सपनासंसार ]

2 comments :

उपमा said...

कथा राम्रो लाग्यो। यस कथाकि सबरिले त कयौं नेपाली नारिहरुको प्रतिनिधित्यो गरेकी छ जस्ले बिन कुनै कसुर आफ्नो सिन्दुर पुछ्नु परेको छ, चुराहरु फुटौनु परेको छ। उनिहरुको नैसग्रिक अधिकार नै हनन गरेको छ यस्ता युध्दले। नियम भित्र रहेर आन्नद मनले आफ्नो सार्बभौमिकता अभ्यास गर्न पाउनु हरेक जनताको अधिकार हो । तर अहिलेको समय सम्म पनि दण्डहिनताले नै प्रसय पाइरहेको छ आखिर किन? प्रश्न गम्विर छ!!!

उपमा

सपनासंसार said...

हजार सवरी अनि सहदेवहरुको सत्यकथा ! यथार्थ कथन, उत्कृष्ट प्रस्तुति । वियोगान्त यो क्षणले मनै भयबित बनाइदियो ! तपाईका सबै लेख जस्तै यो लेख पनि उत्कृष्ट लाग्यो !

Post a Comment

तपाईको प्रतिकृया प्रकाशन हुन केहि समय लाग्ने छ।

 ©sapanasansar.com 2006-2010

 © www.sapanasansar.com यो पेज, मार्च २००७ देखी , Web Site Tracking पटक हेरिसकिएको छ ।

TOP